Comments Add Comment

रियल भर्सेस बायर्न : एकअर्काको तारिफमा प्रशिक्षक, के होला खेल ?

१२ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आज राति स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ ।

यो सिजन बुण्डेस लिगामा एकछत्र राज गरेको बायर्न र ला लिगामा कमजोर देखिएको मड्रिडबीच यसअघिको भेट निकै प्रतिस्पर्धात्मक छ ।

यसअघि रियल र वार्यनबीच भएको २४ खेलमा दुवैले ११/११ खेल जितेका छन् । दुई खेल बराबरी भएको छ । जहाँ मड्रिडले ३७ गोल गरेको छ । बायर्नले ३६ गोल गरेको छ ।

गएको सिजन क्वार्टरफाइनलमा मड्रिडसँग पराजित भएको बायर्न यसपटक बलियो देखिएको छ । घरेलु लिगमा कमजोर देखिए पनि मड्रिडले आफ्नो सबै शक्ति च्याम्पियन्स लिगमा खर्च गरेको भान हुन्छ ।

गएको सिजन क्वार्टरफाइनलमा पहिलो लेगमा मड्रिडले बायर्नलाई २-१ ले र दोस्रो लेगमा ४-२ ले हराएको थियो ।

यी दुईबीच आज हुने २५ औं भेट युरोपियन क्लब फुटबल प्रतिस्पर्धामा भएको सबैभन्दा धेरै भेट हो । उनीहरुबीच सेमिफाइनलकै खेलमा ६ पटक भेट भएको छ । जसमा बायर्नले ४ पटक र मड्रिडले दुई पटक जितेको छ ।

मड्रिडले पछिल्लो पाँच भेटमा बायर्नलाई हराएको छ । जहाँ मड्रिडले १३ गोल गरेको छ भने चार गोल खाएको छ ।

बायर्नविरुद्धको पछिल्लो तीन खेलमा मड्रिडका क्रिष्टियानो रोनाल्डोले सात गोल गरेका छन् । साथै सबै गरेर बायर्नविरुद्धको ६ खेलमा रोनाल्डोले ९ गोल गरेका छन् ।

खेलअघि प्रतिक्रिया दिँदा दुवै टोलीका प्रशिक्षक निकै शान्त देखिएका छन् । उनीहरु एकअर्काको तारिफमा समय खर्चिरहेका छन् ।

के भन्छन् प्रशिक्षक ?

जुप हेनकेस, बायर्न म्युनिख

कति प्रशिक्षकले आˆनो जीवनकालमै यस्तो मौका पाउँदैनन् । म एकदम सामान्य मान्छे हुँ । यो खेलहरुमा म कुनै भावनामा नबहकिई काम गर्नेछु । खेलको दौरान त्यस्तो केही आउन सक्छन् । यो सबै फुटबल समर्थकका लागि पनि फरक अवस्था हो ।

मैले मेरो समयमा जोहन क्रियुफ, मार्सेलो लिप्पी जस्ता निकै राम्रा प्रशिक्षकसँग काम गरेँ । म जिनेदिन जिदानको पनि प्रशंसक हुँ । उसको प्रशिक्षणमा रियल मड्रिडले जस्तो फुटबल खेलिरहेको छ मलाई निकै राम्रो लाग्छ ।

जिनेदिन जिदान, रियल मड्रिड

जुपले बायर्न म्युनिख र रियल मड्रिडमा पनि जे हासिल गर्नुभएको छ, त्यसका लागि उहाँप्रति मेरो ठूलो सम्मान छ । म केबल उहाँको प्रसंशा गर्न सक्छु ।

हामीले राम्रो खेल देखाउन आवश्यक छ । बायर्न एकदमै राम्रो क्लब हो । बायर्नको टिमभावना पनि निकै राम्रो छ । मलाई लाग्दैन यसमा एउटा मात्र मन पर्ने कोही हुन्छ । यसमा कुनै शंका छैन, मानसिक रुपमा हामी १५० प्रतिशत तयार हुनेछौं ।

सम्भावित ११ खेलाडी

बायर्न – अलरिच, किमिच, हमल्स, बोएटेंग, अलाबा, मार्टिनेज, थियागो, जेम्स, मुलर, रिबेरी, लेवान्डोस्की ।

बाहिरिएका – भिडाल  (घुँडामा समस्या), कोम्यान (गोलिगाँठामा समस्या)

मड्रिड – नाभास, कार्भाजल, भराने, रामोस, मार्सेलो, क्रुस, क्यासेमिरो, मोडरिक, इस्को, बेन्जेमा, रोनाल्डो ।

यकीन नभएको – नाचो (मांशपेसीमा समस्या)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment