Comments Add Comment

चिनियाँ लगानीको माथिल्लो मर्स्याङ्दी-२ निर्माण सुरु नहुँदै विवादमा


२६ असार, काठमाडौं । चिनियाँ लगानीमा बन्न लागेको माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत आयोजना निर्माण सुरु नहुँदै विवाद उत्पन्न भएको छ । एउटै नदीमा दुई चिनियाँ लगानीका आयोजनाले बीच विवाद भएको हो ।

‘पिकिङ रन अफ दि रिभर’ प्रणलीमा बन्न लागेको यो आयोजनाले असर पर्ने भन्दै माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले विद्युत विकास विभागलाई पत्र लेखेको छ ।

माथिल्लो मर्स्याङ्दी-‘ए’ को प्रवर्द्धक सिनोहाइड्रो-सगरमाथा पावर कम्पनीले ६ सय मेगावाटको आयोजनालाई ‘पिकिङ रन अफ रिभर’ (पीआरओआर) प्रणालीमा बनाउँदा आफ्नो आयोजना सञ्चालनका लागि पानी नपुग्ने भन्दै पत्र लेखेको हो ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना ५० मेगावाट आयोजना सन् २०१७को जनवरीबाट सञ्चालनमा आएको हो । कम्पनीले अहिले माथिल्लो मस्र्याङ्दी-२ कै प्रस्तावित क्षमता र मोडलमा निर्माण भए आफ्नो आयोजना प्रभावित हुने दावी गरेको छ ।

त्यसैले आफ्नो आम्दानी घटेर लगानी खेर जाने अवस्था आउने कम्पनीले बताएको छ । कम्पनीले नयाा बन्न लागेको आयोजनाले आफूलाई असर नगर्ने ग्यारेन्टी मागेको छ ।

माथि नदीलाई थुन्दै छोड्दै गर्दा बनिसकेको आयोजना प्रभावित हुने अवस्था रहेको दावी सिनोहाइड्रो-सगरमाथा पावरको छ ।

हिमताल हाइड्रोपावरबाट प्रवर्द्धित माथिल्लो मर्स्याङ्दी-२ आयोजनालाई हाल लगानी बोर्डले सहजीकरण गरिरहेको छ । आयोजनालाई सरकारले अहिले उत्पादनको प्रमाणपत्र (जेनेरसन लाइसेन्स) दिन लागेको छ । यो लाइसेन्स जारी भएलगत्तै आयोजना निर्माणको काम सुरु हुनेछ ।

हेर्नुस् विद्युत विकास विभागले लगानी बोर्डलार्इ लेखेको पत्र

गत वैशाखमा भारतीय कम्पनी जीएमआरले ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजना चिनियाँ कम्पनीलाई बेचेको थियो । हिमतालले ओगटेको यो आयोजनामा जीएमआरको ८० प्रतिशत सेयर थियो, जसलाई चिनियाँ कम्पनी सिञ्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी र क्यूवाईसी इन्टरनेशनलले खरिद गरेका छन् ।

हाल प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पनि नेपालका विभिन्न कम्पनीसँग मिलेर आयोजना निर्माण गर्न चिनियाँ कम्पनीले सम्झौता गरेका छन् ।

नोभेम्बरदेखि मेसम्म दिनमा ३ घन्टा र जुन देखि अक्टोबरसम्म ६ घन्टा नदी पिकिङ गरेर यो आयोजना चलाउन प्रस्ताव गरिएको छ । यसरी माथि पिकिङ आयोजना चलाउँदा तल चलिरहेका आयोजनालाई नदीको लेभल नपुग्ने दावी सिनोको छ ।

विद्युत विकास विभागकी सूचना अधिकारी निशा रिजालले सिनो-सथरमाथाले आफूलाई असर पर्ने भन्दै पत्र लेखेको पुष्टी गरिन् ।

उनले बनिसकेका आयोजनालाई असर गर्ने गरी नयाँ आयोजना बन्न नहुने भन्दै प्राविधिक रुपमा त्यसलाई सकरी समाधान गर्ने हो भन्ने विषयमा स्पष्ट गर्न लगानी बोर्डलाई जानकारी गराइएको बताइन् ।

‘बनिसकेको आयोजनालाई असर नगर्ने गरी माथिल्लो मर्स्याङ्दी-२ बन्नुपर्छ । त्यसको लागि समन्वय गर्न भन्दै हामीले लगानी बोर्डलाई जानकारी गराएका छौं,’ रिजालले भनिन्,’यस्ता विषयहरुको सम्बोधन गरेर आयोजना बन्छ ।’

हेर्नुस् सिनो-सगरमाथाले विद्युत विकास विभागलार्इ लेखेको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment