Comments Add Comment

माथिल्लो तामाकोशीको भौतिक प्रगति झण्डै ९८ प्रतिशत

आगामी वर्षदेखि विद्युत उत्पादन शुरू गर्ने लक्ष्य

३ चैत, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आगामी आर्थिक वर्षभित्र उत्पादन थालिने भएको छ । ४५६ मेगावाटको यो आयोजनाको हालसम्म ९७ दशमलव ९ प्रतिशत भौतिक प्रगति भएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

आयोजनाको ‘भर्टिकल पेनस्टोक शाफ्ट’मा स्टील लाइनिङ गर्ने काममा ढिलाइ हुँदा यसै वर्ष उत्पादन शुरु गर्ने लक्ष्य पूरा हुन नसकेको उर्जा मन्त्री वर्षामान मान पुनले बताए ।

त्यसका लागि हाल छनोट भइसकेकाले नयाँ व्यवस्थापन गरी आव २०७६/७७ भित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । आइतबार मन्त्रालयको एक वर्षे प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पुनले आयोजनाको हाइड्रोमेकानिकलतर्फको काममा ढिलाई हुँदा एक वर्षपछि धकेलिएको बताए ।

लक्ष्यअनुसार गत पुषमा नै तामाकोशीको पहिलो युनिट सञ्चालनमा आइसक्नुपथ्र्यो । । गएको बैशाखमै यो आयोजनाका ६ वटै युनिट सञ्चालन गरिसक्ने योजना थियो ।

तामाकोशी हाइड्रोपावर कम्पनीका अनुसार अब अगामी असारमा मात्र टनेलमा पानी खसाल्न सुरु गरिनेछ र आउँदो कात्तिकबाट आयोजनाले व्यवसायिक उत्पादन सुरु गर्नेछ । ०७३ साल असारमै बिजुली उत्पादनको लक्ष्य राखेर निर्माण थालिएको यो आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण थप ३ वर्ष पर धकेलियो ।

२०६७ साल भदौदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण शुरु भएको ४५६ मेगावाटको आयोजनाको निर्माणमा ढिलाई हुँदा लागतसमेत बढ्दै गएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको आयोजनामा नेपाल सरकारसहित कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोषलगायत देशका ठूला संस्थाको ऋण लगानी छ ।

यस्तै ती संस्थामा कार्यरत कर्मचारीले रकम जम्मा गर्ने सञ्चयकर्ता र देशभरका सर्वसाधारण र प्रभावित जिल्लावासीले समेत लगानी गर्न पाउने सेयरका कारण प्रायः नेपाली परिवारको प्रत्यक्ष अप्रत्यक्ष लगानी आयोजनामा रहनेछ ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, राष्ट्रिय बिमा संस्थानले दुई अर्ब र नेपाल सरकारले ११ अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment