News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनको ला लिगामा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ।
- रियलका केलिएन एमबाप्पे र जुड बेलिङघमले गोल गरे भने बार्सिलोनाका पर्मिन लोपेजले गोल फर्काए।
- खेलको अन्त्यमा तनाव बढ्दा पेड्रीलाई रातो कार्ड देखाइयो र खेलाडीहरुबीच भनाभन हुँदा सुरक्षा टोलीले छुट्याएको थियो।
९ कात्तिक, काठमाडौं । स्पेनमा दुई महारथी क्लबबीच भएको यस सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ ।
स्पानिस ला लिगा अन्तर्गत आइतबार राती घरेलु मैदान सान्टियागो बर्नावेउमा भएको खेलमा जित हात पार्दै शीर्ष स्थानको रियलले बार्सिलोनामाथि ५ अंकको अग्रता समेत बनाएको छ । रियलले १० खेलबाट २७ अंक जोड्दा बार्सिलोनाको २२ अंक छ । यस सिजन लिगमा बार्सिलोनाको यो दोस्रो हार हो ।
रियलका लागि केलिएन एमबाप्पे र जुड बेलिङघमले गोल गरे । बार्सिलोनाका लागि पर्मिन लोपेजले गोल गरे ।
नाटकिय रुपमा सुरुवात भएको खेलको अन्तयमा दुई टिमबका खेलाडीहरुबीच तनाव समेत उत्पन्न भएको थियो ।
खेलको दोस्रो मिनेटमै रियलले पेनाल्टी प्राप्त गरेपनि भिएआरले रेफ्रीको निर्णय उल्टाइदियो । यस्तै रियलका केलिएन एमबाप्पेले १२औं मिनेटमा गोल गरेका थिए । तर यस पटक पनि भिएआर बाधक बन्दा गोलले मान्यता पाएन । एमबाप्पेले नै २२औं मिनेटमा बेलिङघमको पासमा गोल गर्दै घरेलु मैदानमा रियललाई पहिले अग्रता दिलाए । यो अग्रता पनि लामो समय टिकेन । बार्सिलोनाका लागि पर्मिन लोपेजले ३८औं मिनेटमा बराबरी गोल फर्काए । उनले मार्कुस रासफोर्डको पासमा गोल गरे ।
तर त्यसको पाँच मिनेटपछि नै बेलिङहमले एडर मिलिटाओको पासमा गोल गर्दै पहिलो हाफमै रियललाई २-१ को अग्रता दिलाए ।
दोस्रो हाफमा रियलले गोल अन्तर बढाउने अवसर पाएको थियो । तर एमबाप्पे पेनाल्टीमा चुके । ५२औं मिनेटमा एमबाप्पेले प्रहार गरेको पेनाल्टी बार्सिलोनाका गोलकिपर वेजे सेज्नीले बचाउ गरे । एक गोलले पछि परेको बार्सिलोनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल भएन । इन्जुरी टाइमको दशौँ मिनेटमा बार्सिलोनाका पेड्रीले रातो (दोहोरो पहेँलो) कार्ड सामना गर्दै मैदान बाहिरिएका थिए ।
खेल सकिएपछि रियल र बार्सिलोनाका खेलाडीहरु भनाभनको स्थिती हुँदा सेक्युरिटीले दुवै टिमका खेलाडीहरु छुट्याउनु परेको थियो ।
रियलका प्रशिक्षकको रुपमा जावी अलोन्सोले एल क्लासिकोमा पहिलो जितको स्वाद चाखेका छन् ।
प्रतिक्रिया 4