Comments Add Comment

नेपाली संगीतलाई विश्वसामु चिनाउँदै सुमन उदय

१२ डिसेम्बर, युएई । एयर एरेबियामा एयर होस्टेसको काम गरिरहेकी बहिनीको आग्रह र राम्रो कामको अफर पाएर आजभन्दा दश वर्षअघि पाल्पा तानसेनबाट युएई आएका सुमन उदयलाई संगीतको मोहमा यति चुर्लुम्म डुबिएला भन्ने पूर्वानुमान नै थिएन ।

आफ्नो स्वाभाविक रुचि र समकालीन मित्रहरुसँग लहैलहैमा गीत गाउँदा गाउँदै उनले नेपालमा रहँदा संगीतको क्षेत्रमा केही गोरेटो भने कोरिसकेकै थिए ।

कर्मको रेखाले युएई पुर्याए पनि उनले जागिरबाट बचेको समय, आफ्नो रुचि, साथीभाइको संगत अनि संगीतप्रतिको लगावलाई मलजल गरिरहेे ।

निरन्तर साधना गरिरहेे संगीतको । नेपाली गीतसंगीतलाई विश्वव्यापी बनाउन त्यो बेलादेखि आजपर्यन्त सुमन लागिरेहकै छन् ।

साप्ताहिक दुई दिन छुट्टी हुने जागिर, संगीतमै भविष्य खोजी गरिरहेका मित्रहरुको संगतको सम्मिश्रणले उदय साँच्चिीकै उदाउँदै गएका छन् । उनीमात्र होइन, उनीसँगै उदाउँदै गएको छ प्रथा ब्यान्ड ।

सप्ताहन्तको छुट्टी होस, या अन्य नेपाली पर्व । बर्थ डे पार्टी होस् या सानोटिनो आउटिङ । सांगीतिक वातावरण एकाएक सिर्जना हुन्छ ।

बजिहाल्छ गीतार अनि जमिहाल्छ सांगीतिक माहोल । सानो केही बहाना पायो कि यो ब्यान्डका मेम्बरहरु जुटिहाल्छन् संगीतकर्ममा । कोही किबोर्ड समाउँछन्, कोही बेसमा, कसैले ड्रम सम्माल्छन् । भोकलमा छैदै छन् सुमन ।

सुमनको दक्षता भनेको भोकल हो । विशेष गरी रक संगीतमा विशेष दक्षता राख्ने उदय र उनको समूहले युएईका धेरै ठूलठूला स्टेजहरुमा प्रस्तुति दिएको छ । बलिउडका हस्तीहरुले प्रस्तुति दिने स्टेजहरुमा उनीहरु प्रस्तुतिका लागि पुगेका हुन्छन् । जहाँ नेपाली दर्शकहरुको उपस्थिति र पहुँच लगभग असम्भव हुन्छ ।

सुमनको कार्यक्रममा दर्शकहरू ।

बलिउडका चर्चित कलाकार शंकर महादेवन, निखिल डसुजा, आरडीबी जस्ता कलाकारहरुले प्रस्तुति दिने युएईको वल्र्ड ट्रेड सेन्टर, अबुधाबीको एडनोक हल, ग्लोबल भिलेज जस्ता अडिटोरियमहरुमा सुमनको समूहले प्रस्तुति दिने गरेको छ । नेपाली आयोजकहरुको क्षमता र पहुँचभन्दा बाहिरका ती स्टेजहरुमा सुमनको समूहले ओपनिङ प्रस्तुति दिइरहेको हुन्छ ।

उक्त कार्यक्रमहरुमा भारतीय दर्शकहरुको सहभागिता उल्लेख्य हुन्छ भने युरोपियन तथा अमेरिकी राष्ट्रहरुबाट रक संगीतका पारखीहरु पनि पुगेका हुन्छन् । ती मञ्चहरुका हिन्दी, अंग्रेजी गीतहरु सुमनले प्रस्तुत गरिरहन्छन् भने सन्दर्भ अनुसार नेपाली रक गीतहरु पनि प्रसस्तै गाइरहेका हुन्छन् ।
युएईका नेपाली कलाकारहरुले सित्तैमा प्रस्तुति दिन पनि उपयुक्त मञ्च नपाएको वर्तमान अवस्थामा सुमनको ब्यान्ड भने एउटा गीत प्रस्तुत गरेर करिब २ हजार पाँच सय देखि ५ हजार दिराम्स सम्म (६० हजारदेखि एक लाख २० हजार नेपाली रुपैयाँ) पारिश्रमिक दिने गरेको छ । जुन नेपालका ख्यातिप्राप्त कलाकारको औसत कमाइभन्दा उल्लेख्य मानिन्छ ।

त्यति मात्र होइन, सुमनले युएईका प्राय चर्चित एफएमहरुमा नेपाली तथा हिन्दी गीतहरु समेत प्रस्तुत गरिसकेका छन् । युएईमा संघर्षरत धेरै नेपाली कलाकारले गर्न नसकेका कामहरु सुमनले युएईमा गरिरहेका छन तर पनि गुमनाम छन् उनी । सन् २०११ मा यहाँको चर्चित रेडियो स्टेसन सिटी एफएममा सन् २०११ मा सुमनले पहिलो पल्ट आफ्नो प्रस्तुति राखेको स्मरण गर्छन् ।

नेपाली पप तथा रक बेसका अधिकांश ब्यान्डलाई युएई ल्याउने वातावरण कसैले सबैभन्दा धेरै तयार पारेको छ भने त्यो व्यक्ति पनि सुमन उदय नै हुन् ।

उनको प्रयत्नमा नेपालका चर्चित ब्यान्डहरु १९७४ एडी, कबवेभ, कुटुम्ब, रबिन एन्ड रिभोलुसन, मन्त्र, मुक्ति एन्ड रिभाइभल्स, द स्याडो, द एज जस्ता ब्यान्डहरुले विविन्न समयमा युएईमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।

त्यत्तिमात्र होइन, युएईमै नाम चलेका बलिउडका ब्यान्डहरुसँग टाइअप गरी युएईका भिआइपी मञ्चहरुका प्रस्तुति दिइरहेको सुमनले नेपाली रक संगीतलाई विश्वव्यापी बनाउँदै लगेको छ ।

यद्यपि, सुमन गुमनाम छन् । नेपालीहरुले साप्ताहिक रुपमा सानातिना मञ्चहरुमा आयोजना गर्ने कार्यक्रमहरुमा उनी बिरलै देखिन्छन् । उनले प्रस्तुति दिने स्थलमा नेपालीहरु विरलै पुग्छन् । उनका आफ्नै दर्शकहरु छन् अनि छन् आफ्नै मान्यता, रुचि र सर्तहरु । प्रस्तुतिका लागि उच्चकोटीको प्राविधिक साउन्ड सिस्टम तथा अत्याधुनिक लाइट हुनुपर्ने सर्त पहिलो हुन्छ उनको ।

रक संगीतको कोलाहलमा सम्पूर्णता खोज्ने दर्शकहरु नै उनका लक्षित समूह हुन् । यद्यपि, रक संगीतमै रमेका उदयले पछिल्लोपटक ‘म त केवल नेपाली’ शीर्षकमा सार्वजनिक गरेका छन् । रक संगीतमार्फत राष्ट्रपे्रम दर्साउँदै नेपाली दर्शकहरुसमक्ष उदाउने प्रयास गर्दै छन् सुमन उदय ।

संगीत भनेको विश्वको भाषा भए पनि आफू नेपाली भएका कारण नेपाल र नेपालीकै माया लाग्ने उदयको भनाइ छ । विश्वका मानिसलाई नेपाल, नेपाली र नेपाली गीत चिनाउने अभियानमा रहेका सुमनको आगामी सांगीतिक यात्रा नेपाली दर्शक केन्द्रित हुने अनलाइनखबरसँगको भेटमा उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment