
१८ चैत, बारा । बाराको फेटा गाउँपालिका-१ को भर्वलिया र वडा नम्बर ६ को पुरैनियामा आँधीबेहरीको धेरै क्षति छ । भर्वलियामा भौतिक क्षति बढी छ । स्थानीयबासीले ३ हजार घरहरुमध्ये ८० प्रतिशतमा क्षति पुगेको बताएका छन् ।
पुरैनियामा ९ जनाको मृत्यु भएको छ । घरमा पनि व्यापक क्षति छ । हयाण्ड पम्पसमेत उखेलिएको छ । दृश्य हेर्दा भूकम्पले पुर्याएको क्षति जस्तै देखिन्छ ।
जस्ता, फुस र खबटाले छाएका छाना सबै उडेका छन् । बाँसको टाटीमा गोबर र माटोले लिपेको घर पनि भत्किएका छन् । सिमेन्ट लगाएका इँटाको गाह्रो भएका घर पनि बाँकी छैनन् । पिल्लर सिस्टमका केही घरहरु मात्रै सग्लो देखिन्छन् ।
स्थानीय जादुलाल दास (४५) ले भने, ‘साँझ गाई दुहुँदै थिएँ, एक्कासी तीन-चारवटा हेलिकोप्टर एकैपटक उडेजस्तो आवाज निकालेर हावा आयो । हेर्दाहेर्दै एकैछिनमा सबै उडाएर लग्यो ।’
खानेकुरा, अन्नपात माटोमा मिसिएको छ । उनीहरुलाई तत्काल पानी र खानेकुरा आवश्यक देखिन्छ । आफन्त गुमाएपछि र घर भत्किएपछि स्थानीयबासीको रुवाबासी छ । रातभर खुल्ला आकाशमा बिताएका उनीहरु के खाउँ र कहाँ जाऔं भन्ने स्थितिमा छन् । जताततै त्राहीमाम छ । कसैले कसैलाई सहयोग गर्ने अवस्था छैन । आफ्नो परिवार सम्हाल्नै ठिक्क छ सबैलाई ।
स्थानीय उदयनारायण मल्ली आफ्ना बालबच्चासहित ७ जनाको परिवार जोगिनुमा भगवानको कृपा ठान्छन् । उनले अनलाइनखबरसँग भने, ‘आँधीबेहरी आउँदा बालबच्चासहित सात जना हामी घरमै थियौं । घर दक्षिणतिर ढल्यो । उत्तरतिर ढलेको भए हामी सबै मर्थ्यौं । घर भत्किएपछि हामी छिमेकीको घरतिर लाग्यौं ।’
प्रभावित क्षेत्रमा अहिले तत्काल शुद्ध पीउने पानी र खानेकुरा आवश्यक देखिन्छ । यतिसम्म कि आँधीबाट ह्याण्ड पम्पसमेत उखेलिएको छ । इनारमा पातपतिंगर र माटो परेकाले पानी पिउन लायक छैन ।
बिजुलीका पोलहरु ढलेकाले गाउँमा बत्ती छैन । इन्टरनेट पनि छैन । रुखहरु ढलेर कतिपय बाटा बन्द छन् । फेटा गाउँपालिकाले डोजर लगाएर बाटो खुलाउँदैछ ।
इँटा भट्टाहरुमा पनि व्यापक क्षति पुगेको छ । चिम्नी भाँचिएका छन् । कतिपय मानिसहरु अहिलेसम्म सम्पर्कमै छैनन् ।
(पुरैनिया र भर्वलियाको अवलोकनपछि)
प्रतिक्रिया 4