Comments Add Comment

कार्यालय प्रयोजनमा विद्युतीय गाडी मात्र किन्दै प्राधिकरण

७ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंभित्र कर्मचारीले चढ्ने प्रयोजनका लागि विद्युतीय गाडी मात्रै किन्ने भएको छ । प्राधिकरणले अब डिजेल र पेट्रोल गाडीको प्रयोगलाई निरुत्साहित गर्न आफैंले विद्युतीय सवारी प्रवर्द्धन गर्न लागेको हो ।

त्यसको सुरुआत काठमाडौंभित्र गुड्ने प्राधिरकणका गाडी विद्युतीय नै लिने नीति लिन लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘कर्मचारी कार्यालयबाट घर आउन-जान प्रयोग हुने गाडी अब विद्युतीय नै किन्छौं,’ घिसिङले भने,’ विभिन्न आयोजनाका साइटमा जाने भने विद्युतीय सवारीको लागि चार्जिङको समस्या हुन्छ । काठमाडौं भित्र चल्ने सवारी अब विद्युतीय नै किन्न थालेका छौं ।’

जलविद्युत तथा प्रसारण लाइन आयोजनाको लागि भने तत्काल डिजेल र पेट्रोल गाडीको विकल्प सोच्न नसकिने उनले बताए ।

चार्जिङ स्टेसन खुल्दै

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यसहित आफैंले चार्जिङ स्टेसन स्थापना पनि गर्दैछ । पहिलो चरणमा काठमाडौंमा १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गर्न प्रक्रिया अघि बढेको छ । यसमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिनेछ ।

प्राधिकरणले शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन ब्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतमा यस्तो स्टेसन राख्न लागेको हो ।

विशेष गरी धेरै चहल-पहल हुने शहरी क्षेत्रमा पहिलो चरणमा ‘डीसी बुस्ट चार्जिङ स्टेसन’ राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञावालीले जानकारी दिए ।

‘हामी धेरै गाडीको चहल-पहल हुने ब्यापारिक स्थानमा यस्तो चार्जिङ स्टेसन राख्नेछौं’ उनले भने,’यसले ती ठाउँमा जाने व्यक्तिको संख्या बढेर त्यस्ता संस्थालाई फाइदा हुनेछ भने हामीले चार्जिङ स्टेसनको सुविधा दिन सक्नेछौं ।’

यस्ता चार्जिङ स्टेसनका लागि तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने ठाउँ उपलब्ध हुनुपर्नेछ । यस्तै ५० वटा गाडी पार्किङको सुविधा भएका ठाउँलाई मात्र चार्जिङ स्टेसनका लागि छनोट गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस नियमित बिजुलीका कारण घट्न थाल्यो इन्धन आयातको वृद्धिदर

हाल पहिलो चरणमा १० चार्जिङ स्टेसनका लागि कन्ट्रोल रुमसहति १० करोड लगानी गर्ने योजना छ ।  अबको ६ महिनमा उपत्यकाभित्र चार्जिङ स्टेसन खालिसक्ने योजना छ । हाल काठमाडौंमा ६ सय विद्युतीय सवारी रहेको अनुमान छ । ती सवारी घरमै निकै समय लगाएर चार्ज गरी चलाइन्छ ।

अब भने छिटो चार्ज हुने गरी साना सवारीका लागि प्राधिकरणले शहरका विभिन्न भागमा सुविधा दिन लागेको हो । यो सुविधापछि विद्युतीय सवारीको प्रयोगकर्तामा आत्मविश्वास बढ्ने र थप विजुली गाडी प्रयोगमा आउन सुरु हुने विश्वास प्राधिकरणको छ ।

अहिले स्थापना गर्न लागिएको एउटा चार्जिङ स्टेसनमा फरक-फरक पोर्टमा लाग्नेखालका तीनवटा चार्जर हुनेछन् । ती ५०/५० किलोवाटका हुनेछन् । एउटा चार्जिङ स्टेसनमा एकैपटक तीनवटा सवारीले चार्ज गर्न सक्छन् ।

यस्तो चार्जिङ स्टेसनलाई एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आवद्ध गरिनेछ । कन्ट्रोल सबैलाई रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने गरी स्टेसन निर्माण हुनेछ ।

‘बेलुकीको समयमा हाम्रो सिस्टमलाई धेरै विजुली चाहिएको हुन्छ, त्यो समयममा चार्ज रोक्नुपर्छ,’ ज्ञावालीले भने ।

यस्तै यस्ता चार्जिङ स्टेसनमा जाँदा मोबइल एपबाटै समय बुक गर्न सकिने प्रवन्ध पनि गरिने ज्ञावालीले बताए । आफूले बुक गरेको समयमा स्टेसन पुगेर चार्ज गराउन सकिनेछ ।

भविष्य हेरेर प्रवर्द्धन

आगामी पुसदेखि माथिल्लो ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया शुरु गर्न लागिएको प्राधिकरण बताउँछ ।

अब देशभित्रै बिजुलीको खपत बढाउन आवश्यक हुने भएकाले त्यसका लागि विजुली गाडीको प्रवर्द्धन योजना बनेको कार्यकारी निर्देशक घिसिङले बताए । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विजुली बढी हुने अवस्था आउनसक्ने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।

हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण करिब ९८ प्रतिशत बढी सम्पन्न भएको छ । आगामी पुसमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

विद्युतभार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणका काठमाडौँका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन खडा गर्नेछ ।

काठमाडौँपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेसन जडान गने योजना छ । साना सवारीका लागि स्टेसन बनाएलगत्तै उपत्याकभित्र बसहरुका लागि पनि स्टेसन बनाइने ज्ञावाली बताउँछन् ।

पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment