Comments Add Comment

कांग्रेसकोआरोप : सरकार ज्ञानेन्द्रपथतिर अघि बढ्दैछ

२० असार, काठमाडौं । नेपाली कांग्रेसले सरकार ज्ञानेन्द्रपथतिर लागेको आरोप लगाएको छ । राष्ट्रियसभा बैठकमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सरकारले सार्वजनिक स्थलमा प्रदर्शन र भेला हुने अधिकार कुण्ठित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा लागेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री केपी ओली आफै जनताको स्वतन्त्रताका लागि जेल नेल बसे पनि सत्तामा पुगेपछि त्यसलाई बिर्सेको पाण्डेले बताए । ‘निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री हुनुहुदैनथ्यो । अध्यक्ष महोदय पनि त्यो कुर्चीमा हुनुहुदैनथ्यो’ राष्ट्रियसभा बैठकको सुरुमा उनले भने ‘यो सरकार किन ज्ञानेन्द्रपथतिर अघि बढ्दैछ ? बहुमतको दम्भमा जनताको आवाज कुण्ठित गर्ने कोशिस गरिएको छ ।’

संविधानले कुनै पनि नेपाली नागरिकलाई विना हात हतियार शान्तिपूर्वक हिँडडुल गर्न पाउने अधिकार दिए पनि सरकारले कुण्ठित गरेको पाण्डेले बताए । ‘हिजो पञ्चायतमा पनि, ज्ञानेन्द्रको शासनकालमा पनि निषेधित क्षेत्र तोकिएको थियो । म स्मरण गराउन चाहन्छु । धेरै शाहहरु मात्र होइन धेरै तानाशाहहरु पनि जनताको अधिकारमाथि खेलवाड गर्दा आफ्नो शासन सत्ता छोडेर बाहिरिएकाे इतिहास छ, नेपालको इतिहास पनि छ’ उनले भने ।

विगतमा निषेधाज्ञा नतोडेको भए संघीय लोकतान्त्रिक गणतन्त्रमा नजाने भन्दै उनले सरकारले सत्तामा हुँदा हिजोको इतिहास बिर्सेर जनतालाई दमन गरेको बताए ।

‘हामीले कुनै कुनाकाप्चामा गएर बोल्न आन्दोलन गरेका थिएनौं । सार्वजनिक ठाउँमा सबैले देख्ने ठाउँमा आन्दोलन गर्ने हो’ पाण्डेले भने ‘हिजो राजा ज्ञानेन्द्रले पनि कुनाकाप्चा देखाएका थिए । आज केपी ओलीजीले कुनाकाप्चा देखाएका छन्’ पाण्डेले भने ।

उनले सरकार अधिनायकवादी सोँचका साथ अघि बढेको आरोप लगाए । पाण्डेले डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशन बस्न जाँदा धरपकड गरेको भन्दै आपत्ति जनाए । त्यस्तै छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गंगामाया अधिकारीको माग पनि पूरा गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment