Comments Add Comment

त्रिभुवन विमानस्थलमा अलपत्र सामानले नयाँ टेन्डरमा समस्या

१९ फागुन, काठमाडौं । समयमै निर्माणको काम अघि बढाउन नसकेका कारण ठेक्का रद्द भएको स्पेनिस कम्पनी सान्जोसेले त्रिभुवन विमानस्थलमा आफ्ना सामाग्रीहरु नहटाई अलपत्र अवस्थामा थुपारेको छ । यसरी राखिएका सामानका कारण विमानस्थल विस्तारका लागि पुनः टेन्डर खोल्न समस्या भएको छ ।

निर्माणका क्रममा रहेका सान्जोसेका केही सामान त्यहीँ नै छन् । ती सामानहरुको भ्यालुएसन के कसरी गर्ने भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरण र सान्जोसेवीच छलफल हुन सकेको छैन ।

प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार अहिले प्राधिकरणलाई सान्जोसेका सामानलाई के कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परेको छ ।

ठेक्का रद्द भएपछि निर्माण कम्पनीले सामानहरु त्यहीँ छाडेर हिँडेको हो ।

प्रवक्ता श्रेष्ठले भने ‘सान्जोसेका सामान के कसरी भ्यालुएसन गर्ने भन्ने हामीलाई समस्या भएको छ, सान्जोसे र हामीवीच यस विषयमा छलफल हुन सकेको छैन ।’

एसियाली बिकास बैंक (एडीबी) ले प्राधिकरण्लाई यसको टेन्डर छिट्टै निकालेर काम अघि बढाउन आग्रह गरिरहेको छ । तर, प्राधिकरणले भने फेब्रुअरीको ७ तारिखमै टेन्डर खोल्ने भनेर तयारी गरेको भए पनि हालसम्म टेन्डर खोल्न सकेको छैन ।

यसको टेन्डर छिट्टै नै खुल्ने तयारी भएको प्रवक्ता श्रेष्ठ बताउँछन् । उनले थपे ‘एक दुई दिनमा टेन्डर आउन सक्ने सम्भावना छ ।’

एसियाली बिकास बैंकका अनुसार सान्जोसेले विमानस्थल विस्तार कार्यको १७.४ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

सान्जोसेले सन् २०१६ को अन्त्यसम्ममा ८२ प्रतिशत काम सक्नुपर्दथ्यो । तर, १७ प्रतिशत मात्रै काम सकेकाले यसको सम्झौता नै खारेज भएको छ ।

यस आयोजनामा एसियाली बिकास बैंकको सहयोग छ । कुल ८० लाख अमेरिकन डलर बराबरको यो सहयोगमा ७० लाख ऋण र १० लाख अनुदानका रुपमा उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment