Comments Add Comment

क्रिकेट विवादको चुरो पाण्डे भर्सेस प्याकुरेल ! सल्लाहकार समितिमा मिलेन दुई विवाद

१७ जेठ, काठमाडौं । नेपाल सल्लाहकार समिति संक्रमणकालीन व्यवस्था र जिल्ला संघको मताअधिकार मिलाउन असफल भएको छ । अब दुबै पक्षको आ-आफ्नो मत राखेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई प्रतिवेदन बुझाइनेछ ।

सल्लाहकार समितिको पछिल्लो बैठक केही दिनअघि बसेको थियो । तर, मूख्य दुई विवादित विषयमा सहमति जुट्न नसकेको एक सदस्यले अनलाइनखबरलाई बताए ।

स्रोतका अनुसार निर्वाचित क्यानका महासचिव रहेका अशोकनाथ प्याकुरेल समूहले केन्द्रीय साधारणसभा जिल्ला संघको जिल्लागत प्रतिनिधित्व हुनु पर्ने माग राखेको छ ।

यस्तै निर्वाचनमार्फत नयाँ नेतृत्व नआउँदासम्म संक्रमणकालीन व्यवस्थापनका लागि जिल्ला, क्षेत्र र केन्द्रमा हालका कमिटीहरुले नै तदर्थ समितिको रुपमा काम गर्न दिनुपर्ने भनेको छ ।

तर, सल्लाहकार समूह संयोजक विनयराज पाण्डे लगायतले भने यो माग अस्वीकार गरेका छन् । सबै जिल्लाबाट धेरै प्रतिनिधित्व गराउन नसकिने बताएका छन् । उनीहरुले जिल्लाले प्रदेश र प्रदेशले केन्द्र छनोट गर्ने व्यवस्था गर्ने र आवश्यक भए केही जिल्लालाई प्रतिनिधित्व गराउन सकिने बताएका छन् ।

पाण्डे समूहले हाल कायम रहेका कमिटीहरुलाई नै तदर्थ बनाउने प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । यो मत राख्ने एक सदस्यले अनलाइनखबरसँग भने, ‘कुनै पनि हालतमा हुँदैन । विधान अनुमोदन गर्नासाथ यो कमिटी स्वतः भङ्ग हुन्छ ।’

अशोकनाथ समूहले भने विधान अनुमोदन गर्नु पर्ने तर, त्यसपछि निर्वाचित क्यानको उपस्थितिलाई स्वीकार नगर्ने प्रस्तावमा सहमति जनाउन नसकिने बताएको छ ।

निर्वाचित क्यानलाई तदर्थ समिति बनाउँदा अरु पक्षलाई पनि समावेश गर्न सकिने यो समूहले बताएको छ । ‘एड्भाइजरी कमिटी वा एडब कमिटी नै भोटिङ राइटसहित आउन चाहन्छ भने हामी तयार छौं’ एक सदस्यले भने, ‘होइन, आईसीसी वा अन्य स्टेकहोल्डरका २/४ जना समावेश गर्नुपर्छ भने पनि हामी तयार छौं ।’

उनले अघि भने, ‘तर, मितिहरु आजबाट सिध्यियौं भनेर अस्तित्व समाप्त गर्न सकिँदैन ।’

के-केमा जुट्यो सहमति ?

विधानको अन्य धेरै विषयमा भने सहमति जुटेको छ । बोर्डको सट्टा क्रिकेट एशोसिएन नै बनाउने सहमति जुटिसकेको छ भने केन्द्रमा १७-१८ सदस्यीय टोली बनाउने तयारी छ । सुरुमा ९ सदस्यीय प्रस्ताव गरिएको थियो । तर, अशोकनाथ समूहले मानेन । उनीहरुले कम्तिमा २१ सदस्यीय हुनु पर्ने बताएपछि १७-१८ सदस्यीय बनाउन दुबै पक्ष सकारात्मक देखिएका छन् ।

प्रदेशमा १५-१७ र जिल्लामा १३-१५ सदस्यीय टिम बनाउन दुबै पक्ष सहमत भएका छन् ।

सदस्यता वितरणको अधिकार जिल्लाले मात्र दिइने भएको छ । यसका लागि निश्चित मापदण्ड तोकिएको छ । प्राप्त कम्तिमा दुई प्रतियोगिता खेलेका क्लबलाई सदस्यता दिने र दर्ताका आवश्यक प्रक्रिया पुरा गराउने सहमति जुटेको छ ।

जिल्लाबाट केन्द्रीय साधारणसभाका लागि छनोट भएका आएकाहरु क्रिकेट संघको अध्यक्ष र महासचिवसहित आफूले चाहेको पदमा उम्मेदवार बन्न सक्ने व्यवस्था गरिएको छ । तर, अध्यक्ष र महासचिवका लागि शैक्षिक योग्यता तोक्ने कि नतोक्ने निर्णय हुन बाँकी छ । शैक्षिक योग्यता तोक्ने सम्भावना छ ।

तर, संक्रमणकालीन व्यवस्था र जिल्ला संघको मताअधिकारबारे सहमति जुट्न सकेको छैन ।

विवादको चुरो पाण्डे भर्सेस प्याकुरेल

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट एशोसिएसनको विधान संशोधनको मस्यौदा बनाउन सुरुमा ६ सदस्यीय नेपाल सल्लाहकार समूह बनायो । यसमा निर्वाचित क्यानका अध्यक्ष र महासचिव थपिएपछि ८ सदस्यीय भएको छ ।

तर, पछिल्ला छलफलहरु हेर्दा विजयराज पाण्डे भर्सेस अशोकनाथ प्याकुरेल जस्तो देखिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट रहेका चुडामणि पौडेल पछिल्ला बैठकहरुमा उपस्थित हुन छाडेका छन्, किनकी उनको खेलकुद मन्त्रालयबाट सरुवा भइसकेको छ । संयोजक बसन्त चौधरी पनि एकाध बैठकमा मात्र गएका छन् ।

क्यानका पूर्व उपाध्यक्ष दीपक कोइराला पनि छलफलहरुमा सहभागी भएका छैनन् । माओवादी कास्कीका अध्यक्ष समेत रहेका उनी पछिल्लो समय चुनावमा व्यस्त थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तर्फबाट रोहित दाहाल पनि सल्लाहकार समितिमा छन् । उनी राखेप सदस्य सचिवका केशव विष्टका प्रेस सल्लाहकार हुन् । उनका रुची क्रिकेटमा भन्दा पनि सदस्य सचिवमाथि लागेको दाग पखाल्न निलम्बन हटाउन पाए हुन्थ्यो भन्ने मनसाय देखिएको एक सदस्य बताउँछन् ।

यसरी हेर्दा सल्लाहकार समितिको अहिलेको विवाद विजयराज पाण्डे भर्सेस अशोकनाथ प्याकुरेल नै हो । पाण्डेको साथमा पूर्व क्रिकेटर एवं खेलाडी एशोसिएसनका अध्यक्ष पवन अग्रवाल छन् भने प्याकुरेलसँग चतुरबहादुर चन्द छन् ।

रोचक त के छ भने अहिले दुई समूहको अगुवाई गरिरहेका पाण्डे र प्याकुरेल लामो समयसम्म एउटै टिममा थिए । पाण्डेले क्रिकेट संघको अध्यक्ष चलाउँदा उनका मुख्य सहयोगी र महासचिवका रुपमा प्याकुरेलले काम गरे ।

तर, क्रिकेट एशोसिसनको पहिलो चुनावका क्रममा पाण्डे र प्याकुरेलको सहकार्य टुट्यो । त्यसपछि उनीहरु दुई धु्रवमा उभिए । पाण्डेलाई लागेको छ कि पछिल्लो समय नेपाली क्रिकेटमा देखिएको भद्रगोलका कारण प्याकुरेल समूह नै हो ।

जुन अशोकनाथ समूह स्वीकार्य गर्न तयार छैन । उनीहरु आफूहरुको पालामा नै नेपाली क्रिकेटले सबैभन्दा ठूलो सफलता पाएको भन्दै त्यसको श्रेय लिन चाहन्छन् । उनीहरुको आशंका छ कि सल्लाहकार समूहका नाममा पाण्डे फेरि क्रिकेटमा आउन चाहन्छन् र आफूहरुले चुनौती दिएको स्वीकार गर्न सकिरहेका छैनन् । तर, यसबारे दुबै पक्ष खुलेर बोल्न चाहँदैनन् ।

अबको बाटो के ?

लामो छलफलमा पनि कुरा नमिलेपछि दुबै पक्षले यो विवादमा सहमति जुटाउन सकिन्छ भन्ने आश मारेका छन् । त्यसैले आ-आफ्नो मत राखेर अन्तराष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी)लाई छिट्टै प्रतिवेदन बुझाउने तयारी छ ।

‘जति छलफल गरेपनि सहमति जुटेन । अब यसमै अडि्करहनु भन्दा स्वतन्त्र निकायले निर्णय लेओस्’ सल्लाहकार समितिका एक सदस्यले भने, ‘कानुनी सल्लाहकारले काम गरिरहेका छन् । एक दुई सातामा रिपोर्ट पठाउँछौं ।’

आईसीसीको आगामी बैठक जुन महिनामा बस्ने भएकाले त्यसअघि नै रिपोर्ट पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment