Comments Add Comment

डा. केसी पक्षद्वारा वार्ता बहिस्कार, डा. क्षेत्री भन्छन्- कर्मकाण्डी वार्ताको औचित्य छैन

डा. गोविन्द केसी । फाइल तस्वीर

१८ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीका समर्थक चिकित्सकहरुले सरकारसँग वार्ता गर्नुको औचित्य नभएको भन्दै यथास्थितिमा वार्तामा नबस्ने घोषणा गरेका छन् । डा. केसीको तर्फबाट गठित वार्ता टोलीले सरकारसँगको बुधबारको वार्तामा पनि सहभागीता जनाएन ।

डा. केसीका समर्थक डा. जीवन क्षेत्रीले अनलाइनखबरसँग भने, ‘सरकारी पक्ष कुनै तयारी गरेर आउँदैन । वार्ताको लागि मात्र वार्ता गरेर औचित्य छैन । त्यही भएर आजको वार्तामा हामी गएनौं ।’

चिकित्सा शिक्षामा आमुल सुधारका लागि प्रभावकारी चिकित्सा शिक्षा ऐन ल्याउनुपर्नेलगायतका माग राखेर डा. केसीले एघारौंपटक आमरण अनशन शुरु गरेको आज दशौं दिन हुँदा पनि माग सम्बोधन गर्नेतर्फ सरकारले उदासिनता देखाएको डा. क्षेत्रीले बताए । धेरै चरणमा वार्ता भए पनि हरेकजसो वार्तामा माग सम्बोधनको मुर्त मार्ग चित्र नलिई सरकारी पक्ष बस्ने गरेका कारण अहिलेसम्म ठोस उपलब्धि हुन नसकेको उनको भनाइ छ ।

डा. केसीलगायत मेडिकल शिक्षामा सुधारका पक्षधरहरुले माग गरेको रुपमा चिकित्सा शिक्षा ऐन छिटो आउने अवस्था नभएसम्म कर्मकाण्डका रुपमा वार्ता बस्नुले समस्या नसुल्झाउने वार्ता टोलीको ठहर छ । वार्ता टोलीको तर्फबाट बुधबार डा. क्षेत्रीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सही रुपमा ऐन आउने अवस्था सुनिश्चित भएपछि मात्र अब सरकारसित वार्तामा बस्नुको औचित्य हुने प्रस्ट पार्न चाहन्छौं ।’

चिकित्सा शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । तर, संघीयताको मर्म मर्ने गरी काठमाडौंमा झनै धेरै सेवा केन्दि्रत गर्ने र त्यसैको आडमा व्यवसाय गर्ने स्वार्थ समूहहरु अहिले हावी भइरहेको सूचना आएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘डा. केसीको स्वास्थ्य जोखिममा पर्दै गएको अवस्थामा समेत यस्तो संवेदनशील ऐन ढिलो गरी ल्याउने र विभिन्न पक्षको संकीर्ण स्वार्थमा आधारित भएर ल्याउने प्रपञ्च हुनु दुर्भाग्यको कुरा हो ।’

यसैबीच चिकित्सा शिक्षा विधेयकमा चलखेल भइरहेको र डा. केसीको स्वास्थ्यप्रति राज्यले उदासिनता देखाएको भन्दै आउँदो माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि चिकित्सकहरुले तय गरेका छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ओपीडी सेवामा काम गर्न छाडेका छन् ।

यो पनि पढ्नुहोस् 

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कस्तो छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment