Comments Add Comment

काम नपाएको वडा सदस्यको गुनासो, भन्छन् -ताली पिट्ने भन्दा काम भएन

१७ वैशाख, सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित कृष्णगोपाल तामाङ जिल्ला समन्वय समितिको प्रमुख बने । उनी जस्तै वडा सदस्यमा निर्वाचित बालकुमारी सापकोटा समन्वय समितिको उपसभापति भइन् । र, वडा सदस्य जितेका अन्य सात जनाले जिल्ला समन्वय समितिमा सदस्य पदको अवसर पाए ।

वडा सदस्यमा निर्वाचन हारेका भए उनीहरुका लागि समन्वय समितिमा उक्लने ढोका बन्द हुन्थ्यो । वडा सदस्यमा चुनाव जितेकै आधारमा उनीहरु समन्वय समितिको नेतृत्वमा पुगिरहँदा बाँकी ४ सय बढी वडासदस्यहरु यतिबेला आफ्नो भूमिका खोजिरहेका छन् ।

भोटेकोसी गाउँपालिका-१ की सञ्चमाया बिक गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित बनिन् ।

स्थानीय तह निर्वाचनको एक वर्ष बित्नै लाग्दा पनि सञ्चमायाँले जनप्रतिनिधिका रुपमा आफ्नो भूमिका मेसो पाइनन् ।

कार्यपालिकाको बैठक, सभा लगायतमा उपस्थित भएर सहभागिता जनाउनुभन्दा अर्को भूमिका भएन उनको । ‘बैठकमा बोलाए जाने हो, अरुबेला त के नै काम हुन्छ र !’, उनी भन्दै थिइन् ।

उनीजस्तै बलेफी गाउँपालिका-४ मा वडा सदस्य जितेका धनपति नेपाल पनि जनताले देख्नेगरी आफ्नो भूमिका नै नभएको बताउँछन् । ‘गाउँपालिका अध्यक्ष र वडाध्यक्ष मात्र जनप्रतिनिधि हुन् भन्नेजस्तो भएको छ,’ उनी भन्दै थिए, ‘हामी पनि चुनाव जितेर नै सदस्य भएका हौं ।’

सुनकोशी गाउँपालिका-१ ठोकर्पाबाट वडा सदस्यमा सबैभन्दा बढी भोट ल्याएर शान्ति खडका आचार्य वडा सदस्यमा निर्वाचित भइन । उनी वडा सदस्यमा निर्वाचित हुनुअघि विभिन्न संघ संस्थामा जागिरे जीवन बिताउँदै आएकी थिइन् । तर, अहिले न त उनी संघ संस्थामा काम गर्न जान सक्छिन् न त वडा मा उनको कुनै प्रष्ट भूमिका नै छ भन्छिन्-‘के गर्ने गर्ने द्विविधामा परियो ।’

कुनै पनि काम नुहँदा जीवन निर्बाह गर्न नै धौ-धौ भएको खड्काको गुनासो थियो ।

स्थानीय तह निर्वाचन ताका वडा सदस्यको टिकट पाएपछि बलेफी गाउँपालिका ८ का लक्ष्मण अधिकारी उत्साहित देखिन्थे ।

वडा सदस्यको उमेदवार बनेका उनले चुनाव पनि जिते । तर, निर्वाचनको एक वर्ष नवित्दै उनीभित्रको उत्साह हराइदियो । ‘निकै दौडधुप गरेर चुनाव जितियो, वडा सदस्यको खास भूमिका नै नहुनेरहेछ’, उनी भन्दै थिए, ‘बैठक र गाउँसभामा तााली पिट्ने भन्दा अर्को भूमिका भएन ।’

वडा तहमा निर्वाचित सदस्यहरुलाई कुनै न कुनै भूमिका दिइनुपर्ने उनी सुनाउँछन् । ‘जनप्रतिनिधि भनेको अध्यक्ष मात्रै को कि कसो ?’, उनी भन्छन्, ,’हामी त नाम मात्रका जनप्रतिनिधि भएछौं ।’

गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई राम्रै सेवा सुविधा हुँदा वडासदस्यहरु ‘भूमिका न सुविधा’ को अवस्था भोगिरहेको उनी बताउँछन् ।

जिल्लाका १२ स्थानीय तहमा ४१२ वडा सदस्यहरु निर्वाचीत भएका छन् । वडाका सदस्यहरुको मात्रै होइन जिल्ला समन्वय समितिका सदस्यहरु पनि भूमिका विहीन नै छन् ।

एमाले जिल्ला सचिव समेत रहेका लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालसँग केही समयअघि सुनिता परियारले दुखेसो पोख्दै भनिन्-‘कमरेड हामीहरुलाई पनि केही भूमिका त चाहियो नि !’ तपाइँ त पार्टीको सचिव पनि हो,भूमिका प्रष्ट पारिदिनु पर्‍यो ।’

तर, जिल्ला समन्वय समिति लगायत अन्य स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुले चाहादा भने सदस्यरुलाई पनि रामै भूमिका दिइएको देखिएको छ ।

जिल्लाका १२ स्थानीय तह मध्ये बाह्रविसे नगरपालिकाले मात्रै वडा सदस्यहरुका लागि समेत पारिश्रमिकको व्यवस्था गरेको छ । बैठकमा सहभागी हुँदा प्राप्त हुने ८५० बाहेक न सुविधा छ न त काम नै ।

धेरैलाई त प्रष्ट भूमिका नहुँदा समुदायमा जनप्रतिनिधि हो भन्ने नै चिन्न नै छाडेको समेत वडा सदस्यहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment