Comments Add Comment

एक दिनमै सेयर राफसाफ ! हावादारी कि सम्भव योजना ?

८ जेठ, काठमाडौं । मुद्रा तथा पूँजी बजार सुधारको माग गर्दै लगानीकर्ताहरुले आन्दोलन थालेपछि अर्थमन्त्रालयले राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एउटा अध्ययन तथा सुझाव समिति गठन गर्‍यो । धितोपत्र बोर्ड, बैंकर्स संघ, सेयर लगानीकर्ता संघका प्रतिनिधिहरु सम्मिलित उक्त समितिलाई अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय हेर्ने समितिले सघाएको थियो । सोही समितिले पेश गरेको प्रतिवेदनको एउटा बुँदा थियो– सेयर खरिद राफसाफ थप प्रभावकारी बनाउन टी प्लस वान चक्रलाई कार्यान्वयनमा ल्याउने ।

वित्तीय क्षेत्रको विकास र स्थायित्व सम्बन्धी सुझावहरु अन्तर्गत मध्यकालीन रुपमा गरिनुपर्ने कामका रुपमा प्रतिवेदनको ७ (५४) नम्बर बुँदामा सो सुझाव समेटिएको छ । नेप्सेले सुरुवात गरेको अनलाइन प्रणालीलाई मर्चेन्ट बैंकर्ससँग र लगानीकर्ताको डीपी अकाउण्ट सीडीएस एण्ड क्लेयरिङ मार्फत आवद्ध गरी टी प्लस वान चक्र कार्यान्वयनमा ल्याउने प्रतिवेदनमा उल्लेख छ ।

लगानीकर्ताहरुकै मागअनुसार सरकारी नियामक निकायबाट सुरु भएको सुझाव कार्यान्वयनमा पुनः लगानीकर्ता नै असहमत देखिएपछि नेपाली सेयर बजारमा टी प्लस वान कार्यान्वयन सम्भव छ त भन्ने बहस सुरु भएको छ ।

राफसाफको टी प्लस वान चक्र कसरी चल्छ ?

अहिले बहस गरिएको टी प्लस वान चक्र भनेको मानाैँ सोमबार सेयर किनियो भने मंगलबार राफसाफ हुने भनिएको हो । सोमबार सेयर खरिद अर्डर गर्ने बितिक्कै लगानीकर्ताको खाताबाट पैसा घटाइन्छ र सोमबार उनको खातामा सेयर आउँछ । यस्तै सोमबार सेयर बेचिएको छ भने मंगलबार बिक्रेताको खातामा पैसा आउँछ ।

अहिले सेयर खरिदको तेस्रो दिनभित्र सेटलमेन्ट गराइसक्नुपर्ने नियम छ । जसले गर्दा सेयर बिक्रीको रकम लगानीकर्ताको हात पर्न झण्डै साता दिन लाग्ने गर्छ । टी प्लस वान चक्रमा खातामा रकम नभए कारोबार गर्न सकिन्न भने वर्तमान प्रचलनमा खातामा पैसा नभए पनि सेयर किनेर तीन दिनभित्र रकम जोहो गर्न छुट छ ।

अमेरिकाभन्दा एक कदम अगाडि ?

प्राविधिकरुपमा विश्वकै छरितो मानिने न्युयोर्क स्टक एक्सचेन्जले सन् २०१८ को सेप्टेम्बरबाट बल्ल सेयर खरिद राफसाफमा टी प्लस टु को चक्र प्रयोगमा ल्याएको छ । एशियाको प्रभावशाली मुलुक जापान र भारत लगायतका देशका सबै ठाउँमा समेत राफासाफ टी प्लस २ को चक्रमा जान सकेका छैनन् ।

तर, नेपालले अमेरिकाभन्दा पनि एक कदम अगाडि बढेर टि प्लस वानमा जाने बताइरहेको छ । पेमेन्ट गेट वे पूर्वाधार मजबुद नभएको मुलुकमा यो सम्भव नै नहुने विज्ञहरुको मत छ ।

लगानीकर्ता के भन्छन् ?

नेपाल इन्भेष्टर्स फोरमका कार्यबाहक अध्यक्ष छोटेलाल रौनियारले ५८ बुँदे सुझावमा कसरी टी प्लस वान वाक्य छिराइयो भन्दै आश्चर्य व्यक्त गरे । आफूहरुले नेपालमा टी प्लसु टु चक्र कार्यान्वयन गर्न सकिन्छ कि भन्नेबारे सोचेको मात्रै भए पनि टी प्लस वान को कुरा कुनै पनि तरिकाबाट व्यवहारिक नहुने उनको तर्क छ ।

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल नेप्सेको अनलाइन प्रणालीमा लगानीकर्ता पूर्णरुपमा आवद्ध भएपछि मात्रै टी प्लस वान कार्यान्वयनमा जान सजिलो हुने बताउँछिन् ।

तत्कालका लागि टी प्लस टुको चक्रमा जान सकिने भए पनि वानमै जाँदा बजारमा प्रत्यक्ष प्रभाव पर्ने पोख्रेलको धारणा छ । लगानीकर्ताको सुझाव कार्यन्वयनमा सरकार अग्रसर हुनु राम्रो भए पनि साना लगानीकर्ताका लागि टी प्लस वान तत्कालै व्यवहारिक नहुने उनी बताउँछिन् ।

नियामक के भन्छ ?

नाम नखुलाउने सर्तमा नियामक निकायका अधिकारी टी प्लस वान चक्रको कुरालाई हावादारी भन्छन् । नेपालमा सम्भव नै हुन नसकेको कुरालाई लहैलहैमा उचालिएको नियमक निकायका अधिकारीहरुको तर्क छ । मन्त्रीलाई बुझाएको सुझावमा टी प्लस वानको विषय औपचारिक रुपमा घुसेपछि सरकारी नियाक नै चकित परेको उनीहरु बताउँछन् ।

प्राविधिक पाटो के हो भनेर बुझ्दै नबुझी विषय प्रवेश गराएपछि हुँदैन भन्न नसकिने तर गर्न नसकिने अवस्थामा नियामक पुगेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment