Comments Add Comment

मोटोपनको असर: मस्तिष्कलाई दश वर्ष चाँडै बूढो बनाउँछ

मोटोपन अहिले विश्वमै ठूलो स्वास्थ्य समस्या बनिरहेको छ । संसारमा प्रत्येक पाँच जनामध्ये एक जनामा मोटोपनको समस्या रहेको तथ्याङ्कले देखाउँछ  ।

नेपालमा मोटोपनको समस्या के-कति छ भन्ने कुनै आधिकारिक आँकडा नभए पनि यहाँ पनि जटिल समस्या बनिसकेको छ । गाउँ-घरभन्दा शहर-बजारमा यो समस्या बढी छ ।

मोटोपनलाई हाम्रो समाजको एक हिस्सामा प्रतिष्ठाको प्रतीक मान्ने गरिन्छ । मोटो हुनुलाई सन्तुष्टि र सम्पन्नताको रुपमा व्याख्या गरिन्छ । समाजमा मोटोघाटोलाई राम्रो मानिए पनि यसले स्वास्थ्यमा भने निकै नकारात्मक असर पार्छ । यो स्वास्थ्यसँग जोडिएको कुरा हो भन्ने थाहा भएपछि पछिल्लो समय मानिसहरु सचेत हुन थालेका छन् । खानपान र जीवनशैलीमा ध्यान दिने क्रम बढेको छ ।

आखिर  कस्तो शारीरिक अवस्थालाई मोटोपन भन्ने त ? हामीले झट्ट हेर्दा मोटो-पातलो जे भनेर अन्दाज गरे पनि चिकित्सा विज्ञानले मानिसको तौल र उँचाइको आधारमा मोटोपन निर्धारण गर्छ ।

सामान्यतया मानिसको तौल (केजी) लाई उँचाइ (मिटर) को वर्गले भाग गर्दा आउने भागफललाई बडी मास इन्डेक्स (बी.एम.आई.) भनिन्छ ।  यही बी.एम.आई. अनुसार नै मोटोपन मापन गरिन्छ । नेपालको सन्दर्भमा बी.एम.आई.  १८.५ देखि २२.९ सम्मलाई सामान्य तौल मानिन्छ भने २३ भन्दा माथिलाई मोटोपन (ओभर वेट) मानिन्छ । ३० भन्दा माथि हुनुलाई अधिक मोटोपन (ओभिसिटी) मानिन्छ ।

मोटोपनका नकारात्मक असरलाई विज्ञानले पनि प्रमाणित गरिसकेको छ । मोटोपनले मुटु रोग, उच्च-रक्तचाप, मधुमेह, मिर्गौला रोग लगायत विभिन्न दीर्घरोग निम्त्याउँछ । क्यान्सर गराउन पनि यसको प्रत्यक्ष भूमिका रहेको पाइएको छ ।

मोटोपनले स्वास्थ्यमा पार्ने असरको चर्चा हुँदा मस्तिष्कमा कस्तो असर गर्छ भन्नेबारे खासै चर्चा भएको पाइँदैन । मोटोपनले मस्तिष्कमा पार्ने असरबारे  अनुसन्धान पनि ज्यादै कम भएका छन् ।

हामीमाझ एउटा भनाइ प्रचलित छ, ‘मोटो मान्छेको मोटो दिमाग ।’ के यो भनाइ साँच्चै हो त ? यस सम्बन्धमा भएको अनुसन्धानले मानिसको बौद्धिक क्षमता (आई.क्यु.)  र मोटोपनबीच सम्बन्ध रहेको देखाएको छ । तर, अहिलेसम्मको अनुसन्धानले मोटोपनको कारण  बौद्धिक क्षमतामा असर गर्छ कि बौद्धिक क्षमताको कारणले मोटोपन निम्त्याउँछ भन्नेबारे स्पष्ट गरेको थिएन ।

पछिल्लो चरणका अनुसन्धानले भने मोटोपनले बौद्धिक क्षमता कम हुने नभई बौद्धिक क्षमता कम हुनेहरुमा मोटोपन हुनसक्ने देखाएको छ । तसर्थ: मोटो हुनुमा बौद्धिक क्षमता कम हुनु पनि एक प्रमुख कारक तत्त्व मानिएको छ ।

विभिन्न उमेरसमूहमा गरिएको अनुसन्धान अनुसार, उच्च बौद्धिक क्षमता हुनेभन्दा कम बौद्धिक क्षमता हुनेहरुमा धेरै बी.एम.आर. अर्थात् मोटोपन भएको पाइएको थियो । सो अनुसन्धानले बच्चा अवस्थाको बौद्धिक क्षमताको आधारमा कुनै पनि मानिसको वयस्क बेलाको मोटोपनबारे  पूर्वानुमान वा भनिष्यवाणी गर्न सकिने निष्कर्ष पनि निकालेको थियो ।

मान्छे बूढो हुँदै जाँदा शरीरका अन्य अंगहरु जस्तै मस्तिष्क पनि बूढो हुँदै जान्छ । उमेर बढ्दै जाँदा मानिसको मस्तिष्क खुम्चने गर्छ ।  मस्तिष्क बूढो हुनु भनेको मस्तिष्क बन्ने एक महत्वपूर्ण पदार्थ ‘ह्वाइट म्याटर’ कम हुँदै जान्छ र  मस्तिष्क खुम्चिँदै जान्छ । ‘ह्वाइट म्याटर’ ले मस्तिष्कमा स्मरण गर्ने, जानकारी आदानप्रदान गर्ने जस्ता काममा सन्तुलन गराउने काम गर्छ ।

यसरी मस्तिष्क खुम्चिएर बूढो गराउने कारणहरु व्यक्ति अनुसार फरक-फरक हुन सक्छन् ।  जसमध्ये एउटा प्रमुख कारण मोटोपन रहेको छ ।

सामान्य तौल भएको व्यक्तिको भन्दा मोटोपन भएको व्यक्तिको मस्तिष्क चाँडै बूढो हुन्छ । मोटो व्यक्ति र सामान्य व्यक्तिको मस्तिष्कबीच कति फरक हुन्छ  र मस्तिष्क कति  चाँडै बूढो बनाउँछ भन्ने प्रश्नमा हालैको अनुसन्धानले निकै आश्चर्यजनक कुरा  पत्ता लगाएको छ ।

वयस्कहरु मात्र समावेश गरिएको सो अनुसन्धानमा ‘ह्वाइट म्याटर’ को मात्राको आधारमा मस्तिष्कको अवस्था नापिएको थियो । अनुसन्धानमा सामान्य तौल भएका मानिसको मस्तिष्कमा ६० वर्षको उमेरमा हुने ह्वाइट म्याटरको मात्रा र मोटोपन भएका मानिसको ५० वर्षमा हुने मात्रा समान देखियो । जसबाट यो बुझिन्छ, मोटो मानिसको मस्तिष्क सामान्य मानिसको भन्दा दश वर्ष चाँडै बूढो हुन्छ ।  यसले गर्दा मोटो मानिसमा मस्तिष्क सम्बन्धी रोगहरु लाग्ने उच्च जोखिम रहन्छ र स्मरण शक्ति पनि चाँडै कम हुने समस्या आउँछ ।

मोटोपनले मस्तिष्कको आकार सानो गराउनुका साथै यसको काममा पनि असर गर्छ । मस्तिष्कमा ‘डोपामिन’ भन्ने रसायनले सूचनाहरु एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउने गर्छ । मोटोपन बढी हुने मानिसहरुमा सामान्य मानिसको भन्दा डोपामिन कम पाइन्छ । जसको कारण समान खानाबाट सामान्य व्यक्तिले भन्दा मोटो मानिसले कम सन्तुष्टि पाउँछ । फलस्वरुप मोटो मानिसलाई खानाबाट सन्तुष्टि पाउन सामान्य मानिसको भन्दा धेरै खाना खानुपर्छ अथवा बारम्बार खानुपर्छ ।

मोटोपन र यसले स्वास्थ्य र मस्तिष्कमा पर्ने असरबारे अझै धेरै कुरा पत्ता लाग्न बाँकी भए पनि  हालसम्मको अनुसन्धानबाट प्राप्त जानकारीले हामीलाई  खतराको संकेत दिइसकेको छ । अत: मोटोपनले मस्तिष्कमा पार्ने असरबारे जनचेतना फैलाउन टड्कारो आवश्यकता देखिन्छ । मोटोपनबाट जोगिन  सन्तुलित खाना र व्यायाममा  विशेष  ध्यान दिनुपर्छ ।

(लेखक दक्षिण कोरियाको वोन्क्वङ युनिभर्सिटीमा न्यूरो-फर्माकोलोजीमा पि.एच.डी. गर्दै छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment