Comments Add Comment

प्रमुख निर्वाचन आयुक्तको सिफारिसबारे सरकार र विपक्षीवीच दन्तबझान

कांग्रेसले भाग खोज्यो– प्रधानमन्त्री, हाम्रो अधिकार हो– कांग्रेस

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले बहालवाला सचिव दिनेश थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेपछि ‘कर्मचारीको राजनीतिक मोह’बारे सार्वजनिक टीकाटिप्पणीहुन थालेको छ । थपलियाको सिफारिससँगै राजनीतिक नियुक्तिहरुमा कर्मचारीतन्त्र हावी भएको गुनासो सतहमा आउने क्रम सुरु भइसकेको छ ।

यसैवीच, पूर्व एवं बहालवाला कर्मचारीको पुनर्नियुक्तिबारे सार्वजनिक बहस सुरु भएकै बेला उता सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका वीचमा भने बेग्लैखालको दन्तबझान सुरु भएको छ ।

सत्तापक्षले कांग्रेसलाई भागवण्डा खोजेको आरोप लगाएको छ भने विपक्षी दलले चाहिँ संवैधानिक परिषदमा विपक्षी दलको अधिकारलाई ‘वाइपास’ गर्न खोजेको गुनासो गरेका छन् ।

संवैधानिक परिषदले ११ चैतमा वहालबाला सचिव दिनेश थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यो बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिएनन् । उनले आफू उपस्थित हुन नसक्ने लिखित पत्र नै पठाएका थिए ।

तर, विपक्षी दलका नेताको आग्रह अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले थपलियाबारे निर्णय गराएपछि कांग्रेसले असन्तुष्टि जनाएको हो । तर, संवैधानिक नियुक्तिहरुमा असन्तुष्टि जनाएको प्रमुख प्रतिपक्षी कांग्रेसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले भागवण्डा खोजेको आरोप लगाएका छन् ।

आइतबार गृहजिल्ला जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त नियुक्तिबारे कांग्रेस सभापति देउवासँग पर्याप्त छलफल भएको दाबी गरे ।

थपलिया आफ्नो पार्टीको मान्छे नभएको बताउँदै प्रधानमन्त्रीले भने, ‘औचित्य र गुण दोषका आधारमा जिम्मेवारी दिनुपर्छ, भागबन्डा गर्नुहुँदैन ।’

कांग्रेस भन्छ– अर्को नाम भन्नु भागवण्डा खोज्नु हो ?

कांग्रेस नेताहरुले भने प्रधानमन्त्री ओलीको अभिव्यक्ति जिम्मेवार नभएको बताएका छन् । प्रमुख सचेतक बालकृष्ण खाँडले आफूहरुको असहमति प्रस्तावित नाममा नभई विपक्षी दलको नेताको आग्रहलाई अस्वीकार गर्दै बैठक गरिएकोमा भएको बताए ।

तर, प्रधानमन्त्रीले त कांग्रेसले भागवण्डा खोज्यो भन्नुभएको छ नि भन्ने अनलाइनखबरको प्रश्नमा प्रमुख सचेतक खाँडले भने, ‘प्रधानमन्त्रीले कुनै नाम प्रस्ताव गर्दा यो उपयुक्त हुन्छ भनेर अर्को नाम प्रस्ताव गर्नु भागवण्डा खोज्नु हुन्छ र ?’

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक परिषदमा कांग्रेस आवेदन हालेर नभई संवैधानिक व्यवस्थाले उपस्थित भएको बताए ।

यो पनि पढ्नुहोस कांग्रेसको आग्रहमा सुनुवाई समितिको बैठक सारियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment