Comments Add Comment

मधेसी मोर्चाद्वारा मोरङका स्थानीय तहका कार्यालयहरुमा तालाबन्दी

७ चैत, विराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङले मोरङको जिल्ला समन्वय समितिसहित स्थानीय तहका चार कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले सुनवर्षी नगरपालिका तथा कटहरी, दादरवेरिया र धनपाल गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको हो ।

संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा गरएको टोलीले कार्यालय खुल्ने बितिकै तालाबन्दी गरेको थियो । जिल्लाका दक्षिणी भेगमा पर्ने नगरपालिका र गाउँपालिकामा गरिएको तालाबन्दीका कारण ती निकायको कामकाज प्रभावित भएको छ ।

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै पार्टीको केन्द्रीय कार्यक्रम अनुसार स्थानीय तहमा तालाबन्दी गरिएको यादवले बताए । उनले मधेस र मधेसीका माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने बताए ।

आन्दोलनरत मधेसी मोर्चासँग छलफल र समन्वय नगरी स्थानीय तह पुनर्संरचना गरिएको विरोध स्वरुप फोरमले असहयोग आन्दोलन थालेको छ । मोरङमा स्थानीय तह पुनर्संरचना अन्तर्गत एक उपमहानगर, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ स्थानीय तह बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment