Comments Add Comment

एमाले फेरि मधेस पस्यो, बर्दिबासमा प्रदेशस्तरीय भेला

सबै जिल्लाको चुनावी आँकलन गरिँदै

१६ चैत, बर्दिबास । सप्तरी गोलीकाण्डपछि २ नम्बर प्रदेशमा मेची महाकाली अभियान स्थगित गरेको नेकपा एमालेले फेरि मधेस केन्दि्रत भएको छ । बुधबार महोत्तरीको बर्दिबासमा प्रदेशस्तरीय कार्यकर्ता भेलामा शीर्ष नेताले २ नम्बर प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर चुनावमा होमिने बताए ।

करीव एक हजार अगुवा कार्यकर्ता सहभागी रहेको भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र ईश्वर पोखरेलले २ नम्बर प्रदेशको विकासको खाकासहित अब एमाले मधेसमा अड्डा जमाएर बस्ने बताए । उनीहरुले मधेसी मोर्चा र कांग्रेसको धाक धम्कीसँग नडराउन कार्यकर्तालाई ढाडस समेत दिए ।

प्रदेशस्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली बर्दिबास आउने भनिए पनि मौसमका कारण उनको भ्रमण रद्द भएको एमालेले जनाएको छ । भेलामा प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले २ नम्बर प्रदेशमा आउने चुनावमाव एमालेलाई पहिलो शक्ति बनाउने उद्घोष गरेका थिए ।

बुधबार र बिहीबार दुई दिन चल्ने भेलापछि २ नम्बर प्रदेशमा कस्तो अभियान लैजाने भन्ने निर्णय हुने पोलिटव्यूरो सदस्य सत्रुघन महतोले बताए । उनले भने, ‘मेची महाकाली अभियानको निरन्तरता दिनुपर्छ भन्ने कुरा आएको छ ।’ स्थानीय कमिटीले मात्र होइन केन्द्रबाटै विशेष कार्यक्रम सहित नेतृत्वलाई मधेसमा मुकाम खडा गरेर अभियान चलाउने तयारी भइरहेको उनले बताए ।

उद्घाटन सत्रपछिको बन्दसत्रमा बिभिन्न जिल्लाका अध्यक्षले आ आफ्नो जिल्लाको रिपोर्टिङ गरिरहेको धनुषा क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष शीतल साहले बताए ।
सप्तरी बाहेक सबै जिल्लाबाट उत्साहजनक रिपोर्ट आएको उनले बताए । धनुषाका अध्यक्ष राजकिशोर यादवले धनुषाका १७ मध्ये ९ ओटा स्थानीय तहमा एमालेले जितेर देखाउने बताउँदा हलमा ताली बजेको थियो ।

सर्लाही, महोत्तरी, रौतहट र बाराबाट पनि एक नम्बर शक्ति बन्ने रिपोर्ट आएको साहले बताए । बिहीबारमात्र भेलाको निष्कर्ष बाहिर आउने र नयाँ अभियान शुरु हुने एमालेले जनाएको छ ।

भेलामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुका साथै ८ ओटै जिल्लाका पदाधिकारी तथा सदस्य र क्षेत्रीय कमिटीका पदाधिकारीहरु सहभागी छन् । त्यस्तै गाउँ तथा नगर कमिटीका अध्यक्षहरु र भातृ संगठनका पदाधिकारी भेलामा सहभागी रहेको साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment