Comments Add Comment

ऋचाका प्रिय ५ क्यारेक्टरः फुलीदेखि सुनकेशरीसम्म

नायिका ऋचा शर्मा यतिबेला ‘सुनकेशरी’ को पर्खाईमा छिन् । आफूले निर्माण गरेको भएकाले मात्र होइन, चुनौतिपूर्ण भूमिका निभाएका कारणले पनि यो फिल्मप्रति उनको तीव्र कौतुहल छ । फिल्म पर्सी शुक्रबारबाट रिलिज हुँदैछ ।

त्यसो त सँधै फरक र चुनौतिपूर्ण भूमिकामा रमाउने अभिनेत्री हुन् ऋचा । आफ्नो पहिलो फिल्म ‘फस्ट लभ’ देखि प्रदर्शोन्मुख फिल्म सुनकेसरीसम्म आइपुग्दा उनले भाँति-भाँतिका चरित्रमा आफ्नो अभिनय पोखेकी छिन् । पछिल्लोपटक कोहलपुर एक्सप्रेसमा उनको भूमिकाको व्यापक चर्चा भएको थियो । यद्यपि, उक्त भूमिकामा नकारात्मक प्रक्रियाहरु बढि आए ।

ऋचाले आफूले अभिनय गरेकामध्ये आफैंलाई मन परेका ५ वटा क्यारेक्टरको बारेमा अनलाइनखबरसँग कुराकानी गरेकी छिन् । कुन-कुन हुन् त उनका प्रिय क्यारेक्टर ?

 १. फस्ट लभ

फस्र्ट लभ मेरो डेब्यू फिल्म हो । तर, डेब्यू फिल्म भएकाले मात्र होइन, क्यारेक्टरको हिसाबले पनि यो फिल्म मेरो लागि स्मरणीय छ । यसमा मैले एचआइभीपिडित एउटी बारगर्लको भूमिका निभाएकी छु । यो फिल्म गर्नुअगाडि मसँग अभिनयको कुनै अनुभव थिएन । त्यसमाथि पहिलो फिल्ममै च्यालेन्जिङ रोल परेको थियो ।  फिल्ममा निशा अधिकारी, आर्यन सिग्देल, कर्मा जस्ता कलाकारहरु हुनुहुन्थ्यो । उहाँहरु पहिलेदेखि नै मसँग नजिक भएकाले काम गर्न सजिलो भयो । उहाँहरुले मलाई धेरै हेल्प गर्नुभयो । मैले पनि आफ्नो चरित्रमा न्याय दिन भरपुर मिहिनेत गरेँ । फलस्वरुप पहिलो फिल्मबाटै म नोटिस भएँ । त्यसपछि पछाडि फर्केर हेर्नु परेन ।

२. भिसा गर्ल

भिसा गर्ल मैले को-प्रोड्यूस गरेको फिल्म हो । यसमा सिम्पल क्यारेक्टर छ, तर सिम्पल क्यारेक्टरमा अभिनय गर्नु झन् गाह्रो काम हो जस्तो मलाई लाग्छ । यसमा मैले अमेरिका रिटन्र्ड एउटी आधुनिक युवतीको भूमिका निभाएकी छु, जो आफ्नै देश नेपालमा बसेर केही गर्न चाहन्छे । अमेरिका जान आतुर तीन युवाहरुसँग उसको भेट हुन्छ । सामान्य कथा छ, तर पटकथा अति खँदिलो छ ।

भिसा गर्लले सोचेजस्तो सफलता भने पाएन । यो फिल्म समयभन्दा अगावै बनायौ जस्तो लाग्छ । किनभने फिल्म अलि बढि आधुनिक थियो । अहिले बनाएको भए राम्रो चल्थ्यो होला । त्यतिबेला नेपाली फिल्मको बजार पनि राम्रो थिएन ।

३. टलकजंग भर्सेस टुल्के

टलकजंग भर्सेज टुल्केलाई मेरो करिअरको लागि माइलस्टोन नै मान्छु । यो फिल्ममा मैले निभाएको ‘फुली’ क्यारेक्टरबाट धेरै प्रशंसा पाएँ । समिक्षकबाट पनि, दर्शकबाट पनि । यसले मलाई नेसनल अवार्ड पनि दिलायो ।

जमिन्दारको घरमा कमैयाको रुपमा काम गरिरहेकी तर, भित्रभित्रै माओवादी आन्दोलनमा लागेकी क्रान्तिकारी महिला हो फुली । यसमा मेरो डाइलग निकै कम थियो, अभिनय बेसी थियो । म धनगडीमा हुर्केकी केटी, यस्तो खाले अरुको घरमा बसेर काम गरिरहेका महिलाहरु धेरै देखेकी छु । त्यसैले पनि क्यारेक्टरमा भिज्न सजिलो भयो । यूट्यूवमा यो फिल्म हेर्नेहरुले अहिले पनि मलाई रेस्पोन्स दिइरहनु हुन्छ ।

४. को आफ्नो 

मैले आफूलाई पूर्णरुपमा रुपान्तरण गरेको फिल्म हो ‘को आफ्नो’ । मेरो करिअरको सबैभन्दा कठिन भूमिका यही थियो । यो फिल्मका लागि मैले अत्यधिक मिहिनेत गरेँ । विरुप अनुहार र त्यस्तै आवाज भएकी एउटी विपन्न आमाको भूमिका थियो । मेकअप गर्नै घन्टौं लाग्थ्यो । मेकपअपछि ऐना हेर्दा आफैंसँग तर्सिन्थेँ । फिल्ममा धेरै इमोसनल सिनहरु थिए । आमा नबनेकी मान्छेले एउटी आमाको अनेकन भावहरु अनुहारमा उतार्न सजिलो थिएन ।

तर, यो फिल्मबाट सोचेजस्तो नतिजा आएन । फिल्म व्यापारिक रुपमा सफल हुन सकेन । यद्यपि, को आफ्नोमा अभिनय गरेकोमा आज पनि मलाई गर्व छ र यस्ता भूमिकाका लागि फेरि फेरि अफर आए पनि पछि हटिदनँ ।

५. सुनकेशरी

सुनकेशरी रिलिज हुन बाँकी छ, त्यसैले यो फिल्मको क्यारेक्टरको बारेमा म धेरै खुलाउन चाहन्न । तर, मैले आजसम्म अभिनय गरेको फिल्महरुमध्ये यो पनि एउटा सम्झनलायक क्यारेक्टर हुनेछ । यो फिल्ममा मेरो भूमिकाले दर्शकलाई अचम्भित पार्नेछ ।

सुनकेशरीमा मेरो क्यारेक्टरका विभिन्न आयामहरु छन् । सुख, दुख, हाँसो रोदन, सबै यसमा मिसिएको छ । फिल्ममा अष्ट्रेलियन अभिनेत्री लाउरेन लफबर्ग पनि लिड रोलमा हुनुहुन्छ । उहाँले लाइमलाइट लैजानु हुन्छ कि भन्ने डर पनि छ । आफूले निर्माण गरेको कारणले मात्र भनेको होइन, नेपालमा यो स्तरको हरर फिल्म पहिले बनेको छैन होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment