९ कात्तिक, काठमाडौं । झण्डै ३५ वर्ष स्वास्थ क्षेत्रमा बिताएकी सुधा शर्माले २०६८ सालमा स्वास्थ्य प्रशासनको उपल्लो पद सचिवको कार्यकाल साढे दुई वर्ष बाँकी रहँदै पद छोडेर हिँडिन् । यसको एउटा मुख्य कारण थियो- राजनीतिक नेतृत्वबाट अनावश्यक हस्तक्षेप ।
तत्कालीन स्वास्थयमन्त्रीहरु राजेन्द्र महतो र उमाकान्त चौधरीले अनावश्यक हस्तक्षेप गरिररहेको भन्दै उनले विरोध गरिरहिन् । तर उनको आफ्नो अडान र विरोधलाई राजनीतिक नेतृत्वले वास्ता नगरेपछि उनले लामो समयसम्म राजनीतिक नेतृत्वसँग द्वन्द्व गरेर बस्न चाहिनन् । २०६५ असोजदेखि २०६८ पुस सचिवको रुपमा काम गरेकी उनी कार्यकाल बाँकी छँदै सचिवबाट राजीनामा दिएर बाहिरिइन् ।
पद छोडेर हिँडेपछि उनले आफ्ना स्वास्थ्य सेवाका अनुभव सहितको पुस्तक लेखिन्- सिंहदरबारको घुम्ने मेच । जुन पुस्तकबाट उनले स्वास्थ क्षेत्रका समस्या र राजनीतिक हस्तक्षेपबारे उल्लेख गरेकी छन् ।
राजनीतिक हस्तक्षेपका कारण पद छोडेर हिँडेकी शर्मा १४ वर्षपछि सिंहदरबारको घुम्ने मेचमा मन्त्रीको रुपमा फर्किएकी छन् ।
जेनजी आन्दोलनपछि बनेको चुनाव गराउने म्यान्डेटसहितको अन्तरिम सरकारमा उनलाई नागरिकको मात्र होइन मुलुकको बिग्रेको स्वास्थ्य पनि ठीक पार्ने एक सदस्यको हिस्सेदारी प्राप्त भएको छ ।
निर्वाचन गराउनुपर्ने म्यान्डेट बोकेको सरकारको मन्त्री बनेकी डा. सुधा यो समयमा ठूलै परिवर्तन गर्ने भन्दा पनि सम्हालिएर अघि बढ्नुपर्ने बताउँछिन् ।
‘यो केही महिनामा मन्त्री बनेर के–के न गरौंला भन्ने होइन,’ अनलाइनखबसँग उनले भनिन्, ‘तर यस्तो अवस्थामा देशलाई कसरी सम्हालेर लैजाने भन्ने चुनौती छ ।’
देशव्यापी सञ्जाल, नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको र धेरै बजेट भएकोले पनि स्वास्थ्यलाई ‘आकर्षक’ मन्त्रालयको रुपमा लिइन्छ ।
आफूले अहिलेसम्म कुनै राजनीतिक लाभ नलिएको उनी बताउँछिन् । उनी काठमाडौंको कन्यामन्दिर स्कुल हुँदै विसं २०३० सालमा अमृत साइन्स कलेजबाट आईएस्सी अध्ययन गरेकी थिइन् ।
त्यसपछि उनी थप अध्ययनकै लागि भारतको राँची विश्वविद्यालय पुगेकी थिइन् ।
उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी थिइन् ।
नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन् । अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन् ।

उनी २०६२/०६३ को जनआन्दोलनको समयमा अध्यक्ष भएकी थिइन् । उनले चिकित्सकलगायत प्रोफेसनलहरूको संस्था ‘पापड’को अध्यक्षका रुपमा आन्दोलनको नेतृत्व गर्नुका साथै घाइतेको उपचारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।
त्यतिबेलाको अवस्था स्मरण गर्दै उनी भन्छिन्, ‘मैले जनआन्दोलनका घाइतेको उपचार समन्वय गर्ने काम गरेको थिएँ । घाइतेका आन्दोलनका ट्रिटमेन्ट गरेर पूरा रिपोर्ट सरकारलाई हस्तान्तरण गरेको थिएँ ।’
आफूले गरेको त्याग सम्झँदै उनी लोकतन्त्र जोगाउने अभिभारा आफूमा भएको बताउँछिन् ।
‘यति सबै गरेर ल्याएको लोकतन्त्र जोगाउन मलाई ठूलो अभिभारा लाग्छ । देशमा संकट आयो भनेर मलाई सार्है पीडा भएको छ,’ डा. शर्मा भन्छिन् ।
उनी जन स्वास्थ्य विज्ञ पनि हुन् । उनले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकी छिन् । डा. शर्मा युकेस्थित रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गायनाकोलोजिस्ट्सकी फेलो हुन् र जन स्वास्थ्यमा स्नातकोत्तर गरेकी छन् ।
उनले नेपाल चिकित्सक संघका साथै नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग), दक्षिण एशियाली महासंघको अध्यक्ष र एशिया ओसियाना महासंघको शिक्षा समितिकी अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्।
महिलाको स्वास्थ्य क्षेत्रमा योगदानका लागि उनले एफआईजीओ वमेन अफ द इअर अवार्डसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन्।
यस्तै, उनले विभिन्न संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरेकी छन्। प्रसूति गृह (प्रोपकार मेटरनिटी अस्पताल)की निर्देशक र प्राध्यापकको रूपमा पनि सेवा गरेकी उनले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
त्यस क्रममा उनले हेल्थ सेक्टर स्ट्राटेजिक प्लान, राष्ट्रिय पोषण रणनीति, बिग रिजल्ट नाउ इनिसिएटिम र ग्लोबल फाइनान्सिङ फ्यासिलिटीका लागि समेत योगदान पुर्याएकी थिइन्।
हालै उनले स्वास्थ्य मन्त्रालय/ डीएफआईडीका लागि सल्लाहकारका रूपमा सेफ मदरहुड तथा न्युबर्न हेल्थ रोडम्याप २०३० बनाउन नेतृत्व गरेकी थिइन् ।
भारत, युके र नेपालमा विशेषज्ञता प्राप्त गरेकी छन् । उनी काठमाडौंकी बासिन्दा हुन् । हाल सीआइडब्लुआईसी अस्पतालकी सह–निर्देशकका रूपमा कार्यरत छिन् । उनका पति डा. विजय शर्मा पनि चिकित्सा क्षेत्रका विज्ञ हुन् ।
आफू सचिव भएको अवधिसमा उनले नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (एनएचएसपी—आईआई), सुरक्षित मातृत्व कार्यक्रम र नवजात शिशु स्वास्थ्य रोडम्याप २०३० को नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याइन् ।

उनले नेपाल मेडिकल एसोसिएसन, नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज, दक्षिण एशियाली प्रसूति तथा स्त्रीरोग महासंघ र एसिया ओसियाना फेडरेसन अफ ओब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजीको शिक्षा समितिको अध्यक्षको रूपमा काम गरिसकेकी छन् ।
युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभागको प्रमुख हुँदा उनले डेभलपमेन्ट पार्टनर्स ग्रुपको अध्यक्षको जिम्मेवारी सम्हालेर अन्तर्राष्ट्रिय स्वास्थ्य नीतिमा योगदान पुर्याइन् । उनले संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनमा सल्लाहकारको भूमिका पनि निर्वाह गरेकी छन् ।
डा. शर्माले चिकित्सकहरूको संस्था ‘पापड’ को अध्यक्षका रूपमा आन्दोलनको नेतृत्व गरेकी थिइन् । यस क्रममा उनले घाइतेहरूको उपचारमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।
भेरी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. किर्तिपाल सुवेदी डा. शर्मालाई ‘हक्की, निडर र बोल्ड’ व्यक्तित्वको रूपमा चिन्छन् ।
उनी भन्छन्, ‘म दाङमा मेडिकल अधिकृत हुँदा उहाँसँग काम गरेको अनुभव छ । त्यो बेला उनी स्पष्ट वक्ता, कुरा राम्रोसँग राख्न सक्ने हुनुहुन्थ्यो । सचिव हुँदा उहाँले बोल्ड निर्णय लिनुहुन्थ्यो । स्वास्थ्य क्षेत्रका समस्याहरु, जस्तै स्वास्थ्यकर्मीको ओभरलोड, स्वास्थ्य संस्थाहरूको अपग्रेड नहुनु, बन्द दरबन्दी र समायोजनका अप्ठ्याराहरू बुझ्न उहाँलाई सजिलो हुनेछ ।’
उनी गाइनोकोलोजिस्ट भएको नाताले महिला स्वास्थ्यलाई प्राथमिकता दिन सक्ने उनको अपेक्षा छ । ‘अहिले पनि महिला स्वास्थ्यमा समानता र समावेशिताको कुरा उठिरहँदा उहाँको अनुभवले यो क्षेत्रमा सुधार ल्याउन सक्छ । उनको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले प्रभावकारी काम गर्ने अपेक्षा छ ।’

डा. सुधा निकट नोबेल मेडिकल कलेज, विराटनगरका मनोचिकित्सा विभाग प्रमुख डा. नवराज कोइरालाले भने, ‘उनी डाइनामिक प्रोफेसनल र स्वास्थ्य मन्त्रीका लागि परफेक्ट क्यान्डिडेट हुन् । उनीमा फाइटिङ स्पिरिट छ, डराउनुहुन्न र बोल्ड निर्णय लिन सक्नुहुन्छ ।’
डा. शर्माले स्वास्थ्य सचिवको कार्यकाल साढे दुई वर्ष बाँकी हुँदा वि.सं. २०६८ पुसमा राजीनामा दिएर युनिसेफ तान्जानियाको स्वास्थ्य तथा पोषण विभागको प्रमुख (ए–५ तह) मा काम गरेकी थिइन् । यो कदमलाई केहीले ‘गैरजिम्मेवार’ र ‘पैसाका लागि पद त्याग’ भन्दै आलोचना पनि गरेका थिए । तर उनले राजनीतिक नेतृत्वसँग चुलिएको असमझदारीका कारण पद छोडेकी थिइन् ।
डा. शर्मा नेपाल मेडिकल एसोसिएसनकी पूर्वअध्यक्ष पनि हुन् । कतिपयले उनलाई नेपाली कांग्रेस निकट चिकित्सकहरुको समर्थनमा एनएमए अध्यक्षको निर्वाचन जितेको आरोप पनि लगाउँछन् ।
हालै पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलको क्याबिनेटमा उनी अवैतनिक विज्ञ सल्लाहकार थिइन्, जसमा डा. भगवान कोइराला र रघु काफ्ले पनि संलग्न थिए । यद्यपि, यो समितिले मन्त्रालयको कार्यक्षमता बढाउन काम गरेको थियो ।
यसअघि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रलाई मन्त्री बनाउने चर्चा थियो । तर, भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले उनको नियुक्ति रोकियो । त्यसपछि उनको नाम मन्त्रीमा आएको हो ।
डा. शर्माको ३५ वर्षभन्दा बढी अनुभव र स्वास्थ्य क्षेत्रको गहिरो समझले स्वास्थ्यकर्मीको मनोबल बढाउन, बन्द दरबन्दी खोल्न, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्न र स्थानीय तहका स्वास्थ्यकर्मीका समस्याहरू समाधान गर्न सहयोग पुग्ने कतिपयको अपेक्षा छ ।
प्रतिक्रिया 4