Comments Add Comment

मन्त्री शाहीले भने- पशुपतिमा शुद्ध जलको व्यवस्था गर्छु

९ चैत, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले पशुपतिमा शुद्ध जल (खानेपानी) को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निवर्तमान पर्यटन मन्त्रीको हैसियतमा पशुपति क्षेत्र विकास कोषले मन्त्री शाहीको सम्मान र विदाईमा गरेको कार्यक्रममा बोल्दै मन्त्री शाहीले पवित्र पशुपति क्षेत्रमा आउने भक्तजनका लागि चौबिषै घण्टा शुद्ध खानेपानीको व्यवस्था गर्न आफूले योजना बनाइरहेको बताए ।

पानी नै मानिसको जिन्दगानी भएकाले यसको उचित व्यवस्थापन गर्नका लागि आफू प्रयासरत रहेको मन्त्री शाहीको भनाई छ ।

मानिसको मौलिक अधिकार भित्र रहेको खानेपानीलाई ग्यारेन्टी गर्नका लागि मन्त्रालय निरन्तर लागिरहेको उनले बताए । उनले कोषबाट स्वच्छ खानेपानी र सरसफाइमा लाग्न पनि सबैलाई अनुरोध गरे ।

साथै मन्त्री शाहीले आफू पर्यटन मन्त्री हुँदा पशुपतिको मुख्य भाग र मन्दिर सरकार आफैले बनाउनुपर्छ भन्ने निर्णय गरेको र त्यसमा उडिग रहन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

मन्त्री शाहीले भने, ‘पशुपति भनेको नेपालको अत्यन्तै महत्त्वपूर्ण धार्मिक स्थल हो । नेपालको चिनारी हो । हाम्रो लागि पशुपति गौरवको विषय पनि हो । त्यसैले यसको निर्माण हामी आफैले गर्नुपर्छ । यसको निर्माणको जिम्मा विदेशीलाई दिन हुँदैन । यसमा सबै सचेत हुन जरुरी छ  ।’

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले मन्त्री शाहीले पशुपति क्षेत्रको विकास र सुधारमा खेलेको भूमिकाको प्रशंशा गर्दै अझै पनि सहयोगको अपेक्षा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment