Comments Add Comment

चितवनमा आर्थिक गणनाका लागि ८४ गणक परिचालन

५ बैशाख, चितवन । बैशाख १ गतेबाट सुरु भएको प्रथम राष्ट्रिय आर्थिक गणनामा चितवनमा ८४ जना गणक परिचालन गरिएको छ ।

परिचालित टोली जिल्लाका विभिन्न व्यवसायिक प्रतिष्ठान र र्फमहरुमा पुग्न थालेका छन् ।

गणनामा १२ जना सुपरीवेक्षक खटिएका छन् । दुई महिनाभित्र चितवनका सवै व्यवसायिक प्रतिष्ठानहरुको आर्थिक गणना सक्ने लक्ष्य लिइएको जिल्ला आर्थिक गणना (तथ्यांक कार्यालय भरतपुर) कार्यालयका प्रमुख जीवनाथ आचार्यले जानकारी दिए ।

केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक गतिविधीहरुको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरू गरेको हो ।

ठूला ठूला व्यवसायिक प्रतिष्ठानदेखि साना साना व्यवसायीसम्मको आर्थिक अवस्था गणकहरुले लिनेछन् ।

गणनाको लागि भरतपुर महानगरमा ४८ गणक र ६ सुपरीवेक्षक, रत्ननगरमा १३ गणक र १ सुपरीवेक्षक, खैरहनीमा ७, राप्तीमा ५, माडीमा २, इच्छाकामनामा ४, कालिकामा ४ गणक परिचालन गरिएको छ ।

आर्थिक गणनाले देशको आर्थिक अवस्थाको चित्र प्रस्तुत गर्ने जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख जीवनाथ आचार्यले बताए ।

आर्चायले अगाडि थपे ‘गणनाले देशको आर्थिक वृद्धिदर -जीडीपी) अवस्थाको बारेमा पनि ज्ञान हुन्छ । योजना बनाउन पनि सहज हुन्छ ।

चितवनको गणना टोलीले वडातहसम्म पुगेर एउटा व्यवसायिक प्रतिष्ठान पनि नछुटाइ गणना गर्ने प्रमुख आचार्यले बताए । जेठ ३१ गते सकिने आर्थिक गणनाको विवरण तीन तहको सरकारलाई बझाइनेछ ।

आर्थिक गणनाले आर्थिक नीति बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास सरकारको छ ।

गणकलाई व्यवसायीले सहयोग गर्ने

आर्थिक गणनाका लागि गणकलाई सहयोग गर्ने प्रतिबद्धता व्यवसायीहरुले जनाएका छन् ।

उद्योग बाणिज्य संघ चितवनले आफ्नो सदस्यहरुलाई सवैलाई पत्रकार गरी सहयोगको अपिल गरेको छ ।

संघका अध्यक्ष सहनलाल प्रधानले सार्वजनिक सूचना र पत्र मार्फत गणनाका लागि आउने आर्थिक गणकहरुलाई सहयोग गर्न अपील गरिएको अनलाइनखबरसँग बताए ।

यस्तैं, चितवन उद्योग संघले पनि आफू आवद्ध सवै सदस्यहरुलाई आर्थिक गणनाका लागि आउने गणकहरुलाई सहजीकरणका लागि अनुरोध गरेको छ ।

संघका अध्यक्ष भेषराज दुवाडीले राज्यको यो काममा व्यवसायीहरुको तर्फबाट पूर्ण सहयोग हुने र कुनै स्थानमा समस्या भए जानकारी गराउन अनुरोध गरिएको बताए । ‘व्यवसायीहरु सबै प्रकारको सहयोग गर्न तयार छन्’ अध्यक्ष दुवाडीले भने, ‘यसको एक्चुअल डाटा त हामीलाई पनि चाँहिएको छ । यसैंले हामी सकेको सहयोग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment