Comments Add Comment

अस्पतालमा आत्महत्याः ट्रमा सेन्टरमा किन प्राण त्यागिन् जयकलाले ?

पारिवारिक तनावले हुन सक्छः अस्पताल प्रशासन

२४ चैत, काठमाडौ । बिहीबार बिहान घाम नझुल्किँदै राजधानीको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा एक वृद्धाको जीवन अस्तायो । अन्दाजी ६५ वर्षकी जयकला घर्तिमगरले ट्रमा सेन्टरको पाचौं तल्लामा झुन्डिएर आत्महत्या गरिन् ।

अस्पतालमा पैसा तिर्न नसकेर गरिब बिरामीले आत्महत्या गरेका घटनाहरु पछिल्लो समय बारम्बार सुनिन थालेका छन् । यसअघि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र महाराजगञ्जस्थित शिक्षण अस्पतालमा दुई जना बिरामीले आत्यहत्या गरिसकेका छन् । राजधानीका अस्पतालमा जयकलाको आत्महत्या तेस्रो घटना हो ।

प्रहरीले पनि आत्महत्या गर्नुको कारण यही नै हो भनेर ठहर्‍याएको छैन ।

बाग्लुङबाट काठमाडौं

बाग्लुङ जिल्ला मिजी १ घर भएकी जयकला विगत तीन हप्तादेखि ट्रमा सेन्टरमा उपचाररत थिइन् । उनी लामो समयदेखि हड्डी तथा मेरुदण्डको समस्याबाट पीडित थिइन् । उनको मेरुदण्डको शल्यक्रिया गर्ने भनिए पनि दुईपटक सरेको थियो ।

जयकलाको शवलाई पोष्टमार्टमका लागि त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

के भन्छ अस्पताल प्रशासन ?

जयकलाको आत्महत्याले आफूहरु स्तब्ध भएको ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद उपाध्यायले अनलाइनखबरलाई बताए ।

डा. उपाध्यायका अनुसार बिरामीको तत्काल अप्रेसन गर्नुपर्ने अवस्था थिएन । उनमा टीबीको आशंका गरिएको थियो र बायोप्सी जाँचका लागि आवश्यक सामाग्री बिरामीका आफन्तले किनिसकेका थिए ।

अस्पतालको बेड चार्ज पनि दैनिक २ सय रुपैयाँमात्रै थियो । आर्थिक समस्या परेको भए सहुलियतसमेत गर्न सकिने भएकाले आर्थिक कारणले उनले आत्महत्या गर्नुपर्ने कारण नदेखिएको डा. उपाध्यायको भनाइ छ ।

उनी कुनै पारिवारिक तनावमा परेको हुन सक्ने डा. उपाध्यायले अनलाइनखबरलाई बताए । तर, मृतककी छोरीले परिवारमा कुनै तनाव नरहेकाे अनलाइनखबरलार्इ बताइन् । जयकलाका छोरा विदेशमा छन् ।

छोरी भन्छिन् -आमाले आत्महत्या गर्दा म सुतिरहेकी थिएँ

मृतक जयकलाकी छोरी दिलपूजा घर्ती मगरका अनुसार आमाले आत्यहत्या गर्दा उनी मस्त निद्रामा थिइन् । सँगै रहेका कुरुवाले उनकी आमा झुण्डिइन् भनेर कराएपछि मात्रै उनले जानकारी पाएको अनलाइखबरलाई बताइन् ।

बिहान बिरामी कुरुवाहरु निदाइरहेको मौका छोपेर जयकलाले झ्यालमा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
सुरुमा अस्पतालबाट हाम्फालेको भन्ने सूचना आए पनि पछि पछि अस्पतालले झण्डिएर आत्महत्या गरेको हो ।

अघिल्लो दिनसम्म राम्रै अवस्थामा रहेकी जयकला खासै तनावमा नरहेको समेत छोरीले बताइन् । उनले भनिन्, ‘हिजोसम्म हाँसेरै बस्नुभएको थियो, त्यस्तो कुनै तनाव भएको बताउनुभएको थिएन । एक्कासी के कारणले आत्महत्या गर्नुभयो, थाहा भएन ।’

दिलपूजाले आˆनी आमा अलिकति पनि तनावमा नरहेको र आमाले आफुसित कहिल्यै पनि मर्ने कुरा नगरेको बताइन् । उनले भनिन्, ‘आमाले थोरैमात्रै केही भनेको भए र त्यस्तो कुनै शंका भएको भए म किन सुतेर बस्थें होला र ? बरु रातभर कुरेर भए पनि बस्थे नि ।’

उपचार खर्च अभावमा पो आत्महत्या गरेकी हुन् कि ? यो प्रश्नमा उनले त्यसको पनि खासै समस्या नभएको स्पष्ट पारिन् । उनले भनिन्, ‘बेड र केही औषधीको बाहेक अरु सबै पैसा तिरिसकेका थियौं, आर्थिकमा पनि खासै समस्या थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment