Comments Add Comment

संसदमा बाँदर प्रवृत्ति र बिहार भन्दा आपत्ति

३२ साउन, काठमाडौं । व्यवस्थापिका–संसद्को बैठक बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति आपत्ति जनाएका छन् ।

नेकपा एमालेका सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत गरेका सार्वजनिक महत्वको प्रस्तावको बचाउ गर्दै बाँदर प्रवृत्तिका मानिसले मात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन् भन्ने आशयका अभिव्यक्ति दिइन् ।

लगतै सांसद रामहरि खतिवडाले तत्कालै उठेर आपत्ति जनाए । उनले भने, ‘बाँदर भन्ने शब्द संसदीय मर्यादा विपरीत भएकाले त्यसप्रति मेरो आपत्ति छ, त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग गर्दछु ।’

सभामुखको भूमिकामा रहेका कांग्रेसका सांसद नारायणबहादुर कार्कीले उक्त शब्दलाई रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

त्यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले तराईको कुरा गर्दा बिहारसँग तुलना गरेर हेर्ने पार्टीले अहिले तराई–मधेसको डुबानको विषयमा सार्वजनिक महत्वको प्रस्ताव ल्याएको भनेका थिए । लगत्तै एमाले सांसद तथा जरुरी सार्वजनिक महत्वका प्रस्तावक भीम रावलले चौधरीको भनाइप्रति आपत्ति प्रकट गर्दै आफू सम्बद्ध पार्टीले तराईका विषयमा कहिले पनि त्यस्तो नभनेको र यस्ता किसिमको प्रचारसमेत नगर्न आग्रह गरे ।

उनले भने, ‘तराई मधेसप्रति आफ्नो पार्टीले कहिल्यै बिहारसँग जोडेर नहेरेको तथा नेपालको सार्वभौम, स्वतन्त्रता र अखण्डताप्रति आफ्नो पार्टी सदैव सचेत रहेकाले अघिल्ला सांसदबाट तराई भनेको बिहार भन्ने अभिव्यक्ति एमाले भनेको भन्ने भनाइप्रति आपत्ति छ, यस्तो ‘कु’ प्रचार बन्द गरियोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment