८ मंसिर, काठमाडौं । बेमौसमी तरकारी खेतीको प्रचलन बढ्दै जाँदा रोग, किरा लाग्न नदिन विषादी प्रयोग पनि व्यापक छ । त्यस्ता विषादिले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको विज्ञहरु बताउँछन् ।
कृषि विकास मन्त्रालयअन्तर्गत बाली संरक्षण निर्देशनालयको तथ्यांक हेरौं । हरेक वर्ष संकलन हुने तरकारीका नमूनामध्ये १० प्रतिशत खान अयोग्य हुन्छन् । बाँकी ९० प्रतिशत खान योग्य त हुन्छन् तर ती अर्गानिक हुँदैनन् ।
उपभोग गर्नै नमिल्ने गरी विषादिको प्रयोग शरीरमा गम्भिर रोग भित्र्याउने कारक बनिरहेको छ ।
विषादिको अवशेष गोलभेंडामा बढी
कालिमाटीस्थित विषादि अवशेष द्रुत विश्लेषण एकाइका अनुसार गोलभेंडामा सबैभन्दा बढी विषादिको प्रयोग हुने गरेको छ ।
गोलभेंडा भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि हो । उक्त एकाइका अधिकृत मानबहादुर क्षत्रीका अनुसार गोलभेंडापछि काउलीमा बढी विषादिको अवशेष भेटिने गरेको छ ।
काठमाडौंमा असार ०७१ देखि तरकारीमा विषादीको मात्रा परीक्षण गर्न थालिएको हो । उक्त एकाइले छड्के जाँचमार्फत् संकलित नमूना आफ्नो प्रयोगशालामा परीक्षण गर्छ ।
गोलभेंडाका १४ वटा नमूनामा मापदण्डभन्दा बढी विषादिको अवशेष भेटिएको छ । काउलीका १० वटा नमूना पनि खान अयोग्य रहेको पुष्टी भएको छ ।
९९ प्रतिशत तरकारी खानयोग्य नै भेटिन्छन् तर एक प्रतिशतमै भेटिने विषको अधिक मात्रालाई पनि सामान्य मान्नु हुँदैन
संकलित नमूनालाई परीक्षणका क्रममा हरियो, पहेंलो र रातो गरी तीन वटामा वर्गीकरण गरिन्छ । ३५ प्रतिशतसम्म रुकावट प्रतिशत (इन्हिबिसन पर्सेन्टेज) भएका तरकारी सोझै भान्छामा लगेर पकाउन र खान मिल्छ ।
४५ प्रतिशत नाघेका तरकारी भने मानव स्वास्थ्यका लागि घातक हुन्छन् । त्यस्तो नमूना भेटिए निर्देशनालयले कालिमाटी बजार विकास समितिमार्फत् तत्काल नियन्त्रणमा लिएर नष्ट गर्छ । यस्ता तरकारीलाई रातो समूहमा राखिन्छ ।
३५ देखि ४५ प्रतिशत रुकावट सम्भावना भएका तरकारीलाई पहेंलो वर्गमा राखिन्छ । काठमाडौंमा अहिलेसम्म रुकावटको सम्भावना ३५ प्रतिशत नाघेका टमाटरका आठ वटा नमूना भेटिएका छन् । अन्य धेरै तरकारी पनि यही अवस्थामा भेटिने गरेका छन् ।
३५ प्रतिशत रुकावट सम्भावना भएका तरकारी विषादि प्रयोगका हिसावले तत्कालै पकाउन र खान मिल्दैन । त्यस्ता तरकारी र फलफूललाई २/३ दिन राखेर र राम्रोसँग पखालेर मात्रै प्रयोग गर्न मिल्छ ।
आलुमा अधिक विष
धेरै विषादि भेटिने तरकारीमा तेस्रो नम्बरमा आउँछ, आलु । अहिलेसम्म आलुका १० वटा नमूनामा अत्यधिक विषादि प्रयोग भएको पाइएको छ ।
गोलभेंडाजस्तै भान्छामा अधिक प्रयोग हुने तरकारी आलु हो । र, ती दुवै ‘रेड जोन’ मा पर्नुले उपभोक्ता कसरी विषाक्त तरकारी उपभोग गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।
आलुपछि सिमी र खुर्सानीमा विषादिका अवशेष अधिक पाइएको छ । सिमीका १३ वटा नमूना तत्काल प्रयोग गर्न नसकिने गरी ‘रेड जोन’मा परेका छन् ।
बोडीका चार नमूनामा पनि खान नमिल्ने गरी नै विषादि भेटिएको छ । पछिल्लो समयमा तितेकरेलामा पनि बढी विषादिको प्रयोग पाइएको छ । गत आर्थिक वर्षमा करेलामा तीन वटा नमूना ‘रेड जोन’मा परेका थिए ।
लौका, काँक्रो, भेंडेखुर्सानीलगायत तरकारी पनि अस्वस्थकर पाइएका छन् ।
‘९९ प्रतिशत तरकारी खानयोग्य नै भेटिन्छन् । तर, एक प्रतिशतमै भेटिने विषको अधिक मात्रालाई पनि सामान्य मान्नु हुँदैन,’ क्षत्री भन्छन्, ‘विष त आखिर विष नै हो ।’
भारतीय तरकारी बढी खतरनाक
काठमाडौंमा आउने सब्जीमध्ये सबैभन्दा बढी विषादि भारतबाट भित्रिने तरकारीमा भेटिने गरेको छ । अहिलेसम्म भारतमा उत्पादित नौ वटा नमूनामा अधिक विषादि भेटिएको छ ।
त्यसपछि काभ्रेको उत्पादन बढी विषाक्त भेटिने गरेको छ । हालसम्म काभ्रेका आठ वटा नमूनामा धेरै मात्रामा विषादिको अवशेष पाइएको छ ।
काठमाडौंकै उत्पादन पनि विषाक्त पाइने गरेको छ । काठमाडौंमा उत्पादित तरकारीका पाँच वटा नमूनामा कैफियत भेटिएको छ । धादिङ, चितवन, बारा, पर्सा र सर्लाहीका तरकारी पनि त्यति स्वस्थकर भेटिएका छैनन् ।
सबैभन्दा धेरै विषादियुक्त तरकारी माघ महिनामा उपत्यकामा भित्रिने गरेको देखिन्छ । त्यसपछि साउन र मंसिरमा बजारमा पाइने तरकारीमा विषादिको अवशेष बढी पाइन्छ ।
बढ्दो प्रयोग
असार ०७१ मा कालिमाटी आउनेमध्ये १३ दशमलव ९० प्रतिशत तरकारीमा अत्यधिक विषादि भेटिएको थियो ।
तर, त्यस्ता तरकारी नियन्त्रण लिएर नष्ट गर्न थालिएपछि किसानले विषादि प्रयोग घटाएका थिए । आव ०७१/७२ मा चार वटा नमूनामा मात्रै अधिक विषादि भेटिएकामा आव ०७३/७४मा बढेर १० वटामा अत्यधिक प्रयोग पाइएको थियो ।
उक्त आवमा अन्य २२ वटा नमूनामा समस्या देखिएको थियो । चालु आवका चार महिनामा दुई वटा नमूनामा अधिक विषादि पाइएको छ ।
रोगकिरा नियन्त्रणका लागि प्रयोग हुने अर्गानोफोस्फेड र कार्बानेटको प्रयोग बढी देखिएको अधिकृत क्षत्रीले जानकारी दिए ।
बजारमा अर्गानोफोस्फेड समूहका करिब ९० किसिमका विषादि किन्न पाइन्छ । कार्बानेट समूहका ३० भन्दा बढी विषादि नेपालमा उपलब्ध छन् ।
तर, किरा नियन्त्रणका लागि प्रयोग हुने विषादि सीधै मानव शरीरमा पुगिरहेका छन् ।
प्रतिक्रिया 4