+
+
Shares

पाँचथर सामूहिक हत्या प्रकरण : संदिग्ध मानिएका ज्वाइँले गरे ‘आत्महत्या’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते १३:३१

७ जेठ, पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका माखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । अधिकृतहरुका अनुसार माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्रोतले भन्यो ।

घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि माखिमकै थियो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताए । उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’

गएराति भएको घटनामा दुई घरका गरी ९ जनाको हत्या भएको थियो । हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ ।

प्रदेश प्रहरी कार्यालयले पनि एसएसपीको नेतृत्वमा टोली खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?