Comments Add Comment

कबड्डीदेखि छक्का-पञ्जासम्मः सिक्वेलमा कति दम ?

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ रिलिज हुने वेलामा आफुलाई मुलधारका दाबी गर्ने धेरै निर्माताले नाक खुम्च्याउदै भनेका थिए ‘यस्तो फिल्मले पनि ब्यापार गर्छ ?’ दयाहाङ राइ, निश्चल बस्नेतलगायतको मुख्य भुमिका रहेको उक्त फिल्मलाई कतिपय निर्माताले स्टार बिहिन फिल्मको रुपमा चित्रित गरे ।

मुलधारका फिल्मकर्मीले नपत्याएको फिल्मले दर्शकको भने मन जित्न सफल भयो । कबड्डी हिट भएपछि निर्देशक गुरुङ आफैंले दुई वर्षअघि त्यसैको सिक्वेल बनाए ‘कबड्डी कबड्डी’ । सिक्वेल फिल्मले झन् राम्रो व्यापार गर्‍यो ।

गुरुङजस्तै धेरै निर्माता छन् जसले एउटा फिल्म हिट भएपछि त्यसैको सिक्वेल निर्माणमा अघि सरे । उनीहरुमध्ये कसैलाई सफलता हात लागेको छ त कसैलाई निराशा । हेरौं सिक्वेलले कसको साख जोगाएको रहेछ ।

नाइ नभन्नु ल

सबैभन्दा धेरै सिक्वेल बनाउने निर्देशकको श्रेय जान्छ विकास आचार्यलाई । ‘नाइ नभन्नु ल’ को पाँचौ श्रृङ्खला बनाएका आचार्य अझै चार सिक्वेल बनाउनै बाँकी रहेको बताउँछन् ।

‘नौसम्म चाँही बनाउछु । त्यसका लागि खाका कोरिसकेको छु,’ निर्देशक आचार्यले भने । ब्राण्ड चलेपछि त्यहि ब्राण्डमा फिल्म बनाउदा सुरक्षित महसुस हुने धारणा राख्ने आचार्यले एकपछि अर्को फिल्मवाट थप सफलता पाएको दाबी गरे ।

लुट

चलचित्र ‘लुट’ मार्फत निश्चल बस्नेतले नेपाली फिल्ममा उथलपुथल ल्याए । चलचित्र विकास बोर्डले सिनेमा संकटकाल लगाउने तयारी गरिरहेको वेला प्रदर्शन भएको लुटले नेपाली सिनेमा हलमा यस्तो उभार ल्यायो कि नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने दर्शक पनि सिनेमा हल धाउन थाले । मल्टिप्लेक्स हलमा नेपाली सिनेमाको प्रवेशलाई सहज बजाउन पनि यहि फिल्मले भुमिका खेल्यो ।

उनै निर्देशक बस्नेतले लुटको सिक्वेल बनाए, ‘लुट-२’ । फिल्म रिलिज नहुँदै लुट-२ मा रहेको ‘ठमेल बजार’ बोलको गीतले युट्युवका दर्शकमाझ करोड भ्युज बनाउन सफल भयो तर, लुट हेरेर भरपुर मनोरञ्जन लिएका दर्शक लुट-२ बाट भने सन्तुष्ट हुन सकेनन् । फिल्मले सुरुका केही दिनमा आक्रामक व्यापार गर्‍यो र त्यसपछि सेलायो ।

शायद

सुरज सुब्बा नाल्बो निर्देशित शायदले बक्स अफिसमा राम्रै प्रभाव पार्‍यो । मुख्य भुमिकामा प्राय नयाँ कलाकार अनुबन्धित गरिएको उक्त चलचित्रले विशेषगरी युवा पुस्ताका दर्शकलाई लोभ्याएको थियो ।

सोही शीर्षकमा बनेको अर्को फिल्म ‘शायद-२’ ले भने दर्शकलाई सन्तुष्टि दिन सकेन । पुष्पराज न्यौपाने निर्देशित शायद-२ मा पनि मुख्य भुमिकामा नयाँ अनुहार थिए ।

बाटोमुनीको फूल

सुरज सुब्बा नाल्बोकै निर्देशन रहेको ‘बाटो मुनीको फूल’ वर्षकै कमजोर चलचित्रको रुपमा स्थापित भयो । यसकुमार, रेखा थापालगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका थिए उक्त चलचित्रमा ।

सोही शीर्षकमा बनेको ‘बाटो मुनीको फूल-२’ले भने दर्शकलाई राहत दियो । दिलीप रायमाझी ऋचा शर्मालगायतले यसमा अभिनय गरेका थिए ।

प्रेमगीत

सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेमगीत’ सफल चलचित्रको रुपमा चिनिन्छ । पूजा शर्मा, प्रदिप खड्का, सरोज खनाल, रुपा रानालगायतका कलाकार अभिनित चलचित्रलाई संगीतले पनि निकै बल पुर्‍याएको थियो ।

हालै रिलिज भएको ‘प्रेमगीत-२’ ले पनि हलहरुमा राम्रो भिड जुटाउन सफल भएको छ । रामशरण पाठकको निर्देशन रहेको उक्त फिल्ममा प्रदिप खड्का र अश्लेशा ठकुरीले मुख्य भुमिका निर्वाह गरेका छन् ।

ए मेरो हजुर र छक्क पञ्जा

यी दुबै चलचित्रले आफ्नो समयमा तहल्का मच्चाएका थिए । स्व. शिब रेग्मी निर्देशित ए मेरो हजुरमा झरना थापा र स्व. श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका निर्वाह गरेका थिए । झरना सोही चलचित्रवाट सफल नायिकाको रुपमा स्थापित भएकी थिइन् ।

अहिले उनै नायिकाको निर्देशनमा ‘ए मेरो हजुर-२’ निर्माण भएको छ । हेर्न बाँकी छ, सिक्वेलले कस्तो ब्यापार गर्ने हो ।

दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा’ लाई नेपालमा अहिलेसम्मकै धेरै कमाइ गर्ने चलचित्रको रुपमा चिनिन्छ । उनै निर्देशकले बनाएको छक्का पञ्जा-२ को पनि ब्यापार र्हेन बाँकी नै छ । चलचित्रको एउटा गीत पछिल्लो समय चर्चा र विवादमा रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment