Comments Add Comment

प्रचण्डमा एकताप्रति लचकता छ, अरु कुरा खोजेका छैनन् : ईश्वर पोखरेल

२८ चैत, काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेल एमाले-माओवादी पार्टी एकता संयोजन समितिका सदस्य पनि हुन् ।

पार्टी एकता प्रक्रियामा शुुरुदेखि संलग्न पोखरेलकै नेतृत्वमा दुई पार्टीले चुनावमा सिट बाँडफाँट गरेका थिए ।

पछिल्लो समय पार्टी एकता प्रक्रिया अन्यौलमा परेको छ । के बैशाख ९ मै पार्टी एकता सम्भव छ ? रक्षामन्त्री समेत रहेका पोखरेलसँग गरिएको कुराकानीः

एमाले माओवादी एकतामा केही समस्या आएको हो ? पछिल्ला अभिव्यक्ति र बैठकहरु स्थगनले त्यही संकेत गरेका हुन् ?

एकतामा अब कुनै समस्या छैनन् । हामीले धेरै चरण पूरा गरेर अब केन्द्रीय कमिटी एकीकरणको मोडमा पुगेका छौं । संगठनको क्षेत्रमा कसरी एकता गर्ने भन्नेबारे हामीले मोटामोटी सहमति गरिसकेका छौं । राजनीतिक दस्तावेज पनि तयार भइसकेको छ । केही प्रतिवेदनका कुरा टुंगो लगाउन संयोजन समिति बैठक बस्नेछ ।

प्रस्तावनामा जनयुद्ध राख्ने र चुनाव चिहृन सूर्य राख्ने आ आफ्ना अडानले समस्या थपेको हो कि अरु केही छन् ?

औपचारिक निर्णय नहुँदासम्म आआफ्नो दृष्टिकोणहरु आउँछन् । तर, यो समाधान हुनै नसक्ने विवाद होइन । माओवादी एउटा धारसँग प्रभावित हुँदै आयो, उसले एकखालको इतिहास र लिगेसी छ । एमाले एउटा ऐतिहासिक प्रवाहबाट आएको छ ।

पुराना लिगेसीको पक्षमा उभिनु र निरन्तरता दिन खोज्नु स्वभाविक हो । तर, माओवादी शान्ति प्रक्रिया हुँदै बहुदलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने बाटोमा आयो, एमालेले जबजको अभ्यासबाट प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने भनेर आफूलाई स्थापित गरेको हो । यसमा त कुरा मिलिसक्यो, अब सानातिना प्राविधिक विषयमा अल्झिदैनौं । यहाँ हार वा जितको कुरा अब छैन ।

तर माओवादीले जनयुद्ध गरेको यथार्थ पनि स्वीकार गर्न तपाईहरुले चाहनुभएन भन्ने आरोप छ नि ?

हामी यसमा के भन्छौं भने बिगतमा हामीबीच मतभिन्नता थिए, त्यसैले हामी मिलेनौं । दुवैतिरका नेता कार्यकर्ताले के बुझ्नुपर्छ भने हिजो हाम्रो विचार, बाटो र विश्लेषण मिलेको थिएन । आज हामीबीच सबै कुरा मिलेको छ ।

त्यसैले हिजो नमिलेका कुरा आज सम्भिmसम्झी मिल्दैन कि भन्न जरुरी छैन । हामी अतीतमूखी भएर होइन, भविष्यमुखी भएर काम गर्नुपर्छ । पार्टी एकता अहिले यही स्पिरिटमा अघि बढेको छ । कुनै सन्देह नराखे हुन्छ ।

अनि चुनाव चिहृन सूर्य चाहिँ तपाईहरुको बटमलाइन हो ?

चुनाव चिहृनमा पनि ठूलो समस्या हुँदैन । आमरुपमा जनअनुमोदित कुरा के हो, त्यसमा जानुपर्छ ।

कसको जित वा हार भनेर हेर्नुहुन्न । हामी पार्टी एकता गर्दैछौं भने नयाँ पार्टीको चुनाव चिहृन जनताको बीचमा सहज हुने स्थापित भएको खालको हुन्छ । त्यसका लागि सूर्य चिहृनमा जनता अभ्यस्त भएकाले हामीले त्यसो भनेको हो ।

निर्वाचनमा कस्तो चिहृन लिएर जाने भन्दा धेरै विकल्प आउन सक्छ । तर, हाँगामा बसेको चरो बनाउने कि हँसिया हथौडाभित्र अरु केही भन्ने हो भने अलि जटिल हुन्छ । त्यसैले हिजो कसको चिन्ह थियो भनेर हेर्ने होइन, नयाँ पार्टीको लागि जनताले सहज लिने चिहृन कुन हुन्छ भनेर हेर्नुपर्छ । त्यसैले यो विषय समस्यामा आउँदैन ।

एमालेका नेताहरु सूर्य चिहृनमा त प्रचण्ड यसअघि नै सहमत भएको पनि भन्छन्, त्यस्तै हो ?

प्रचण्ड पहिले सहमत हुनुभएकै हो । दुवै पार्टीका अध्यक्षले हस्ताक्षर गरेर सूर्य चिहृनमा चुनाव लड्ने भनेको हो । उहाँ किन पछि हट्नुभयो पछि कुनै दिन आउला तर, अहिले सूर्य चिहृनको विकल्प खोजिन्न ।

बाहिर विवाद चुनाव चिहृन र जनयुद्ध शब्दमा देखाइए पनि भित्र अरुनै कुरा छन् कि ?

मनोविज्ञानको पाटो पनि हुनसक्छ । माले माक्र्सवादी मिल्दा पनि यस्तै भएको थियो । हामीले पार्टीको नाम लेख्ने बेला नेकपा मा र ले भन्ने नाम राख्यौं । हामी माले वालाले ‘र’ सानो लेख्ने वा कहिलेकाहीँ र छाड्ने गरेका थियौं ।

मार्क्सवादीबाट आएका साथीहरुले लौ ‘र’ छाड्यो भनेर हल्ला गर्ने काम पनि भयो । यो चाहिँ मनोविज्ञान नमिल्दासम्मको कुरा हो । एउटै पार्टी भइसकेपछि यस्ता मनोवैज्ञानिक समस्या आफैं हराएर जान्छन् । सूर्य चिहृन भनेको एमालेको होइन, अब नयाँ बन्ने कम्युनिस्ट पार्टीको हुने हो ।

प्रचण्डको व्यवस्थापनमा अझै आश्वस्त पार्न नसकेर कुरा आएका हुन् भन्ने आशंका पनि छन् नि ?

प्रचण्ड कमरेडमा पाटी एकताप्रति लचकता छ । केही केही बेलाका सार्वजनिक अभिव्यक्तितिर नजाऊँ । आमरुपमा उहाँ पार्टी एकताको पक्षमा लचक हुनुहुन्छ । उहाँले अरु कुरा खोज्नुभएको छैन ।

तर, केन्द्रीय कमिटीमा ५०/५० को कुरा त बटमलाइनकै रुपमा आयो नि ?

मैले उहाँको भर्सन सुनेको आधार उहाँले भनेको सम्मानजनक हुनुपर्छ भन्ने हो । एकता भनेको अपमानजनक हुँदैन, सम्मानजनक नै हुन्छ । तर, जनता र कार्यकर्ताबीच जाँदा एउटा जनादेश आएको छ, त्यसलाई पनि ख्याल गर्नुपर्छ ।

फेरि उहाँले ५०/५० नै भन्नुभएको पनि छैन । मान्छेले आ-आफ्नो ढंगले भनेका हुन् । उहाँले समानतामा आधारित भन्नुभएको हो । त्यसमा त बिमति हुन्न ।

हिजो सिट बाँडफाँट ६०/४० मा भयो, परिणाम आउँदा ७०/३० जस्तो छ । प्रदेश र राष्ट्रियसभाका पद बाँडफाँट त्यसरी नै गर्नुभयो, अब कुन आधारमा संख्या बाँड्ने त ?

केही न केहीमा आधारित भएर बाँडफाँट गर्नुपर्छ, त्यतिकै गर्न त मिल्दैन । पछिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभामा आएको मतलाई आधार मानिएको हो ।

अब पनि केही न केही आधार तय गर्नुपर्छ । मनोगत ढंगले यसो गरौं होला भनेर हुँदैन । मुलतः जनता र कार्यकर्ताको जनादेश नै हो । त्योबाहेक अन्य पक्षहरुलाई पनि हामी ध्यान दिन्छौं । बस्तुगत यथार्थमा टेकेर हामी केन्द्रीय कमिटी बनाउँछौं ।

पार्टी एकता वैशाख ९ मा गर्ने भनिएको छ । तर, समय त धेरै छैन नि ?

बैशाख ९ कम्युनिस्ट पार्टी स्थापनाको दिन भएकाले त्यही अवसरमा पार्टी एकता गर्ने भनेका हौं । एकीकृत पार्टी बनाउँदैछौं भने, त्यो दिन बनाउँ जुन दिन नेपालमा कम्युनिस्ट पार्टी घोषणा भएको थियो भनेर त्यो दिनलाई सम्झिन खोजेको हो । त्यसको राजनीतिक महत्व पनि हुन्छ ।

त्यसै उद्देश्यका साथ हामी लागेका छौं । अहिलेसम्म बैशाख ९ मै घोषण गर्ने योजना छ । पार्टी एकता संयोजन समिति बैठकले औपचारिक ढंगले मिति घोषणा गर्नेछ ।

एकीकृत पार्टीमा बहुपद नहुने भनिएको छ । केपी ओली र प्रचण्डपछिको नेतृत्व को होला ?

हामी २ वर्षपछि महाधिवेशन गर्छौं भनेका छौं । त्यो नेपाल कम्युनिस्ट पार्टीको कति औं महाधिवेशन भन्ने छलफलबाट टुंगो लगाउनुपर्नेछ । धेरै कुरा टुंगो लगाउन बाँकी छ । तर, एउटा कुरा म केे भन्छु भने आउँदो महाधिवेशनमा नीति र नेतृत्व दुवैमा सहमति हुन्छ ।

हामी सहमतिको महाधिवेशन गर्छौं । सहमतिमा जाँदा जो जहाँ बस्न उचित हुन्छ, त्यहीँ जिम्मेवारी लिइन्छ । हामी चुनावमा जाँदैनौं, सहमतिका साथमा जाने कुरालाई प्रमोट गर्नुपर्छ ।

उसो भए नेताहरु घटुवा हुन पनि तयार छन् ?

हामी पार्टी एकताको लागि शुरुदेखि नै लागेका मान्छौं हौं । एकता हुने मूल्यमा दुवै पार्टीका कुनै पनि नेताले कुनै पनि पदमा बस्न तयार हुनुपर्छ । नेताहरु एक तह दुई तह डिमोसन हुन तयार हुनुपर्छ, एकताको लागि त्याग गर्ने भनेको त्यहि हो । भोलि को कहाँ पुग्ने भन्ने नेताको क्रियाशीलता र पहलकदमीमा भर पर्छ ।

पछिल्लो समयमा एमालेमा केपी ओली र माधव नेपाल मिलेपछि अरु कर्नरमा परेको चर्चा छ नि ?

मेरो शुभचिन्तकहरुलाई के भन्छु भने मार्केटको पछि नलाग्नुस् । हामी एउटा ब्रोडर अन्टरस्टाडिङका साथ अघि बढेका छौं । बाहिर आएजस्तो एकरति पनि केही भएको छैन । हामीले छलफल गरेरै सबै काम गरेका छौं ।

केपी ओली र माधव नेपाल मात्र होइन, झलनाथ खनाल, बामदेव गौतम, हामी सबै मिलेरै पार्टी चलाइरहेका छौं । यो पार्टीमा कुनै असहमति हिजो पनि थिएन, आज पनि छैन । महाधिवेशनपछि केके न होला भनेको सबै सर्वसम्मत भएका छन् ।

केपी ओलीलाई प्रधानमन्त्री र संसदीय दलको नेता बनाउने प्रस्ताव स्वयं माधव नेपालले गर्नुभएको हो ।

तर, दलको नेतामा त घनश्याम भुसाललाई प्रतिस्पर्धा नै गर्न दिइएन नि ?

संसदीय दलको बैठकमा माधवकुमार नेपालले केपी ओलीको नाम प्रस्ताव गर्नुभयो, बैठकले सर्वसम्मत रुपमा पारित गर्‍यो । यसमा अरु कुरा के छ र ?

भनेपछि तपाईहरु र माधव नेपाल मिलेपछि अरु मिल्नु पर्दैन ?

अरु नमिलेको भनेको के हो ? बाहिर कसले के भन्छ थाहा छैन तर, सबै कुरा संस्थागत भएको छ । पार्टी आफ्नो विचार, प्रक्रिया र परम्पराबाटै चलेको छ । बैठक भएका छन्, सबै कुरा बैठकबाट पारित भएका छन् ।

तर, तपाईले रोजेको मन्त्रालय प्रधानमन्त्रीले दिनुभएन होइन ?

हाम्रो बीचमा जे भएको छ, छलफलबाटै भएको छ । दोस्रो कुरा हाम्रो पार्टीको अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि उहाँका सोच र योजनालाई हामी सबैलाई बुझनुपर्छ । उहाँले कुनै भेस्टेट इन्टरेस्टबाट काम गर्नुभएको छैन । भोलिको लागि राम्रो सोचेर गरिरहनुभएको छ । हामी बिल्कुल समझदारीका साथ चलेका छौं ।

निर्णय हुनुभन्दा अघि को के हुन्छ, त्यसमा चर्चा हुन्छ । तपाईले के बुझ्नुस भने अध्यक्ष र मेरोबीच छलफल गर्दा जे ठीक हुन्छ भन्ने टुंगोमा पुग्यौं, त्यही अनुसार भएका छन् । सबै काम छलफलबाट मात्र भएका छन्, यो कुरा तपाईले बोल्ड गरेर लेख्नुस ।

तपाईले गरेको ट्वीट, ‘धेरै बोलेर होइन, काम गरेर देखाऊ’ प्रधानमन्त्रीलाई लक्षित हो भन्ने पनि छ नि ?

हिन्दीमा एउटा कहावत छ, बुरी नजरवाले तेरा मुह काला । ठीक यस्तै हुन् यी हल्ला । आजको अवस्थामा प्रष्टै कुरा के भने, ठूला-ठूला कतिपय मान्छेहरु, पार्टी भित्रकै पनि पदीय जिम्मेवारी लिएकै मान्छे पनि देख्छु, धेरै कुरा गर्ने तर काम नहुने ।

हामी काम थालौं, थालेको काम पूरा गरौं । धेरै कुरा गर्ने भन्दा पनि काम गरौं । धेरै बोल्ने बेला होइन यो, काम गरेर देखाउने हो । हिजो बोल्ने बेला थियो, हामी बोल्यौं तर, अब त्यो सुविधा छैन ।

हामीलाई काम गर्ने अनुकुलता छ, करिब दुई तिहाईको सरकार छ । यो कुरा मैले आफैलाई पनि भनेको हुँ । कसैप्रति लक्षित होइन, समग्रमा हामी के मा केन्दि्रत हुने भन्ने कुरा हो । यसलाई मान्छेले आफ्नो सुबिधा अनुसार सामान्यीकरण गरेका हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment