Comments Add Comment

वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य, यस वर्ष पूरा होला ?

आठ महिनामा ५,६६,२०० ले गरे नेपाल भ्रमण


१७ कात्तिक, काठमाडौं । सन् २०१७ का आठ महिनामा गत वर्षको तुलनामा एक लाख ४२ हजार दुई सय बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको यही समयमा भन्दा २५ दशमलव ११ प्रतिशतले बढी हो ।

यो तथ्यांक गत अगस्टसम्मको हो । सेप्टेम्बरदेखि डिसेम्बरसम्मको तथ्यांक आउँदा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य नजिक पुग्ने आकलन व्यवसायीहरुको छ ।

पर्यटन बोर्डका अनुसार सन् २०१७ को आठ महिनामा नेपाल भ्रमण गरेका विदेशी नागरिकको संख्या पाँच लाख ६६ हजार दुई सय छ । गत वर्ष यही समयमा चार लाख २४ हजार पर्यटक आएका थिए । सन् २०१६ भरिमा सात लाख ४१ हजार जनाले नेपाल भ्रमण गरेका थिए ।

पर्यटक आगमन डिसेम्बरसम्मै निरन्तर रहने उनको भनाइ छ । यो साना हिमाल चढ्ने सिजन भएकाले पनि विदेशी नागरिकको नेपाल आगमन बढ्दो क्रममा देखिएको हो ।

होटेल अक्युपेन्सी ८० प्रतिशत

पर्यटक आगामन २५ प्रतिशतले वृद्धि हुँदा अहिले देशभरका होटेलको अन्युपेन्सी ८० प्रतिशत छ । अगस्टदेखि नोभेम्बर मध्यसम्मको अवस्था हेर्दा अक्युपेन्सी दर कायम रहने अपेक्षा व्यवसायीको छ ।

‘अहिले बुकिङ उच्च मात्रामा छ,’ होटेल व्यवसायी संघ (हान)का सीईओ प्रवेश अर्याल भन्छन् ।

देशभरमा चारतारे होटेल दुई वटा छन् भने तीनतारे १२, दुईतारे २२, एकतारे १८ र तारारहित एक सय ६५ वटा छन् ।

व्यवसायी भन्छन्– १० लाखको लक्ष्य नै कम भयो, वार्षिक २५ लाखको लक्ष्य लिइनु पर्छ

पर्यटकस्तरका अन्य होटेल ६ सय २५ वटा छन् । र, दुई सय २६ वटा होमस्टे सञ्चालनमा छन् । यी सबैमा गरी २२ हजार ६ सय ६१ वटा कोठा छन् ।

केही नयाँ होटेल निर्माणाधीन छन् । तिनको अक्युपेन्सीका लागि पनि पर्यटक संख्या अझ बढ्नु आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।

उकालो लागे पर्वतारोही

गत वर्षको तुलनामा पर्वतारोही संख्यामा पनि उल्लेख्य सुधार देखिएको पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ बताउँछन् ।

उनका अनुसार पर्वतारोही आउने क्रम नोभेम्बरसम्म चल्छ । यस वर्षको यकिन आँकडा भने आइसकेको छैन । नोभेम्बर अन्त्यमा मात्र तथ्यांक आउने गुरुङको भनाइ छ ।

‘गत वर्षको तुलनामा करिब १० प्रतिशत आरोही बढेका छन्,’ गुरुङ भन्छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालका अनुसार गुणस्तरीय पर्यटकको आगमनमा भने खासै वृद्धि हुन सकेको छैन । ‘संख्यात्मक वृद्धि मात्र देखिन्छ । ‘गुणस्तर केलाउँदा खासै सुधार हुन सकेको छैन,’ उनी भन्छन् ।

भारतीय र चिनियाँ बढी

भारत र चीनका नागरिक नै नेपाली पर्यटन उद्योगका मुख्य खम्बा देखिएका छन् । दुवै छिमेकी मुलुकका पर्यटकलाई लक्षित गर्दै व्यवसायीहरुले होटेलमा लगानी थपिरहेका छन् ।

गत १५ जुलाईसम्ममा भारतीय पर्यटक सबैभन्दा बढी थिए भने चिनियाँ दोस्रो नम्बरमा । सन् २०१५ र ०१६ मा पनि भारतीय र चिनियाँ पर्यटकको संख्या नै सबैभन्दा बढी थियो । तेस्रो र चौथो नम्बरमा श्रीलंका र अमेरिकी पर्यटक रहने गरेका छन् ।

टानका अध्यक्ष दाहालको भनाइमा सरकारले पर्यटक बढाउन प्रचारप्रसारलाई व्यापकता दिन सकेको छैन । ‘अहिले जति पर्यटक आएका छन्, निजी क्षेत्रको पहल र प्रयासबाटै सम्भव भएको छ,’ उनी भन्छन् ।

१२ वैशाख ०७२ को विनासकारी भूकम्पका कारण पर्यटन क्षेत्र पनि थला परेको थियो । तर, विस्तारै संख्यात्मक वृद्धि देखिन थालेको छ ।

होटेलको अक्युपेन्सी ८० प्रतिशत, पर्वतारोही संख्यामा पनि १० प्रतिशतले सुधार

सन् २०१२ मा हालसम्मकै सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक आएका थिए । सन् १९९८ मा ‘भिजिट नेपाल’ अभियान सञ्चालन गरियो । त्यस वर्षका कुल पर्यटक भने चार लाख ६३ हजार ६ सय ८४ मात्र थिए ।

सन् २०२० सम्ममा वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।

व्यवसायी भन्छन्– १० लाख पनि कम

यस वर्ष नेपाल भ्रमण गर्ने विदेशी नागरिकको संख्या १० लाख पुग्दा पनि त्यसलाई अत्यधिक भन्न नसकिने व्यवसायी बताउँछन् । बर्सेनि २५ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य हुनुपर्ने नेपाल ट्राभल एन्ड टुरका अध्यक्ष मधुसुदन आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘१० लाखकै सीमामा खुम्चेर बस्नु हुँदैन, यो न्यून संख्या हो ।’

पूर्वाधार निर्माणमा सरकारले तीव्रता दिन नसकेकाले लक्ष्य र आगमन बढ्न नसकेको आचार्य बताउँछन् । सडक र विमानस्थल निर्माणमा भइरहेको ढिलाइले उल्लेख्य उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ छ ।

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमता वृद्धि हुन सकेको छैन । पर्यटकीय गन्तव्य पुग्न सहयोगी सडकहरुको पनि दुरवस्था छ । यी दुई पूर्वाधारमा मात्र सुधार आउन सके विदेशी नागरिकको नेपाल आगमन र बसाइ बढाउन सकिने व्यवसायीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment