+
+
Shares

प्रचण्डले बाबुरामको समर्थन गरेपछि ‘१५ भाइ’ हिस्स !

'बाबुराम देशलाई चाहिने नेता हो, कमजोर नबनाउनोस्'

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २ गते १७:१७

२ भदौ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्न खुट्टा उचालेका पाँचजना नेताहरु बिहीबार बिहानै प्रचण्डनिवास लाजिम्पाट पुगे । उनीहरु बाबुरामविरुद्ध कुरा लगाउँदै प्रचण्डलाई खुशी बनाउने उद्देश्यले त्यहाँ पुगेका थिए ।

प्रचण्डले ब्याण्डमिन्टनसमेत राम्रसँग खेल्न नभ्याउँदै त्यहाँ पुग्ने नयाँ शक्तिका ‘१५ भाइ समूह’का नेताहरुमा देवेन्द्र पौडेल, वामदेव क्षेत्री, मुक्ति प्रधान, महेन्द्र पासवान र पासाङ शेर्पा थिए । उनीहरुले सुरुमा नयाँशक्तिबाट हामी कोको माओवादी केन्द्रमा र्फकँदैछौं भन्ने सूची प्रचण्डलाई सुनाए ।

केन्द्रबाट कोको र्फकँदैछौं भन्ने सुनाइसकेपछि बामदेव क्षेत्री र पासाङ शेर्पाले नयाँशक्तिबाट माओवादी केन्द्रमा र्फकन लागेका जिल्ला संयोजक र जिल्लास्तरीय नेताहरुको विवरण प्रचण्डलाई सुनाउन थाले । ‘पहिलो चरणमा नयाँशक्ति छाडेर माओवादी केन्द्रमा र्फकर्नेहरुमा २५ जिल्लाका संयोजकहरु पक्कापक्की भइसकेको छ’ प्रचण्डलाई ब्रिफिङ गर्दै बामदेव क्षेत्रीले भने, ‘२५ देखि ३५ जिल्लाका संयोजकहरु माओवादी केन्द्रमा र्फकन्छन्, बाबुरामजीको केन्द्रमा मात्रै होइन, जिल्लास्तरमा पनि बिजोग हुने स्थिति छ ।’

माओवादी अयक्ष प्रचण्डले चुपचाप उनीहरुका कुरा सुनिरहेका थिए । प्रचण्डका साथमा माओवादी केन्द्रका नेता मातृका यादव पनि थिए ।

यत्तिकैमा प्रचण्डले एकाएक बाबुराम भट्टराईको बचाउ गर्न थाले । स्रोतका अनुसार प्रचण्डले पौडेल समूहलाई भने- ‘तपाईहरु आउनोस्, तर यसरी जिल्ला समितिका मानिसहरु नल्याउनुहोला ।’

प्रचण्डले यस्तो भनिरहँदा पौडेल समूहका नेताहरु छाँगाबाट खसेजस्तै भए । प्रचण्डलाई खुशी बनाउन जिल्ला कमिटीको पनि विवरण टिपेर पुगेका उनीहरुले प्रचण्डको मनोविज्ञान बुझ्न सकेनन् ।

ट्वाँ परेका नयाँ शक्तिका विद्रोही नेताहरुलाई प्रचण्डले थपे- ‘बाबुरामजी देशलाई चाहिने नेता हो, उहाँलाई यति साह्रो कमजोर देखाउने काम नगर्नोस् ।’

प्रचण्डलाई भेटेर फर्केका एक नेताले अनलाइनखबरसँग भने-‘हामी त जिल्लाजिल्लाबाट बाबुरामका मान्छेहरु प्रचण्डतिर ल्याउन लागेको भन्दै लामो सूची बनाएर लाजिम्पाट पुगेका थियौं, उनका कुरा सुनेपछि छक्क पर्‍यौं र हाँस्यौं ।’

लाजिम्पाटबाट निस्केपछि पौडेल समूहका नेताहरुले आपसमा टिप्पणी गरे-‘प्रचण्डले किन यति साह्रो बाबुरामको माया गरेका होलान् ? माथिमाथि उनीहरु यसरी मिल्दारहेछन्, यस्तो हो भने एकैठाउँमा बसे भइहाल्यो नि, किन अलग भएका होलान् ?’

प्रचण्ड निवासबाट अलमलमा परेर फर्केका पौडेल समूहका नेताहरुले शनिबार यसबारे कार्यदलमा थप छलफल गर्ने भएका छन् । माओवादी केन्द्रसँग पार्टी एकता गर्न र पदीय पोजिसन मिलाउन ‘१५ भाइ समूह’ले वामदेव क्षेत्री, पासाङ शेर्पा, महेन्द्र पासवान, सुशीला श्रीपाइली र अमरध्वज लामा सम्मिलित कार्यदल बनाएका छन् ।

माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मात्रिका यादव कार्यदलमा छन् ।

कार्यदलले आपसी टुंगो लगाएपछि यसैसाता माओवादी केन्द्रमा विलय हुने पौडेल समूहका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

आखिर प्रचण्डले किन नयाँशक्तिका जिल्ला कमिटी सदस्यहरुलाई पार्टी प्रवेशमा रुची नदेखाएका होलान् ? कतै आफ्नै जिल्ला पार्टीको व्यवस्थापन हनु नसकेकाले उनले जिल्लाका नेताहरु थप्न नखोजेका हुन् कि ? यसबारेमा आफूहरुले केही अनुमानै लगाउन नसकेको विद्रोही नयाँशक्तिका नेताको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?