News Summary
Generated by OK AI. Editorially reviewed.- कोलकाता नाइट राइडर्सकी सहमालिक जुही चावलाले आईपीएल मार्च–मेको चर्को गर्मीमा होइन, जनवरीमा सार्न सुझाव दिएकी छन्।
- उनले आईपीएलले अब क्रिकेटको समयतालिकामा मात्रै स्थान खोज्नुपर्ने अवस्था नरहेको भन्दै समयतालिका परिवर्तन गर्नुपर्ने बताएकी छन्।
- पूर्व आईपीएल अध्यक्ष ललित मोदीले चावलाको प्रस्तावलाई समर्थन गर्दै आईपीएलको समयतालिका बीसीसीआईले आफ्नै निर्णयमा तय गर्न सक्ने बताएका छन्।
२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज कोलकाता नाइट राइडर्सकी सहमालिक जुही चावलाले प्रतियोगिता आयोजना हुने समय परिवर्तन गर्न सुझाव दिएकी छन्। उनले मार्चदेखि मेसम्मको चर्को गर्मीमा आईपीएल आयोजना गर्नुभन्दा जनवरीमा सार्नुपर्ने धारणा राखेकी छन्।
‘आईपीएलले अब क्रिकेटको समयतालिकामा आफ्नो स्थान खोज्नुपर्ने अवस्था छैन। यसले समयतालिकालाई नै प्रभावित पार्ने हैसियत बनाइसकेको छ’ उनले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेकी छन्।
उनले विश्वकै ठूलो क्रिकेट प्रतियोगिता किन सबैभन्दा चर्को गर्मीमा आयोजना गर्ने भन्दै प्रश्न गरेकी छन्। ‘यदि समयतालिकाबारे पुनर्विचार भइरहेको छ भने अप्रिल–मेको सट्टा जनवरी किन नहुने? यसले खेलाडीका लागि राम्रो वातावरण, राम्रो क्रिकेट र सबैका लागि समग्रमा राम्रो अनुभव दिनेछ,’ उनले लेखेकी छन्। आईपीएलको स्वरूप र हैसियत परिवर्तन भइसकेकाले यसको समयतालिका पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
आईपीएलको समयतालिका परिवर्तन गर्ने विषयमा औपचारिक छलफल नभए पनि प्रतियोगिताका पहिलो अध्यक्ष ललित मोदीले विगतमा पनि यसबारे धारणा राख्दै आएका थिए। चावलाको प्रस्तावमा मोदीले समर्थन जनाएका छन्।
उनले आईपीएल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट समयतालिका स्वीकृत गराउनुपर्ने प्रतियोगिता नभएको बताएका छन्। ‘आईपीएल भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को स्वामित्व र सञ्चालनमा रहेको घरेलु प्रतियोगिता हो। यसलाई कहिले आयोजना गर्ने भन्ने निर्णय बीसीसीआईले गर्न सक्छ,’ मोदीले सामाजिक सञ्जालमा लेखेका छन्।
अन्तर्राष्ट्रिय खेलतालिका र खेलाडीको उपलब्धता व्यवस्थापन गर्नुपर्ने भए पनि त्यसका लागि आईपीएलले कुनै निश्चित समयमा प्रतियोगिता आयोजना गर्न अनुमति माग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। विश्व क्रिकेटले आईपीएलले आफ्नो स्थान बनाइसकेको वास्तविकतालाई स्वीकार गर्नुपर्ने उनले बताएका छन्।
आईपीएल परम्परागत रूपमा मार्चदेखि मे वा जुनको सुरुवातसम्म आयोजना हुँदै आएको छ। तर कोभिड–१९ महामारीका कारण सन् २०२० र २०२१ मा यसको समयतालिकामा परिवर्तन गरिएको थियो।
मोदीले आईपीएलले आफ्नै अनुकूल समयतालिका छनोट गरेमा अन्य प्रतियोगिताले त्यससँग प्रतिस्पर्धा गर्न सक्ने भए पनि व्यावसायिक वास्तविकता महत्त्वपूर्ण हुने बताएका छन्। विश्वका उत्कृष्ट क्रिकेटरहरू आर्थिक अवसर कहाँ छन् भन्ने बुझ्ने र धेरै अन्तर्राष्ट्रिय खेलाडीका लागि आईपीएलको सम्झौता उनीहरूको वार्षिक क्रिकेट आम्दानीको ठूलो हिस्सा हुन सक्ने उनको भनाइ छ।
उनले आईपीएललाई फुटबलको इंग्लिस प्रिमियर लिग (ईपीएल) सँग तुलना गरेका छन्। ईपीएलजस्तै आईपीएल पनि विश्वव्यापी खेलकुद तथा व्यावसायिक शक्तिका रूपमा स्थापित भएको र यसको सफलता प्रतियोगिता, क्लब, समर्थक, खेलाडीको प्रतिभा तथा व्यावसायिक मोडलमा निर्भर रहेको मोदीले उल्लेख गरेका छन्।
मोदीले आईपीएलको समयतालिका परिवर्तनका लागि दुई विकल्प अघि सारेका छन्। पहिलो, अप्रिल–मेको चर्को गर्मीबाट प्रतियोगितालाई सारेर जनवरीमा सुरु गर्ने र दोस्रो, अक्टोबरदेखि अप्रिलसम्मको अवधिमा व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गर्ने।
उनका अनुसार यसले व्यावसायिक रूपमा दिगो विस्तार, खेलाडीका लागि अनुकूल वातावरण, प्रसारण अधिकारबाट थप आम्दानी र भारतीय क्रिकेटको दीर्घकालीन आर्थिक आधार बलियो बनाउन सहयोग गर्नेछ।
बीसीसीआईसँग प्रतियोगिता, दर्शक र व्यावसायिक क्षमता सबै रहेको भन्दै मोदीले त्यसको उपयोग गर्न आत्मविश्वास देखाउनुपर्ने बताएका छन्। आईसीसी र अन्य क्रिकेट बोर्डले पनि आर्थिक वास्तविकतालाई स्वीकार गर्दै आईपीएलसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ।
‘तपाईं हिजोको आर्थिक सोचका आधारमा भोलिको क्रिकेट सञ्चालन गर्न सक्नुहुन्न,’ मोदीले लेखेका छन्।
प्रतिक्रिया 4