News Summary
Generated by OK AI. Editorially reviewed.- आईपीएल २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच ठूलो खेलाडी ट्रेडमा हार्दिक पान्ड्या पञ्जाब र अर्शदीप सिंह मुम्बई पुगेका छन्।
- पान्ड्याले मुम्बईबाट चार आईपीएल उपाधि जितेका थिए भने १६२ खेलमा २ हजार ९५५ रन र ८२ विकेट लिएका छन्।
- अर्शदीपले पञ्जाबका लागि ९६ खेलमा १११ विकेट लिएका छन् र मुम्बईले उनलाई १८ करोड भारुमा आबद्ध गरेको छ।
२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच ठूलो खेलाडी ट्रेड सम्पन्न भएको छ।
मुम्बईका कप्तान रहेका हार्दिक पान्ड्या पञ्जाब किङ्समा पुगेका छन् भने भारतका टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध भएका छन्।
पान्ड्याको यो ट्रेडसँगै मुम्बई इन्डियन्ससँगको उनको दोस्रो यात्रा टुंगिएको छ। उनले मुम्बईबाट चार पटक आईपीएल उपाधि जितेका छन्। सन् २०१५ मा पहिलोपटक मुम्बईमा आबद्ध भएका पान्ड्याले सन् २०१५, २०१७, २०१९ र २०२० मा टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए।
मुम्बईमा सात सिजन बिताएपछि पान्ड्या सन् २०२२ मा गुजरात टाइटन्समा पुगेका थिए। उनले पहिलो सिजनमै कप्तानका रूपमा टोलीलाई उपाधि दिलाए। गुजरात सन् २०२३ मा पनि फाइनल पुगेको थियो। त्यसपछि सन् २०२४ मा मुम्बई फर्किएका पान्ड्याले टोलीको कप्तानी सम्हालेका थिए।
आईपीएलमा १६२ खेल खेलेका पान्ड्याले २ हजार ९५५ रन बनाउनुका साथै ८२ विकेट लिएका छन्। उनको स्ट्राइक रेट १४६.२८ रहेको छ।
यता, अर्शदीप सिंह आठ सिजन पञ्जाब किङ्समा बिताएपछि मुम्बई पुगेका छन्। सन् २०१९ मा आईपीएलमा डेब्यु गरेका अर्शदीप पञ्जाबका प्रमुख बायाँहाते तीव्र गतिका बलरका रूपमा स्थापित भएका थिए। उनले पञ्जाबका लागि ९६ खेलमा १११ विकेट लिएका छन्। उनी पञ्जाबका लागि आईपीएलमा सर्वाधिक विकेट लिने बलर हुन्।
नयाँ बलमा सुरुवाती विकेट लिन र इनिङ्सको अन्तिम ओभरमा दबाबका बीच बलिङ गर्न सक्ने क्षमताका कारण अर्शदीप पञ्जाबको बलिङ आक्रमणका महत्त्वपूर्ण सदस्य थिए। उनले सन् २०२५ को आईपीएलमा २१ र सन् २०२६ मा १४ विकेट लिएका थिए। उनको आगमनले मुम्बईको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ।
पान्ड्या यसअघि पाउँदै आएको १६ करोड ३५ लाख भारुको सट्टा १८ करोड भारुमा पञ्जाब किङ्समा आबद्ध हुनेछन्। अर्शदीप भने यसअघि पाउँदै आएको १८ करोड भारु नै पाउने गरी मुम्बई पुगेका छन्।
प्रतिक्रिया 4