Comments Add Comment

‘अर्काकी श्रीमती लिएर मरिगए जान्न’

निर्मल शर्मासँग फन्टुस कुराकानी

निर्मल शर्मा हाँस्य कला क्षेत्रका परिचित नाम हुन् । यद्यपि उनी कमेडियन जस्ता लाग्दैनन् ।

हाँस्य टेलिश्रृङ्खला ‘तीतोसत्य’ बाट चर्चामा आएका शर्मा अहिले ‘टेन टु फाइभ’ सिरियलको निर्देशनमा ब्यस्त छन् । बाक्लो ज्यानका शर्मा ‘गैडा’ को नामले परिचित छन् । विज्ञापन र सेल्युल्वाइड चलचित्रको समेत निर्देशन गरेका शर्मालाई अनलाइनखबरले केही फन्टुश प्रश्न गरेको थियो । यद्यपि उनले भलाद्मी जवाफ दिए । यस्तो छ प्रश्नोत्तर

तपाई प्रधानमन्त्री बन्नु भयो भने उप-प्रधानमन्त्री कसलाई बनाउने ?

आफ्नै लायककी श्रीमती हुँदाहुँदै अरुलाई बनाउने कुरै भएन नी ।

बाटोमा हिँड्दा हजारको नोट आचीमा लट्पटिएको भेट्नुभो भने ?

टिप्दिनँ । अहिलेको जमानामा के आउँछ र हजारले ? झन् आचीमा लट्पटिएको भएपछि त छुँदै छुन्न । नाक थुन्दै हिँड्छु ।

अर्काको श्रीमतीलाई लिएर साताब्यापी चन्द्रमा भ्रमण गर्ने प्योकज तपाईलाई चिट्ठा पर्‍यो भने ?

अर्काको श्रीमती लिएर मरिगए जान्न । आफ्नै श्रीमती लान पाउनुपर्छ भनेर आमरण अनसन बस्छु ।

कम्युनिष्ट सरकार आएको छ, रुन प्रतिबन्ध लाग्यो भने ?

सार्वजनिक ठाउँमा पो रुन पाइदैन । ढोका थुनेर रुन कसले रोक्छ ? दिनभरी काममा विजी हुन्थेँ, राति घरमा ढोका थुनेर ड्वाँ ड्वाँ रुन्थेँ ।

कोमल वलीलाई मिल्दो वर को हुनसक्छ ?

पहिला त राजेश हमाल थिए तर प्याक भैसके । कोमल वली एकदमै भर्सटायल र डाइनामिक छिन् क्षमतावान पनि । यदि विवाह नभएको भए गगन थापा उनलाई सुहाउथ्यो ।

तपाईले देखेको सबैभन्दा हाँसो उठ्दो मान्छे ?

शिवहरी पौडेल र सन्दिप क्षेत्री । उहाँहरुप्रति ब्यङ्ग्य गरेको हैन । सार्‍है गज्जब हुनुहुन्छ उहाँहरु । हँसाएरै मार्नुहुन्छ ।

मरेर भूत हुनु भयो भने कोकोलाई तर्साउनुहुन्छ ?

मैले तर्साउनुपपर्ने त हाम्रै देश नेताहरु हो । तर, के तर्सेलान् र ? भुतभन्दा उनीहरु नै ज्याद्रा छन् ।

पशुपतिका बाँदर र तपाईमा के फरक छ ?

पशुपतिका बाँदरले कहिल्यै इन्टरनेट चलाउदैन । म अत्याधिक धेरै नेट चलाउछु ।

बाथरुममा नुहाउँदा नुहाउँदै पानी सकियो भने ?

त्यस्तो त धेरै भएको छ । पानी सकियो भनेर जोड-जोडले चिच्याउँछु । त्यसपछि बाल्टीमा ल्याइदिएको पानीले नुहाउछु । कहिलेकाहीँ त टबेल बेरेर आफै आँखा मिच्दै ट्याङ्कीमा पुगेको पनि छु ।

तपाईले बर्थ डे पार्टी दिनु भो, तर, पर्स हराएछ भने ?

औठी, सिक्री, मोबाइल के-के धरौटी राख्न मिल्ने छ, राखेर भए पनि पार्टी दिइछोड्छु ।

ऋषी धमलासँग एक हप्ता एउटा टापुमा बस्नु पर्‍यो भने ?

ऋषि धमला मेरा मिल्ने साथी हुन् । खासै समस्या पर्दैन । खानेकुरा चाहीँ प्रशस्त चाहिन्छ । एक हप्ता संगै बसियो भने उनले मेरो दिमाग खान्छन्, म उनको खानेकुरा खान्छु ।

केटीहरुले सेल्फी खिच्दा किन मुख चुच्चो पारेका होलान् ?

पहिला पहिला काठमाडौको खोलाको किनारमा प्रशस्त सुँगुर पाल्ने चलन हुन्थ्यो । अहिले ती जग्गा आनाको ३०/४० लाखमा बिक्री हुन थाले । सुँगुर पाल्ने चलन हरायो । सायद सुँगुरकोथुतुनो मानिसहरुले नबिर्सिउन् भन्नका लागि होला ।

सबैभन्दा दिक्क लाग्ने प्रश्न ?

सेक्सका बारेमा सोधिएका प्रश्न सुन्दा दिक्क लाग्छ ।

भगवान अगाडि प्रकट भए भने के वरदान माग्नुहुन्छ ?

सबैभन्दा पहिला त आफ्नै सुख-चैन माग्थेँ । दोस्रो, यो देशमा चुनाव कहिल्यै गर्न नपर्ने वातावरण होस् भन्थेँ । ताकि हरेक मान्छे विकासमै केन्दि्रत होउन् ।

तेस्रो कुरा, हामी असाध्यै बिद्रोही र नेगेटिभ छौ । जसको पनि विरोध गर्छौं । यो प्रवृत्ति हटाएर सकारात्मक बन्ने प्रेरणा मिलोस भनेर वर माग्थेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment