Comments Add Comment

आदर्श पोलिमर्सका महिला मजदुरहरु एक महिनादेखि आन्दोलनमा

६, जेठ, वीरगञ्ज । कामबाट हटाउन खोजेको विरोधमा उत्रिएका वीरगञ्ज पिप्राको आदर्श पोलिमर्स प्लाष्टिक उद्योगका महिला मजदुरहरु एक महिनादेखि आन्दोलित छन् ।

उद्योग व्यवस्थापनले विना कारण निकालेको भन्दै उनीहरु वैशाख २ गतेेदेखि उद्योगको मूल गेटमा धर्ना बसेका छन् ।

उद्योगमा ९ जना महिला कार्यरत रहेकोमा व्यवस्थापनले ४ जनालाई मात्रै काममा राख्ने भन्दै ५ जनालाई जगेडामा राख्ने निर्णय गरेको थियो । ४ जनामा पनि दुई जनालाई बिहान ८ बजेदेखि ४ बजेसम्म र दुईजनालाई १० बजेदेखि ६ बजेसम्म काम गर्नुपर्ने नियम बनाएको थियो ।

साथीहरुलाई कामबाट निकालेपछि महिलाहरु एकजुट भएर सबैलाई काममा राख्नुपर्ने अडान राखेका थिए । तर व्यवस्थापनले माग सुनुवाई गर्नुको साटो उद्योग नै बन्द गरेपछि धर्नामा बसेको महिला मजदुरहरुको भनाइ छ ।

१५ वर्षदेखि उद्योगमा काम गरे पनि केही पनि नदिई निकाल्न खोजेको सीता तिमल्सिनाको गुनासो छ । ‘१५ वर्ष काम गर्दा पनि केही दिएका छैनन्, त्यसै निकालेका छन् । अन्यायमा परेका छौं’ उनले भनिन् ‘न्याय माग्न अहिले धर्नामा बसेका छौं ।’

हात मेसिनमा परेर काम नलाग्ने अवस्थामा उद्योगले निकालिदिएपछि अहिले विचल्लीमा परेको अर्की मजदुर शारदादेवीले बताइन् । ‘मेसिनमा परेर हातको औला काम नलाग्ने भयो, अपरेसन गर्न पैसा दिनुको साटो उल्टै एक महिनाको पैसा काटे’ उनले भनिन् ‘अहिले उद्योगबाट निकालिदिएका छन् । हात हेरेर बाहिर काम पनि दिँदैनन् ।’

मजदुरसँगको वार्तामा उद्योग व्यवस्थापनले कम्पनी बन्द गर्छु भनेर धम्क्याउने गरेको मंगली लामाले बताईन । ‘वैशाख ३१ गते भएको वार्तामा सञ्चालक उद्योग बन्द गर्छु, प्रति व्यक्ति ४० हजार भन्दा एक रुपैयाँ पनि दिन्न भनेका छन्’ उनले भनिन् ‘१२ देखि १५ वर्षसम्म काम गरेका छौं । ६ वर्ष ४ महिना त स्थायी भएकै भइसक्यो । कम्तीमा दुई दुई लाख दियो भने हामीलाई पुग्छ ।’

व्यवस्थापन पक्षले अडान नछोडेका कारण वर्षौदेखि उद्योगमा सेवा दिएका महिलाहरु विचल्लीमा परेका छन् ।

सरकार र स्थानीय तहले प्लाष्टिक उत्पादनमा रोक लगाएको भन्दै उद्योग व्यवस्थापनले ५ जना श्रमिकलाई वैशाख २ देखि १६ गतेसम्म जगेडामा राख्ने भनेर श्रम कार्यालयमा जानकारी गराएको थियो । पछि श्रमिकहरुले सबैजना काम गर्न पाउनुपर्ने भन्दै वैशाख ७ गते श्रम कार्यालयमा निवेदन दिएका थिए ।

श्रम कार्यालयले सत्य तथ्य जानकारी गराउन पत्र काटेपछि जेठ ४ गते उद्योग व्यवस्थापनले ५ जना कर्मचारी कटौती गरेको पत्र पठाएको श्रम कार्यालयले जनाएको छ । श्रम ऐनमा १० जना भन्दा कम कर्मचारी रहेको खण्डमा जगेडामा राख्न पाउने व्यवस्था रहेको श्रम कार्यालयका सूचना अधिकारी सुन्दर श्रेष्ठ बताउँछन् ।

रोजगारदातालाई श्रम ऐन २०७४ को दफा १५ मा जगेडामा राख्न र कटौती गर्ने अधिकार दिएको श्रेष्ठको भनाइ छ । जगेडामा राखेको अवधिमा आधा तलब दिनुपर्ने र कटौती गरेको अवस्थामा क्षतिपूर्ति दिनुपर्ने प्रावधानसमेत ऐनमा रहेको श्रम कार्यालय वीरगञ्जले जनाएको छ । तर उद्योगले प्लाष्टिकको झोलाबाहेक प्लाष्टिकका पाइपहरु पनि बनाउँदै आएको मजदुरहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment