Comments Add Comment

पहिलोचोटि ससुराली जाँदा रक्सी कोशेली लगेँ: सत्यराज आचार्य

ब्राम्हण परिवारमा जन्मेका सत्यराज आचार्य मगर परिवारका ज्वाइर्ं हुन् । प्रेमविवाह गरेका उनले दुवै परिवारबाट जातीय अवरोध झेल्नु परेन ।

उनका बा-आमा र सासु-ससुरा दुबै सबै समुदायलाई उत्तिकै सम्मान गर्छन् । ससुरालीमा उनको सासु, ससुरा, साला-साली छन् । हाँसो-मजाक धेरै गर्ने भएकाले ससुराली जाँदा कहिल्यै गुम्सिएर बस्नु नपरेको अनुभव गरेका छन् उनले । सुनौं उनको ससुराली अनुभवः

मेरो घर र ससुरालीको दुरी जम्मा पाँच मिनेट हो । घर महालक्ष्मीस्थान, ससुराली जाउलाखेल । म आचार्य ब्राम्मण, ससुराली मगर ।

मेरो ससुरा बा धार्मिक हुनुहुन्छ । घरमै मन्दिर छ । बिहान उठेर पूजा नगरी पानी पनि खानुहुन्न । धोती लगाएर पूजा गर्न बस्नुहुन्छ । संख-घण्ट बजाएर पूजा गर्नुहुन्छ ।

वास्तवमा भन्ने हो भने ससुरालीमा म चाहीँ मगर जस्तो लाग्छु । मेरो ससुराली चाँहि ब्राम्हण जस्ता छन् । किनकी म पुजा पाठमा खास समय दिन्न ।

सासुआमा र मेरो धेरै कुरा मिल्छ । मलाई जस्तै मेरो सासुआमालाई पनि जोक गरिरहनु पर्छ । खुब हँसाउनुहुन्छ । निकै रमाइलो हुनुहुन्छ । यो कुरा मलाई पहिल्यै अनिता -श्रीमती)ले भनेकी थिइन् । ससुरा बा अलि गम्भिर हुनुहुन्छ । कुरा सुन्नहुन्छ विश्लेषण गर्नुहुन्छ । धेरै बोल्नुहुन्न ।

हाम्रो प्रेम विवाह हो । विवाह हुनु भन्दा ६ महिना अगाडी एउटा फेशन शो भएको थियो । त्यहाँ अनिताको पनि र्‍याम्पमा प्रस्तुति थियो । त्यही क्रममा सासु-ससुरासँग भेट भएको थियो । हामीले अन्नपूर्ण होटलमा सँगै खाना खाएर फर्किएका थियौं ।

जब विवाह भयो पहिलोपटक ससुराली जाँदा नयाँ ठाउँमा जाँदैछु जस्तो अनुभव भएन । लाज मान्ने त मेरो स्वभावै छैन । म जहाँ गए पनि खाने र बोल्ने विषयमा कहिल्यै लाज मान्दिनँ ।

पहिलोचोटि ससुराली जाँदा मैले एक बोतल रक्सी कोसेली लिएर गएको थिएँ । उहाँहरुको घरमा त नहुने कुरै भएन । मामा ससुराली लगायत अन्य केही आफन्त पनि आउनु भएको रहेछ । उहाँहरुले सगुन खाउँ भन्दै ल्याउनु भो तर, म मदिरा पिउँदिन भन्ने कुरा उहाँहरुलाई थाहा रहेनछ । ‘अचेलको जमानामा पनि यस्तो केटो’ भनेर प्रशंसा गर्नु भयो ।

सबैभन्दा धेरै ससुराली जाने ज्वाईको रुपमा चिनिन्छु होला म । अहिले म हरेक दिन ससुराली जान्छु । ससुराली जानुको कारण अनिताको अफिस बिहान नौ बजे सुरु हुन्छ । छोराको स्कुल बस साढे आठमा आइपुग्छ । छोरालाई स्कुलका लागि रेडी गराउने जिम्मा मेरै हुन्छ । बिहान घरबाट स्कुल जान्छ तर, बेलुका बसले मामाघरमा ल्याएर छोडिदिन्छ । किनकी मेरो आमा ७० वर्षको हुनु र भने बुबा ७५ । हामी दिउसो हुन्नौ । बा आमालाई गार्‍हो नहोस् भनेर छोरालाई मामाघरमा छाड्न लाउने गरेको छु । ससुरा बा र आमा अलि भर्खरको हुनुहुन्छ । त्यहि कारण छोरालाई बेलुमा मामाघरमै पुर्‍याइदिन्छु । म काम सकेर बेलुका ससुराली जान्छु र छोरालाई घर लिएर जान्छु ।

म ससुराली गएको कतिपटक त श्रीमतीले पनि थाहा पाउदिनन् र मेरो आमा ८ बजे सुतिसक्नु हुन्छ । यदि ८ बजेभन्दा ढिला भयो भने सासुआमालाई फोन गरेर भन्छु ‘मलाई आज यस्तो खान मन लागेको छ, बनाइदिनु है ।’ ससुरालीमै भात खाएर घर जान्छु ।

ससुरालीमा सबैभन्दा धेरै केही समयअघि बिरामी भएको बेला दुई महिना बसेँ । ससुरालीबाट अस्पताल नजिक थियो । त्यसकारण त्यहीँ बसेँ । दशैंमा ससुराली बस्न नभ्याए पनि मामा ससुराली धुलिखेल पर्छ, त्यहाँ चाँही एक रात बसेकै हुन्छु ।

दक्षिणाको कुरा गर्दा दशैंको त के कुरा गर्नु, धेरै आउँछ । अरु सामान्य औंसी, पूणिर्मा, सक्रान्तीमा पनि हजार आएकै हुन्छ । विवाहमा एउटा परिवारलाई चाहिने सबै सामान आएको थियो । टिभी, दराज, सोफालगायत सबै सामान । वासिङ मेसिन त अहिलेसम्म चलाएकै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment