Comments Add Comment

राजनीतिक स्वार्थले थलियो बुटवल सामुदायिक वन

६ चैत, बुटवल । सरकारले उत्कृष्ट वनको रुपमा सम्मान गरेको बुटवल सामुदायिक वन विगत १ बर्षदेखि अस्तब्यस्त बनेको छ । वन समूहमा दुई समानान्तर समिति हुँदा कार्यालयमा ताला लाग्ने र खोल्ने प्रतिस्पर्धा जस्तो चलिरहेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १ र २ रहेको वनमा बिगत १ बर्षदेखिको विवाद बढेको हो । दुई समितिले आफू आधिकारिक भन्दै एक अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका छन् ।

वामपन्थी र कांग्रेस निकट उपभोक्ताले छुट्टाछुट्टै समिति चयन गरेका छन् । दुई समितिबीच विवाद समाधान नभएपछि जिल्ला वन कार्यालयले तेस्रो समिति बनाएपछि झन् विवाद बढेको छ ।

विवाद कहाँबाट सुरु भयो ?

गत चैत १० गते सम्पन्न १३ औं साधारणसभा तथा छैठौं अधिवेशनमा भएको विवादका कारण दुई वटा कार्यसमिति बनेका हुन् ।

अधिवेशनमा उपभोक्ताको गणपुरक संख्या (कोरम) नपुगेको भन्दै तत्कालिन अध्यक्ष माधव प्रधान पक्षले वैशाख ८ गते अधिवेशन आह्वान गर्‍यो । तर रवीन्द्र गोपाल लाकौल पक्षले सोही अधिवेशनलाई निरन्तरता दिंदै लाकौलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको घोषणा गर्‍यो ।

प्रधान पक्षले वैशाख ८ गते पुनः अधिवेशन गरेर निवर्तमान अध्यक्ष माधवप्रसाद प्रधानकै नेतृत्वमा कार्यसमिति चयन ग¥यो । उनले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने ‘बिना कुनै जानकारी, आम उपभोक्ताको हित विपरीत राजनीतिक दल र यहाँकोे वडा १ र २ का अध्यक्षहरुको दबाब र ठाडो हस्तक्षेपमा बनेको समिति हामीलाई अमान्य छ ।’

प्रधानले आफू २०७० साल जेठ १० गते ३ वर्षका लागि आफू अध्यक्षमा निर्वाचित भएको दावी गरे ।

दुईवटा समिति बनेपछि वन कार्यालयले हस्तक्षेप गरी विधान संशोधनसहितका आवश्यक प्रक्रिया मिलाउन महेन्द्रकुमार राजभण्डारीलाई संयोजक तोकेको छ । यो समितिलाई तीन महिनाको समय दिइएको छ । जिल्ला वन कार्यालयका अधिकृत भरतबाबु श्रेष्ठले केही दिनमै विवाद समाधान हुने दावी गरे ।

उपभोक्ताहरुले भने वनमाथि राजनीति भएको गुनासो गरेका छन् । स्थानीय उपभोक्ता भूमिराज पन्थी र पूर्ववडाअध्यक्ष नरेन्द्र बस्नेतले बनमा आर्थिक चलखेलका लागि सबैले आँखा गाडेको बताए । वन समूहमा ६ सय २५ उपभोक्ता सदस्य छन् ।

अदालतसम्म मुद्धा पुग्यो

वनको विवाद अहिले जिल्ला वन कार्यालय र उच्च अदालतसम्म पुगेको छ । उच्च अदालत बुटवल ईजलासले वन ऐन २०४९ अन्तर्गत जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भएकाले नियामक निकायले नै हेर्नुपर्ने भन्दै रिट उपर उत्प्रेषण जारी गर्न नपर्ने भनी आदेश दिएको छ ।

बुटवल सामुदायिक वन अन्तर्गत ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको स्थल जीतगढी किल्ला, पाल्पाली सेन राजाहरुको शितकालीन दरबार रहेको मणिमुकुन्द सेन उद्यान, सहश्रधारा, नुवाकोट गढीको केही भागलगायतका महत्वपूर्ण स्थलहरु पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment