Comments Add Comment

प्रदेश ४ : एमाले ३०, कांग्रेस १७ र माओवादीले १४ मिनेट बोल्ने

आज गरियो पूर्वाभ्यास

२१ माघ, पोखरा । आइतबार प्रदेश ४ को प्रदेशसभा सभाहलमा बाहिर सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको थियो ।

मर्यादापालक हलभित्र सुरक्षा व्यवस्था मिलाउन तम्तयार थिए । जनाउ घन्टी बजेपछि सांसदहरु लाइनमा बसेर हाजिरी गर्दै संसद भवनभित्र छिरे ।

मर्यादापालकले सभामुखलाई ड्यासमा पुर्‍याएपछि सबै सांसदलले उठेर सम्मान व्यक्त गरे । बैठकको कार्यसूचीअनुसार राष्ट्रिय गान बजाउनेदेखि शहिदको सम्मानमा मौन धारणा गर्ने कार्य भएको छ ।

सभामुखले प्रदेश प्रमुखबाट आएको पत्र वाचन गरेर सुनाए । त्यसैअनुरुप बैठकका अन्य कार्यसूची अगाडि बढे ।

खासमा प्रदेश ४ को प्रदेशसभा सोमबार विहान ११ बजे बस्दैछ । सोमबारको बैठक कसरी सुरु हुन्छ, त्यसका प्रक्रियाहरु के के हुन्छन् भन्ने सहजीकरणका लागि आइतबार नै पूर्वाभ्यास गरियो ।

‘अघिल्लो दिन नै संसदको अभ्यास गर्‍यौं । मैले सभामुखको भूमिका निभाएँ,’ ज्ोष्ठ सदस्य जनकलाल श्रेष्ठले भने, ‘सोमबारको बैठकका सहजरुपमा अगाडि बढाउन आइतबारै संसदीय अभ्यास गरेका हौं ।’

बैठक कसरी अगाडि बढ्छ र सांसदको भूमिका के के हुन्छ भन्ने अभ्यासका लागि अघिल्लो दिन नै सांसदलाई सभास्थल बोलाइएको बैठक सञ्चालनका लागि आएका विज्ञ कर्मचारीका संयोजक जीवराज बुढाथोकीले बताए ।

‘सोमबारको बैठकको अभ्यास आइतबार नै गर्दा बैठकमै बसेको अनुभव गर्‍यौं,’ प्रदेश सांसद कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘बैठकको अभ्याससँगै सोमबार बोल्ने सांसदको नामसमेत संसद सचिवालयलाई उपलब्ध गराएका छौं ।’

बोल्ने सांसदलाई समयको छिनोफानो

सोमबारको बैठकमा बोल्ने सांसदलाई समय तोकिएको छ । ठूलो दल एमालेलाई सबैभन्दा बढी ३० मिनेट प्रदान गरिएको छ । एमालेबाट सांसद पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र मित्रकुमारी गुरुङले भनाइ राख्नेछन् ।

दोस्रो दल कांग्रेसलाई १७ मिनेट बोल्ने समय दिइएको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली, दोबाटे बिक र ललिता गुरुङले सभामुखलाई नाम टिपाएका छन् ।

तेस्रो दल माओवादीलाई १४ मिनेट बोल्ने समय तोकिएको छ । माओबादीबाट नेत्र अधिकारी, हरिबहादुर चुमान र गायत्री गुरुङले संसदमा मन्तव्य राख्नेछन् । साना दल नयाँ शक्ति र राष्ट्रिय जनमोर्चालाई ५/५ मिनेट दिइएको छ ।

त्यसमा नयाँ शक्तिका हरिशरण आचार्य र जनमोर्चाका कृष्ण थापाले भनाइ राख्नेछन् ।

सभामुख र उपसभामुख चयनअघि अध्यक्ष मण्डलमा बस्ने सदस्यका लागि दलले संसद सचिवालयलाई नाम उपलब्ध गराएका छन् । अध्यक्ष मण्डलमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका १/१ जना सदस्य रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment