Comments Add Comment

नक्कली अन्तःशुल्क कारोबारीविरुद्ध ३४ करोड धरौटी माग गर्दै मुद्दा

एक महिना वितिसक्दा पनि भएन छिनोफानो

२५ असोज, काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकर कारोबारमा संलग्न भएको अभियोगमा आन्तरिक राजश्व विभाग वीरगञ्ज कार्यालयले पाँच जनाविरुद्ध झण्डै ३४ करोड रुपैयाँ धरौटी माग गर्दै मुद्दा चलाएको छ ।

गत भदौ १८ गते वीरगञ्ज भन्सार कार्यालयले जाँचपासका क्रममा ८६ हजार ४ सय ७० थान मदिरामा प्रयोग हुने नक्कली अन्तः शुल्क स्टीकर बरामद गरेको थियो । हरिओम ट्रेडिङ प्राइभेट लिमिटेडका नाममा आयात भएको करीव छ करोड रुपैयाँ मूल्य बराबरका ती स्टिकर भन्सार कार्यालयले बरामद गरेको थियो ।

सोही नक्कली स्टिकर कारोबारमा संलग्न रहेको भन्दै कार्यालयले गत १७ गते मुद्दा दर्ता गरेको हो । कारोबारमा संलग्न रहेको अभियोगमा प्रकाश घिमिरे, वीरेन्द्रकुमार महतो, कुलप्रसाद राजभण्डारी, विनोद गुप्ता र राजकुमार भण्डारीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख तारा भुसालले अनलाइनखबरलाई बताए ।

अभियुक्त सबैसँगै वयान सकिएको उनको भनाइ छ ।

कार्यालय प्रमुख भुसालका अनुसार अभियुक्त पाँचै जनाविरुद्ध जनही ६ करोड ७८ लाख रुपैयाँका दरले ३३ करोड ९० लाख रुपैयाँ धरौटी माग गरिएको छ । यसमा संलग्न विनोद गुप्ता भने सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरण आदेशमा छुटेलगत्तै सरकारी लिखत किर्ते गरेको अभियोगमा पुनः पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

विभागका अनुसार नक्कली अन्तःशुल्कको यस्तो मुद्दा सम्बन्धित कार्यालयमा दर्ता गरेर त्यहीँबाट छिनोफानो गरिन्छ । सोही अनुसार विभागले नक्कली स्टिकर कारोबारमा संलग्नविरुद्ध अनुसन्धान अघि बढाएको कार्यालयका प्रमुख भुसालले बताए । त्यसमा चित्त नबुझे प्रशासकीय पुनरावलोकनमा जान सकिने व्यवस्था छ ।

अभियुक्तलाई थुनामा राखेर अनुसन्धान भइरहेको कार्यालयले बताएको छ । नक्कली स्टिकर कारोबारमा हिमालयन कार्गो, प्रकाश रोडवेज र सनसाइन कार्गो संलग्न रहेको देखिएको विभागका उपमहानिर्देशक मुकुन्दप्रसाद निरौलाले बताए ।

विभागसँग पर्याप्त अन्तःशुल्क स्टिकर भए पनि बजारमा अभाव रहेको हल्ला फिँजाएर नक्कली स्टिकर भित्र्याइएको थियो । विभागले इन्डोनेसियाबाट अन्तःशुल्क खरिद गर्छ । सबै प्रकारमा मदिरा, चुरोट तथा सुर्ति र गुट्खामा अन्तःशुल्क अनिवार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment