Comments Add Comment

एक वर्षमा विद्युत् चुहावट ३ प्रतिशत घटाउने प्राधिकरणको योजना

'विद्युत कम खपत गर्ने पङ्खा र पानी तान्ने मोटरको प्रवर्द्धन'


२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्षमा विद्युत् चुहावट तीन प्रतिशतले घटाउने जानकारी दिएका छन् । यसरी तीन प्रतिशत विद्युत घटाउनका लागि आफ्ना मातहतका कार्यालयहरुलाई निर्देशन दिएको समेत बताएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यो वर्षमा पनि विद्युत् चुहावट कम गर्नका लागि कामहरु समेत सुरु भएको जानकारी दिएका छन् ।

गत आर्थिक वर्षसम्म २५.७९ सम्म चुहावट थियो । तर कुलमानले जिम्मेवारी सम्हालेसँगै ३ प्रतिशत घटाएर अहिले २२.९ मा सीमित गरेका छन् । यसमा पनि ३ प्रतिशतले घटाउँदै २० प्रतिशतमा सीमित गर्ने उनको योजना छ ।

‘गत आर्थिक वर्षमा २५.७९ बाट २२.९ प्रतिशतमा घटाएका छौँ । अब विद्युत चुहावट २० प्रतिशतमा झार्ने हाम्रो योजना छ, सोहि अनुरुप हामीले शाखा कार्यालयलाई समेत निर्देशन दिएका र्छाैं,’ उनले भने ।

विशेषगरी पूर्वी तराई क्षेत्रमा विद्युत चुहावट बढी छ । उनले अब प्राधिकरणले जलाशययुक्त र पिकिङ आयोजनाहरुको निर्माणमा जोड दिने बताएका छन् ।

साथै देशभित्र पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारण लाइनहरु निर्माणलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।पिकको समयमा हुने मागलाई व्यवस्थापन गर्नका लागि रुपा बेगनास पम्प स्टोरेज आयोजना निर्माण गर्ने योजना रहेको पनि बताए । यसका लागि प्राधिकरणले अहिलेे सम्भाव्यता अध्ययनको काम अघि बढाएको छ ।

विद्युत गाडीको प्रयोगलाई प्रोत्साहन गरी पेट्रोलियम आयातलाई कम गर्न विभिन्न ठाउँमा ब्याट्री चार्जिङ स्टेसन स्थापना गर्ने समेत प्राधिकरणले योजना बनाएको छ । विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने योजना भने प्राधिकरण आफैंले सुरु गर्दैछ ।

आफू मातहतको कार्यालय एनईए इन्जिनियरिङमा उनले विद्युतीय सवारी साधन खरिद गर्ने प्रक्रिया नै अघि बढाएका छन् ।

आगामी १० वर्षभित्र करिब १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्ने गरी मुलुकका प्रमुख शहरी तथा औद्योगिक क्षेत्रहरुमा वितरण प्रणाली विस्तार गने लागेको पनि उनले जानकारी दिए ।

विद्युत माग व्यवस्थापन गर्न ऊर्जा दक्षता भएका लीड चिम, पंखा, क्यापासिटर बैंक, पानी तान्ने मोटर लगायतका उपकरणहरुको पनि प्रवर्द्धन गर्ने प्राधिकरणको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment