Comments Add Comment

पोखरामा स्मार्ट सिटी बनाउन महानगरपालिकालाई सांसदको सुझाव

६ असार, पोखरा । कास्कीका सांसदहरुले स्मार्ट सिटीको पूर्वाधारलाई प्राथमिकता दिएर नीति, कार्यक्रम, योजना र बजेट ल्याउन पोखरा लेखनाथ महानगरपालिकालाई सुझाव दिएका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाको असार १० गते हुने तेस्रो नगरसभाको सन्दर्भमा कास्कीका सांसदहरुसँग गरिएको छलफलमा उनीहरुले जनताले विकास र सुुशासन चाहेकोले त्यसलाई ध्यानमा राखेर बजेट ल्याउन सुझाव दिएका हुन् ।

पोखरा लेखनाथ महानगर सभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम, योजना र बजेटको तयारीमा जुटेको महानगरपालिकाले कास्कीका प्रदेश र संघीय सांसदहरुसँग गरेको छलफलमा बोल्दै कास्की १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले विजयपुर खोलामा पुलहरु थप्नुपर्ने र पुलको चौडाइ ४ लेनको बनाउनुपर्ने सुझाव दिए ।

बाइपास सडक बनाएर पोखराको ट्राफिक जामलाई घटाउने योजना महानगरपालिकाले ल्याउनुपर्ने उनको भनाइ छ । ‘पोखरामा पर्यटन विश्वविद्यालयको खाँचो छ,’ अधिकारीले भने,’ ताल संरक्षणको साथै महानगरका सबै वडालाई जोड्ने सडक सञ्जाल विस्तारमा विशेष ध्यान दिनुपर्छ ।’

प्रदेश सभाका सांसद कृष्ण थापाले चुनावी घोषणपत्रमा समेटिएका योजनालाई पूरा गर्ने गरी बजेट ल्याउनुपर्ने बताए । ‘पोखराका डाँडाकाँडालाई ग्रीन स्याटेेलाइट सिटी बनाउनुपर्छ,’ थापाले भने,’ समग्र पोखराको विकासको गुरु योजनालाई बनाएर अगाडि बढेमात्र स्मार्ट सिटी बन्न सक्छ ।’

प्रदेश सांसद दीपक कोइरालाले साविकको लेखनाथ नगरपालिकाका बासिन्दालाई महानगरको अनुभूति हुनेगरी योजना बनाउन सुझाव दिए । ‘तालहरुको संरक्षणको लागि गुुरु योजना आवश्यक छ,’ कोइरालाले भने, ‘जनताको जीवनस्तर परिर्वतन हुने गरी बजेट ल्याउनुपर्छ ।’

अर्का सांसद मनबहादुर गुरुङले विजयपुरको किनारै/किनार सडक बनाउनुपर्ने बताए । उनले पोखरादेखि २ घण्टाको यात्रामा हिउँ छुन सकिने ठाउँहरु भएकाले तिनीहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए ।

प्रदेश सांसद विन्दुकुमार थापाले पोखराले भूउपयोग र जल उपयोग नीति ल्याउनुपर्ने बताए । सार्वजनिक जग्गाको संरक्षण, सुकुम्बासी समस्या समाधान, करदाता मैत्री सुशासन लगायत समग्र पोखराको गुरुयोजना बनाउनुपर्ने बताए ।

अर्का प्रदेश सांसद राजीव पहारीले जनताले सुशासन र विकास चाहेकोले त्यसलाई ध्यानमा राखेर सन्तुलित विकास गर्नुपर्ने बताए । उनले चाक्ला सडक र पार्किङ स्टेशन बनाउन पनि महानगरलाई सुझाव दिए ।

प्रदेश सांसद रामजी बरालले सेवालाई चुस्त बनाउनुका साथै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । जनताको घरमा बोरामा फोहोर कुहाएर राख्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उनले बताए । २४ सै घण्टा धारामा पानी आउने गरी योजना बनाएर काम गर्न उनले सुझाव दिए ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले विभिन्न ५ वटा समिति बनाएर नीति, कार्यक्रम र बजेट निर्माणको काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment