Comments Add Comment

दिलबहादुरलार्इ मृत्युदण्डबाट बचाउन बेलायत र पोर्चुगलबाट १० लाख सहयोग

बेलायतबाट मात्रै करिब ९ लाख हस्तान्तरण

३१ जेठ, काठमाडौं ।अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन बेलायत बेलायत र पोर्चुगलबाट दश लाख भन्दा बढी रकम संकलन भएको छ । राप्ती समाज यूकेको नेतृत्वमा आठ लाख ७५ हजार ५५५ र पोर्चुगलमा रहेका नेपालीहरुबाट एक लाख ३९ हजार ५४१ रुपियाँ संकलन भएको हो ।

बेलायतबाट उठेको सहयोग रकम बुधबार राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिं रोकाले दिलबहादुर घर्ती बचाउन ब्लड मनी संकलन मूल समिति र दिलबहादुरकी पत्नीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

पोर्चुगलबाट उठेको रकम पनि बुधबार नै पोर्चुगल निवासी सुवास पुनले अभियानलाई हस्तान्तरण गरेका छन् । बुधबार नै नन्द घर्तीमगरको पहलमा संकलित १६ हजार, अर्जुन तिवारीले १० र गंगा राईको पहलमा संकलित ७ हजार समितिलाई हस्तान्तरण गरेका छन् ।

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल (करिब ६५ लाख रुपैयाँ) क्षतिपूर्ति दिन फैसला गरेको छ । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

दिलबहादुरको जीवन रक्षा तथा जेल मुक्त गर्न उपराष्ट्रपति पुत्र दिपेश पुनको नेतृत्वमा गठित ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ले अभियान जारी राखेको छ । यसैगरी स्वदेश तथा विदेशमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग संकलन जारी राखेका छन् ।

यसैगरी राप्ती समाज यूकेका अध्यक्ष हिक्मतसिं रोकाले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि बेलायतमा रहेका नेपालीहरुल दिल खोलेर सहयोग गरेको बताए । उनले सहयोगी सबैलाई धन्यवाद दिंदै दिलबहादुरलाई बचाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

सहयोग अभियानको खातामा २३ लाख जम्मा 

दिलबहादुरको जीवन रक्षाका लागि मूल समितिको नाममा खोलिएको खातामा २३ लाख भन्दा बढी रकम जम्मा भएको छ । ‘दिलबहादुरको जीवन रक्षाका लागि झण्डै ६५ लाख चाहिन्छ । हिजोसम्म हाम्रो मूल समितिको खातामा २३ लाख जम्मा भएको छ,’ मूल समितिका सचिव जीवन रोकामगरले भने, ‘हाम्रो अभियान जारी छ । सहयोगी मनहरुको साथ र सहयोग छ ।’

उनले वाइसीएल रोल्पाले झण्डै ५ लाख उठाएको तर मूल समितिको खातामा नआएको, रोल्पा नगरपालिकाले १ लाख, सुनिल स्मृति गाउँपालिकाले ५० हजार, सुनछहरी गाउँपालिकाले ३० हजार दिने निश्चित भएको जानकारी दिए ।

उनले साउदी अरब, मलेसिया, जापान, कोरिया लगायतको देशमा दिलबहादुरको जीवन रक्षाका लागि सहयोग संकलन जारी रहेको जानकारी दिए ।

दिलबहादुरको जीवन रक्षाका लागि सहयोग रकम जम्मा गर्न अभियानका मूल समिति संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढामगरको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा ११९००२८६०७१० नं. को खाता खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment