Comments Add Comment

‘जुन चाहनाले शहर जन्मायो, त्यसैले यसलाई खानेछ’

उनले चार दिन लगाएर बनाएको ‘शहर’ मानिसहरूले खाँदै थिए, तर चिनियाँ कलाकार सोङ डोङ भने आफ्नो कृति भत्कँदै गरेको देख्दा दङ्ग पर्दै थिए ।

अहिलेसम्म विभिन्न देशमा केक, बिस्कुट र चकलेटको नमुना शहरहरू बनाइसकेका सोङलाई आफ्नो कला दर्शकले खाएको हेर्दा निकै मजा लाग्छ ।

५१ वर्षका सोङ चीनको समकालीन कला क्षेत्रका चर्चित हस्ती हुन् । खासगरी शहरको इन्स्टलेशन आर्ट (प्रतिस्थापन कला) बाट परिचय स्थापित गरेका उनको शहर-साइनो १४ वर्षअघि सुरु भएको हो ।

‘मैले पहिलो शहर सन् २००३ मा लण्डनमा बनाएको थिएँ’, उनी सम्झिन्छन् । उनले प्रतिस्थापन कलामा शहर बनाउनुको कारण खोल्दै भने, ‘आधुनिक कलाले हामीले चाहेको माध्यम र भाषामा आफूलाई अभिव्यक्त गर्न दिन्छ अनि मैले गर्ने नै त्यही हो ।’

सोङ बिस्कुट, केक र चकलेट जस्ता गुलियो खानेकुराको प्रयोग गरेर ‘शहर’ को नमुना बनाउँछन् । तर, उनले आफ्नो कलाका माध्यमबाट दिन खोजेको सन्देश भने तीतो हुने गर्छ ।

उनका अनुसार, चिनीले मानिसको भित्री चाहनाको प्रतिनिधित्व गर्छ । उपभोग गर्ने त्यही चाहनाले कुनै पनि शहर बसाउँछ ।

उनले आफ्नो कलाको मर्म समाए, ‘यही उपभोग गर्ने चाहनाले एक दिन शहरको अन्त्य गर्नेछ । जसरी मैले बनाएको मण्डला केही घण्टाभित्र खाएर सकिनेछ, त्यसरी नै शहर पनि एक दिन सकिनेछ ।’

उनलाई अझै याद छ, सन् २००३ मा उनले लण्डनको एक सपिङ मलमा बनाएको ‘शहर’ ५० मिनेटमै गायब भएको थियो ।

मलमा किनमेल गर्न आएका मानिसहरुले खान मिल्ने कला देखेपछि फटाफट खाएर सकिदिएका थिए । यो हिसाबमा कलाकार सोङले काठमाडौंको संस्कृति भने अलि भिन्न भएको महसुस गरे ।

‘काठमाडौंमा मानिसहरू बिस्तारै जाऔं भन्ने सोच्दा रहेछन् । शहर सक्न त्यति हतार देखिएन’ उनले सुनाए ।

सन् २००३ पछि सोङले विभिन्न मुलुकका अनेकौं ग्यालरी, सार्वजनिक स्थान र सपिङ मलहरूमा आफ्नो कलाको प्रदर्शनी गरिसकेका छन् । हरेक शहरको उनले फरक-फरक अनुभव सँगालेका छन् ।

पहिलो पटक काठमाडौं आएका सोङले यो शहरको प्रतिनिधित्व गर्न मण्डला छान्नुको पनि कारण छ ।

उनका लागि मण्डला बौद्ध धर्ममा महत्वपूर्ण मानिन्छ, जसले चाहनाको परित्यागको कुरा गर्छ । तर, उनले बनाएको मण्डला भने उपभोगको उदाहरण बनेको थियो । मण्डलाको अर्थमा अन्तरविरोध उत्पन्न हुनु पनि उनको कलाको विशेषता थियो ।

‘यसो भनिरहँदा तपाईंले चाहिँ ‘शहर’ को टुक्रा खानुभएन त ?’

‘हो, मैले पनि खाएँ । शहर बनाउने क्रममा कुनै बिस्कुट भाँचिँदा मैले त्यो खाएँ ।’

यो उपभोगलाई उनले यथार्थसँग जोडे, ‘हामीले खाने भनेको शहर नै हो ।’

उनको शहरसम्बन्धी दृष्टिकोण यतिमा सीमित छैन ।

‘हामी धेरै समय शहरमा बस्यौं भने हामीलाई खुला ठाउँमा गएर बस्न मन लाग्छ । तर खुला ठाउँमा धेरै समय बस्यौँ भने फेरि फर्केर शहरमै आउन मन लाग्छ ।’

सोङले आफ्नो सोचका बारेमा बताउँदै गर्दा मानिसहरू उनको शहरका अन्तिम टुक्राहरू खाँदै थिए । कोही त झोलामा समेत हाल्दै थिए ।

‘समयको कुरो मात्रै हो, हेर्नुस् जुन चाहनाले शहरलाई जन्मायो त्यसैले यसलाई बिस्तारै खानेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment