२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
अप्रेसनपछि आराम गरिरहेका नेता भट्टराईलाई भेट्न प्रचण्ड शनिबार दिउँसो उनकै निवासमा पुगेका थिए । झण्डै २ घण्टासम्म चलेको छलफलमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।
भेटमा माओवादी अध्यक्ष प्रचण्डले पूर्वमाओवादी र अग्रगामी धाराहरुबीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गरेका छन् ।
देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने भन्दै उनले सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको बताए ।
नयाँ शक्तिका नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रस्ताव गरे ।
दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4