Comments Add Comment

३७ प्रतिशत वैदेशिक सहायता बजेट बाहिरबाट

नेपालले पाउँदै आएको वैदेशिक सहायता ५.२२ प्रतिशत वृद्धि

३ बैशाख, काठमाडौं । आर्थिक वर्ष २०७२/७३ मा बिदेशी दातृ निकाय तथा संघसंस्थाहरुबाट नेपालले पाउँदै आएको बिभिन्न सहायता ५.२२ प्रतिशतले बढेको छ । अर्थमन्त्रालको एड म्यानेजमेन्ट प्लाटफर्ममा प्रविष्टि भएका तथ्यांकको आधारमा यस्तो देखिएको हो ।  अर्थमन्त्रालयले आइतबार यससम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७१/७२ मा १ खर्ब २ अर्ब (१ अर्ब २ करोड डलर) रकम सहायता पाएकोमा आर्थिक वर्ष २०७२/७३ मा १ खर्ब ७ अर्ब (१ अर्ब ७ करोड डलर) पाएको हो । यसमध्ये ५० प्रतिशत सहायता रकम अनुदान मार्फत, ३५ प्रतिशत ऋण सहयोग र १५ प्रतिशत प्राविधिक सहायता रकम रहेको छ ।

भूकम्पपछि वैदेशिक सहयोगमा केही वृद्धि भएको भएपनि ६ वर्षयता यस्तो प्राप्त सहयोग १ खर्बदेखि १ खर्ब १० अर्बको हाराहारीमा नै रहेको अर्थमन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले नेपालको स्वार्थ अनुसार नै वैदेशिक सहायता आउने वातावरण बनाइरहेको अर्थमन्त्री कृष्णबहादुर महाराले बताए ।  ‘सबै दाताको स्वार्थ आफ्नो नीति पहिचान गराउने गरी सहयोग गर्ने रहेको हुन्छ, हामीले नेपालकै स्वार्थ अनुसार सहायता आउनुपर्छ भन्दै आएका छौं,’ अर्थमन्त्री महराले भने ।

त्यस्तै, सम्पूर्ण वैदेशिक सहायता रकम राष्ट्रिय बजेट प्रणालीबाट ल्याउने सरकारी प्रयास रहँदैआएपनि यसपटक यो प्रणालीबाट बाहिरबाट आएको सहयोगको हिस्सा थप बढेको छ ।

अघिल्लो आर्थिक वर्ष मा ६५ प्रतिशत रकम बजेटबाट आएको भएपनि गत आर्थिक वर्षमा भने ६३ प्रतिशत रकम यो प्रणालीबाट आएको थियो।

‘सरकारले भूकम्पपछि केही समयको प्रत्यक्ष वैदेशिक सहयोग दिन सकिने व्यवस्था गरेकाले यो वर्ष बजेट बाहिरबाट बढी रकम आएको देखिएको हो,’ अर्थसचिव शान्तराज सुवेदीले भने ।

मन्त्रालयले आफ्नै पहलमा पनि सहयोग ल्याए

राष्ट्रिय निर्माणमा सहयोग पुग्ने ठूला आयोजनाको लागि रकम जुटाउने आफ्नो प्रयास अन्य मन्त्रालयको कारण पूरा हुन नसकेको अर्थमन्त्रालयले बताएको छ ।

‘दातृ निकायलाई सबैले प्रत्यक्ष भेट्न सक्छन्, हामीले रोक्न सक्दैनौं, यही कारण अन्य मन्त्रालयहरुबाट समेत सा–साना आयोजनाको लागि सहयोग माग हुने गरेकाले यस्तो देखिएको हो,’ सचिव सुवेदीले भने ।

प्रोजेक्ट बैंक सञ्चालनमा आएपछि यस्ता समस्या हट्ने अर्थमन्त्रालयको विश्वास छ ।

सबैभन्दा धेरै सहयोग संघीय मामिला मन्त्रालयलाई

आयोजनाको आधारमा हेर्दा सबैभन्दा धेरै संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको लागि सहायता आएको छ । यस मन्त्रालयमातहत वैदेशिक सहयोगमा ६५ वटा आयोजना सञ्चालनमा छन् ।

त्यसपछि स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, उर्जा मन्त्रालयमा धेरै वैदेशिक सहयोगका आयोजना सचालनमा छन् ।

सुदूरपश्चिममा सबैभन्दा कम सहयोग

सहयोग रकमको आधारमा हेर्दा सुदूरपश्चिममा सबैभन्दा कम वैदेशिक सहयोग पुगेको छ । यस क्षेत्रमा ७ करोड ५७ लाख अमेरिकी डलर सहयोग पुगेको हो ।

त्यस्तै सबैभन्दा धेरै सहायता मध्यमाञ्चल बिकास क्षेत्रमा भएको छ । यस क्षेत्रले २५ करोड ३२ लाख अमेरिकी डलर वैदेशिक सहयोग पाएको छ ।

प्रतिव्यक्ति सहायता परिचालनको आधारमा हेर्दा भने मध्यपश्चिमाञ्चलमै धेरै अर्थात् ३० अमेरिकी डलर रहेको छ । तर प्रक्तिव्यक्ति आधारमा सबैभन्दा कम पूर्वाञ्चल बिकास क्षेत्रमा सहयोग भएको छ । यो क्षेत्रमा प्रतिव्यक्ति १३.६२ अमेरिकी डलर मात्र सहयोग भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment