Comments Add Comment

मधेसको चुनावः कांग्रेस र माओवादी मिल्छन् कि बाझ्छन् ?

एमालेलाई कोक्यायो संविधान संशोधन

समाचार टिप्पणी

१० भदौ, काठमाडौं । आगामी असोज २ गते हुन लागेको दुई नम्बर प्रदेशका ८ जिल्लाको चुनावका लागि प्रमुख दलहरुवीच हानाथाप सुरु भएको छ । सत्ता साझेदारका रुपमा रहेका कांग्रेस र माओवादीका वीचमा समेत मधेसमा प्रतिस्पर्धा हुने देखिएको छ ।

पहिलो र दोस्रो चरणको चुनावमा ५० सीटमा अगाडि रहेको एमालेलाई पछाडि पारेर आफू पहिलो दल बन्नुपर्ने बाध्यतामा छ नेपाली कांग्रेस । र, यसका लागि उसलाई माओवादीको ठूलो साथ र सहयोग चाहिएको छ । अन्यथा एक्लै लड्दा कांग्रेस दोस्रो दलमै खुम्चिने अवस्थामा छ ।

उता एमालेले चाहिँ पहिलो दलको स्थानलाई कायमै राख्ने मात्रै होइन, दुई नम्बर प्रदेशमा पनि सबै भन्दा बढी स्थान जितेर त्यहाँ पनि पहिलो दल नै बन्ने रणनीति बनाइरहेको छ । कांग्रेस र मधेसवादीको प्रभावक्षेत्र मानिने मधेसमा आफूलाई पहिलो बनाउन सकियो भने प्रतिष्ठा बढ्ने एमालेको सोचाइ छ ।

मधेस केन्दि्रत दलहरु राष्ट्रिय जनता पार्टी, उपेन्द्य्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले पनि दुई नम्बर प्रदेशको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

यस्तो अवस्थामा दुई नम्बर प्रदेशबाट माओवादी केन्द्रको अपेक्षा के हो ? सो पार्टीका नेताहरुका अनुसार पहिलो र दोस्रो चुनावमा तेस्रो दल बनेको माओवादीले कांग्रेस र एमालेको भन्दा धेरै टाढा रहेको आफ्नो दुरीलाई घटाउने अवसरका रुपमा मधेसको चुनावलाई हेरेको छ ।
साथै विगतको चुनावमा प्राप्त गरेको मतलाई जोगाउँदै मधेसमा दोस्रो शक्ति बन्ने माओवादीको रणनीति रहेको नेताहरु बताउँछन् । कांग्रेस पहिलो बन्ने अवस्थामा मोर्चा नबनाई लडेका मधेसवादी दल र एमालेलाई जितेर दोस्रो स्थान हासिल गर्ने माओवादीको लक्ष रहेको नेताहरु बताउँछन् ।

मोर्चाबन्दीको बाध्यता

दुई नम्बर प्रदेशको चुनावमा कुनै न कुनै दलसँग तालमेल गरेर जानुपर्ने बाध्यतामा नेपाली कांग्रेस छ । तर, सत्ता पक्षवीच तालमेल भयो भने एमाले पनि कसै न कसैसँग तालमेलका लागि दबावमा पर्नेछ, यही भएर उसले राजपासँग पनि तालमेल गर्न सकिन्छ भनिरहेको छ ।

तर, हालै संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव एमालेका लागि कोक्याउने तातो पिँडालुजस्तै बन्न पुगेको छ । राजपालाई फकाइरहेको एमालेले संविधान संशोधनको विपक्षमा मतदान गरिसकेको छ, जसले गर्दा एमालेसँग सहकार्य गर्न मधेसी जनअधिकार फोरम र राजपालाई सजिलो छैन, दुई नम्बर प्रदेशमा ।

संविधान संशोधन संसदमा टेबल नभएको र एमालेले विपक्षमा भोटिङ नगरेको अवस्थामा चाहिँ एमालेसँग मधेस केन्दि्रत दलहरुले मोर्चा बनाउन सक्ने सम्भावना हुन्थ्यो ।

एक्लै चुनाव लड्नुका नाफा-घाटा

अघिल्लो चुनावमा मोरङमा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम र एमालेवीच तालमेल भएको थियो । तर, कोर मधेसमा एमालेसँग यसरी तालमेल गर्न लोकतान्त्रिक फोरमका कार्यकर्ता पनि डराउँछन् । किनभने केपी ओलीसँग सहकार्य गर्दा मधेसको सेन्टिमेन्टल भोट आफूलाई आउँदैन भन्ने मधेसवादीहरुमा डर देखिन्छ ।

कतिपय मानिसहरुको तर्क के पनि छ भने एमालेले कांग्रेस, माओवादी र मधेसी दलहरुलाई बेग्लाबेग्लै राखेर चुनाव लड्ने परिस्थिति बनायो भने त्यो उसका लागि फाइदाजनक हुनेछ । र, एक्लै लड्दाखेरि एमाले, पहिलो वा दोस्रो दल बन्ने सम्भावना बढी हुन्छ ।

तर, माओवादीको हकमा भने केही अप्ठ्यारो अवस्था छ । एमालेलाई पहिलो बन्न नदिने नाममा उसले कांग्रेसलाई बोक्ने हो भने मधेसमा माओवादीले आफ्नो शक्ति देखाउने अवसर गुमाउनेछ । यो अवस्थामा माओवादीलाई फाइदा हुने गरी कांग्रेसले त्याग गर्ने स्थिति किन छैन भने उसले एमालेलाई जितेर पहिलो दल बन्ने लक्ष राखेको छ ।

माओवादीले कांग्रेसको आलोचना नगरी मधेसमा आफूलाई श्रेष्ठ बनाउने कल्पना गर्न सकिँदैन । त्यसैले यो चुनावमा माओवादीसामु दुईवटा प्रश्न छन्ः आफ्नै बलमा चुनाव लडेर पार्टीलाई बलियो बनाउने या एमालेको रीसले कांग्रेसलाई काँधमा

बोकेर हिँड्ने ?

यसरी कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरुका आ-आफ्नै रणनीति र पोजिसनका कारण तेस्रो चरणको स्थानीय चुनाव निकै रोचक र घोचक हुने देखिन्छ ।

यस्तो पनि भन्न सकिन्छ कि यो निर्वाचन अघिल्ला चरणमा सम्पन्न भएका दुईवटा चुनावको फाइनल गेम हो । एउटा महानगरसहित हुन लागिरहेको चुनावमा वीरगञ्ज महानगरपालिका सबैको प्रतिष्ठाको केन्द्रविन्दु हुने निश्चित छ । त्यसैगरी ऐतिहासिक नगरी जनकपुर पनि यसपालिको चुनावमा प्रतिस्पर्धाको केन्द्र बन्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment