+
+
Shares

सिरहाका सामुदायिक वन क्षेत्रबाट अनियन्त्रित उत्खनन् (तस्वीरहरू)

सुरेश राय सुरेश राय
२०८३ जेठ १४ गते १०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजारस्थित त्रिनेत्र सामुदायिक वन क्षेत्रमा अनुमति बिना बालुवा–गिट्टी उत्खनन र भण्डारण गरिएपछि स्थानीयवासी आन्दोलित भएका छन् ।
  • गोलबजार नगरपालिकाले गागान खोलाबाट उत्खनन गर्न तिरुपति कन्ट्रक्सनलाई ठेक्का दिए पनि कम्पनीले सामुदायिक वन क्षेत्रमा अवैध उत्खनन गरेको आरोप लागेको छ ।
  • डिभिजन वन कार्यालय लहानका वन अधिकृत बेचन शर्माले वन क्षेत्रभित्र बिना अनुमति सामग्री भण्डारण गर्नेलाई कानून बमोजिम कारबाही गरिने बताए ।

१४ जेठ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ स्थित त्रिनेत्र सामुदायिक वन क्षेत्रमा अनुमति विना बालुवा–गिट्टी उत्खनन् र भण्डारण गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । वन उपभोक्ता समितिको स्वीकृति नै नलिई ठेकेदार कम्पनीले वनभित्रै ग्राभेल थुपारेपछि स्थानीयले गिट्टी–बालुवा उठाउन रोक लगाएका हुन् ।

स्थानीयका अनुसार गोलबजार नगरपालिकाले वडा नं. १ र २ हुँदै बग्ने गागान खोलाबाट बालुवा–गिट्टी उत्खनन गर्न सिरहाकै धनगढीमाई नगरपालिकामा रहेको तिरुपति कन्ट्रक्सनलाई करिब ७१ लाख रुपैयाँमा ठेक्का दिएको थियो । कम्पनीले खोलाबाट सामग्री निकाल्ने अनुमति लिएको भए पनि सामुदायिक वन क्षेत्रमा चोरी पैठारी गर्दै ग्राभेल उत्खनन तथा भण्डारण गरेको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीय महेन्द्र पूर्वेका अनुसार वन उपभोक्ता समितिले पटक–पटक वन क्षेत्रमा सामग्री नराख्न आग्रह गरे पनि ठेकेदार पक्षले बेवास्ता गरेको थियो । ‘समितिका पदाधिकारीले धेरै पटक सम्झाउँदा पनि नमानेपछि गाउँले नै रोक्न बाध्य भए,’ उनले भने ।

स्थानीय सजन पूर्वेका अनुसार वन समितिलाई जानकारी नै नदिई ठूलो परिमाणमा बालुवा–गिट्टी भण्डारण गरिएको छ । स्थानीयले अवरोध गरेपछि त्यहाँ रहेका ट्याक्टर र ट्रक हतारमै हटाइएको उनको दाबी छ ।

अनियन्त्रित उत्खननका कारण वन क्षेत्रका बुट्यान नष्ट हुनुका साथै चरिचरण क्षेत्र समेत प्रभावित भएको स्थानीयवासीको गुनासो छ । ‘पहिला थोरै होला भन्ने लागेको थियो, तर वनै विनाश हुने गरी उत्खनन र वन ढाक्ने गरी गिट्टी–बालुवा थुपारिएको रहेछ,’ उनले भने ।

यता डिभिजन वन कार्यालय लहानले वन क्षेत्रभित्र अनुमति विना कुनै पनि सामग्री भण्डारण गर्न नपाइने स्पष्ट पारेको छ । डिभिजन वन अधिकृत बेचन शर्माले सामुदायिक वन समितिसँग समेत अनुमति नलिएको देखिएकाले घटनाबारे जानकारी संकलन गरी आवश्यक परे कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।

तर स्थानीयका अनुसार सोमबार दिनभर भण्डारण गरिएको बालुवा–गिट्टी ओसारपसार भइरहँदा पनि वन कार्यालय तथा सम्बन्धित निकायले कुनै सक्रियता देखाएनन् । अनियन्त्रित उत्खनन भइरहँदा समेत जनप्रतिनिधि मौन बसेको भन्दै स्थानीयले मिलेमतोको आशंका गरेका छन् । पटक–पटक जानकारी गराउँदा पनि जनप्रतिनिधि र कर्मचारीहरुले बेवास्ता गरेको उनीहरूको आरोप छ ।

सिरहाको धनगढीमाई, कर्जन्हा, गोलबजार, नरहा लगायतका स्थानमा अवैध उत्खनन् भइरहेको स्थानीयको भनाइ छ । कतिपय नगरपालिका र गाउँपालिकाले उत्खनन् गर्ने अनुमति दिए पनि मापदण्ड विपरीत उत्खनन् गर्ने गरेको स्थानीयहरु बताउँछन् । यस विषयमा पटक–पटक सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको स्थानीयको भनाइ छ ।

    

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?