Comments Add Comment

नवलपुर क्षेत्रमा चुनावी सरगर्मीः यी हुन् प्रमुख दलका उम्मेदवार

नवलपरासी, १९ बैशाख । पहिलो चरणअन्तर्गत बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नवलपरासीको नवलपुर क्षेत्रको ४ गाउँपालिका र ४ नगरपालिकामा मंगलबार उमेदवारी दर्ता गरिएको छ ।

नवलपरासीको गैंडाकोट , देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र बुङ्गदीकाली, बुलिङ्गंटार, हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिकामा उमेद्वारी दर्ता गरिएको हो ।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चालगायतका दलहरुले उम्मेदवारी दिएका छन् ।

१७ वडा रहेको कावासोती नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, जनमोर्चा नेपाललगायतका दलहरुले उम्मेदवारी दिएका छन् ।

नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काङ्गेसबाट मेयरमा महेन्द्र पोख्रेल र उपमेयरमा खगिसरा गुरुङ्गले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, नेकपा एमालेबाट मेयरमा चन्द्रा पुन र उपमेयरमा प्रेमशंंकर मर्दनियाले टिकट पाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट प्रमुखमा डासीराम बस्याल र उपप्रमुखमा रमिला भुजेलको उम्मेदवारी परेको छ ।

गैडाकोट नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा गजेन्द्र आले र उपमेयरमा बिष्णु कंडेल सापकोटा भिड्दै छन् । एमालेबाट मेयरमा छत्रराज पौडेल र उपमेयरमा राधा पाण्डको उम्मेदवारी परेको छ ।

माओवादी केन्द्रले मेयरमा दुर्गा ढुंगाना र उपमेयरमा पार्वती आचार्य उठाएको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरमले भने तालमेल गरेर उम्मेदवार उठाएका छन् । उनीहरुले मेयरमा गोपेन्द्र केसरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।

देवचुली नगरपालीकामा मेयर पदका लागी १० जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

देवचुली नगरपालीकामा नेपाली कांग्रेसबाट पूर्णकुमार श्रेष्ठ मेयरको उम्मेदवार बनेका छन् । उप मेयरमा लक्ष्मी बस्ताकोटीले उम्मेदवारी दर्ता गरेकी छन् ।

नेकपा एमालेले देवचुलीको मेयरमा हरिप्रसाद न्यौपाने र उपमेयरमा पार्वती तिवारीलाई उठाएको छ । सत्यनारायण भुषाल र पे्रमाकुमारी खनाल माओवादी केन्द्रको मेयर र उपमेयरका उम्मेदवार हुन् ।

मध्यबिन्दु नगरपालिकामा नेपाली कांग्रेसले प्रमुखमा चन्द्रबहादुर राना र उपप्रमुखमा ओमकुमारी महतोलाई उठाएको छ । नेकपा एमालेबाट मेयरमा भिमलाल अधिकारी र उपमेयरमा जोगमाया महतो खडा गरिएका छन् ।

माओवादी केन्द्रले मेयरमा सुष्मा खनाल र उपमेयरमा चुडाबहादुर आलेको उम्मेदवारी परेको छ ।

नवलपरासीको पहाडी गाउपालीका बुङदीकाली गाउपालीकमा नेपाली कांगे्रसका तर्फबाट दुर्गाबहादुर रानाले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन भने उपप्रमुखमा मायादेवी श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छन ।

नेकपा एमालेले प्रमुखमा श्याम सुन्दर श्रेष्ठ र उपप्रमुखमा डिलकुमारी सारुलाई अघि सारेको छ । माओवादी केन्द्रले भने उपप्रमुखमा मात्रै उम्मेदवारी दिएको छ ।

हुप्सेकोट गाउपालीकामा गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेसले क्रमशः लक्ष्मी पाण्डे र उपप्रमुखमा ओमबहादुर घर्तीलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले हुप्सेकोटको प्रमुखमा मेकबहादुर पुलामी र उपप्रमुखमा कोपिला मल्लले उम्मेदवारी दर्ता गराएका छन । नेकपा माओवादी केन्द्रबाट गाउपालिका प्रमुखमा चन्द्रबहादुर थापा र उपप्रमुखमा कल्पना सिग्देलले उम्मेदवारी दर्ता गराएका छन ।

विनयी त्रिवेणी गाउपालिकामा कांग्रेसले डम्मर जिसीलाई प्रमुख र मिना रानालाई उपप्रमुखमा उठाएको छ । एमालेबाट प्रमुखमा लक्ष्मण पाण्डे र उपप्रमुखमा तारा बिकको उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट प्रमुखमा कृष्ण पाण्डे र उपप्रमुखमा रन्जु अधिकारी मैदानमा उत्रेका छन् ।

बुलिङ्गटार गाउपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा शशी बस्ताकोटी र उपाध्यक्षमा मैना बि.क.को उम्मेदवारी परेको छ भने एमालेबाट अध्यक्षमा विद्रोही गिरी र उपाध्यक्षमा पार्वती थापाको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रले लालबहादुर रेश्मी मगरलाई प्रमुखमा उठाएको छ ।

प्रदेश ५ अन्तर्गत रहेको नवलपरासीको परासी क्षेत्रका ३ नगरपालिका र ४ गाउंपालिकामा भने दोस्रो चरणमा निर्वाचन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment