Comments Add Comment

विमान दुर्घटनाअघि पाइलटले के भन्छन् ? यस्ता छन् ‘ब्ल्याक बक्स’ का रेकर्ड

सुन्तले रंगकाे डिब्बाको नाम ब्ल्याक बक्स राख्न मिडियाको भूमिका


विमानको अन्तिम दुई घण्टाको आवाज ब्ल्याक बक्समा रेकर्ड हुन्छ । त्यहाँ इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । र, त्यसबाट के थाहा हुन्छ भने, दुर्घटनाका बेला जहाजमा कस्तो माहौल थियो । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ?

खासगरी ब्ल्याक बक्सलाई सुरक्षाको दृष्टिले विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो मानिने धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन ।

यो जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । आगो लागेको विमानमा मात्रै नभएर समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।

सुन्तले रंगको ब्ल्याक बक्स !

‘ब्ल्याक बक्स’ कालो रंगको भएर भनिएको होइन । बरु यो बाकसको रंग चाहिँ कालो नभएर सुन्तले हुन्छ । सुन्तले रंगको डिब्बाको नाम ब्ल्याक बक्स राख्नमा पत्रकारहरुको भूमिका छ ।

तर, मिडियामा यसको नामाकरण ब्ल्याक बक्सका रुपमा हुन थालेपछि यसले यही नामबाट अन्तरराष्ट्रिय रुपमा चर्चा पाएको हो । एउटा बैठकमा एकजना पत्रकारले ‘दिस इज अ वण्डरफूल ब्ल्याक बक्स’ भनेपछि यसको नाम मिडियामा ‘ब्ल्याक बक्स’का रुपमा चर्चामा आयो र सुन्तले रंगको डिब्बालाई ब्ल्याक बक्सको नामले चिन्न थालियो ।

दोस्रो विश्वयुद्ध अगावैदेखि विमानमा भ्वाइस रेकर्डर राख्ने प्रविधिको अनुसन्धान र प्रयोग हुन थालेको हो । दोस्रो विश्वयुद्धका बेला यसलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन थालियो । र, सन् १९६७ यता आइकाओले अन्तरराष्ट्रिय उडान भर्ने विमानलाई यसलाई अनिवार्य शर्तका रुपमा लिन थाल्यो ।

ब्ल्याक बक्समा दुई वटा रेकर्डर हुन्छन्, एउटा एफडीआर र अर्को सीभीआर । एफडीआर भनेको फ्लाइट डाटा रेकर्डर हो, जसले विमानको उडानसम्बन्धी डाटा रेकर्ड डिभाइसको भूमिका खेल्छ भने सीभीआर भनेको कक्पिट भ्वाइस रेकर्डर हो, जसले विमान चालकहरुको पछिल्लो हिस्ट्री एवं आवाजलाई रेकर्ड गर्छ ।

ब्ल्याक बक्समा रेकर्ड भएको आवाज सुखद हुने कुरै भएन । त्यो आवाज पक्कैपनि दुःखलाग्दो नै हुन्छ ।

विश्वका विभिन्न ठाउँमा विमान दुर्घटना हुँदा के कस्ता आवाजहरु रेकर्ड भए ? मृत्युसँग साक्षात्कार गरिरहँदा पाइलटको मुखबाट कस्तो आवाज निस्कन्छ होला ? मनमा के कुरा खेल्छ होला ? यसबारे यहाँ हामीले विभिन्न वेबसाइटहरुबाट संकलन गरिएका केही भ्वाइस रेकर्डहरु प्रस्तुत गरेका छौंः

७ मे १९६४

प्यासिफिक एयरलाइन्स ७७३ मा एक प्यासेन्जरले दुई पाइलटलाई गोली हानेर मारे । साथै उनी स्वंम ककपिटमा पेस्तोल लिएर उभिए । केही समयपछि विमान क्यालिफोर्निया नजिकको पहाडमा जोतियो ।

उक्त विमानको ब्ल्याक बक्समा रेकर्ड भएको आवाज यस्तो थियो- ‘स्पिकरलाई गोली लागेको छ । मैले गोली ठोकें । म सहयोग गर्दैछु ।’

५ जुलाई १९७०

एयर क्यानडाको उडान संख्या ६२१ पाइलटको गल्तीले ओन्टारियो एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो । त्यसमा १०९ यात्रु सवार थिए । उनीहरु कोही पनि बाँचेनन् ।

उक्त विमानको ब्ल्याक बक्समा रेकर्ड भएको अन्तिम शब्द थियो- ‘पिट…सरी ।’

२५ सेप्टेम्बर १९७८

प्यासिफिक साउथवेस्ट एयरलाइन्स १८२ सेन डिएगो एयरपोर्टमाथि एक निजी जहाजमाथि बजारिन पुग्यो । त्यसमा यात्रा गरिरहेका १४४ जना यात्रु मरे ।

उक्त विमानको व्ल्याक बक्समा रेकर्ड भएको अन्तिम आवाज थियो- ‘आमा ….आई लभ यू ।’

२८ नोभेम्बर १९७९

एयर न्युजिल्यान्ड ९०१ जहाज खराब मौसमका कारण माउन्ट इरेबसमा ठोक्कियो । उक्त विमानको ब्ल्याक बक्समा रेकर्ड भएको अन्तिम शब्द थियो- ‘खासमा, म सही हालतमा छैन, हैन ?’

१३ जनवरी १९८२

पाइलटको गल्तीले एयर फ्लोरिडा विमान वासिङटनको पोटोमैक नदीमाथि बनेको पुलमा ठोक्कियो । र, पानीमा खस्यो । त्यहाँ यात्रा गरिरहेका ७४ जना मानिस मरे । त्यस जहाजको ब्ल्याक बक्समा रेकर्ड भएको आवाज थियो- ‘हामी तल झर्दैछौ…मलाई थाहा छ ।’

८ जुन १९८२

ब्राजिलमा उत्रने समयमा फ्लाइट १६८ जहाज पहाडमा ठोक्कियो । त्यसमा यात्रा गरिरहेका १३७ जनाको मृत्यु भयो ।

त्यहाँको ब्ल्याक बक्समा रेकर्ड भएको अन्तिम आवाज थियो- ‘के..के भयो ? कुनै पहाड देखिँदैछ ..हैन ?’

२२ अक्टोबर १९८६

मिडिया कम्पनी डब्ल्यूएनबीसीको हेलिकप्टर न्युयोर्कमा हडसन नदीमा खस्यो । त्यस दुर्घटनामा रेडियो ट्राफिक रिपोर्टर जेन डार्नेकरको मृत्यु भयो । त्यसमा रेकर्ड भएको अन्तिम शब्द थियो- ‘हामी पानीमा ठोक्किँदैछौं …पानीमा …..पानीमा ।’

आइतबार त्रिभुवन विमानस्थलमा दुर्घटना भएको युएस बंगला विमानको ब्ल्याक बक्समा के रेकर्ड भएको होला ? पक्कै पनि अनुसन्धानपछि त्यसको खुलासा होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment