
१ कात्तिक, काठमाडौं । जेनजी अभियन्ता मिरज ढुंगानाले शनिबार दिउँसो नयाँ दलको नाम घोषणा गर्ने अपेक्षा थियो । सामाजिक सञ्जालबाट दल खोल्ने तयारी भएको जानकारी दिएका उनले सञ्चारकर्मीहरूलाई नयाँ बानेश्वरको एभरेष्ट होटलमा बोलाइएको थियो ।
शुक्रबार अनलाइनखबरसँग जेनजी आन्दोलनको जगमा पार्टी खोल्ने योजना सुनाउँदै मिरजले पार्टीका संरचनाबारे शनिबार पत्रकार सम्मेलनमा जानकारी दिने बताएका थिए ।
तर, उनले नयाँ दलको नाम घोषणा गरेनन् । बरू, आफ्ना माग सुनाए । अनि ती माग पूरा नभए निर्वाचनमा सहभागी नहुनेसम्मका योजना सुनाए ।
नेतृत्व भनेको अग्रचेतना हो, त्यसैले नेतृत्वबाट अगाडिको बाटो र भिजन अपेक्षित हुन्छ ।
तर, शनिबार बानेश्वर पुगेका सञ्चारकर्मी र उनका शुभचिन्तकहरूले मिरजबाट अगाडिको बाटो र भिजन सुन्न पाएनन् । सोचेजस्तो ‘स्पष्टता’ भेटेनन् ।
पत्रकार सम्मेलनको दृश्य
पत्रकार सम्मेलनमा सञ्चारकर्मीमात्रै थिएनन् । विभिन्न रुचिसहित पुगेका सहभागीहरूको प्रश्न फेस गर्नुपरेपछि मिरज आफैंले अरूलाई नबोल्न आग्रह गर्नुपर्यो ।
‘पार्टी खोल्छौँ भनेर सुनाउन बोलाइएको रहेछ । यो कुरा त फेसबुक पेजमै थियो । खासमा नयाँ केही भएन,’ हलमा भेटिएका एक युवाले भने । खासमा स्टेजमा रहेका मिरज समूह र तल क्यामेराबीच वार्ता चलिरहेजस्तो देखिन्थ्यो ।
अस्पष्टताले बढाउने नै असमञ्जस्यता हो । स्टेजमा रहेको मिरज समूहसँग मात्र हैन, तल रहेका युट्युवरबीच नै बाझाबाझ भएका दृश्य त्यहाँ देखियो ।
यत्रो पत्रकार सम्मेलन आखिर के का लागि थियो ? त्यो पनि स्पष्ट न मिरजले गर्न सके, न उनको समूहले नै ।
दल खोल्ने योजनामा रहेको र त्यसको लागि सरसल्लाह लिन एउटा टोली गठन गरिएको सम्मका कुरा आयोजकले बताए । ‘दलको नाम हामी मात्रै घोषणा गर्ने होइन, तपाईंहरूको सुझाव लिएर गर्ने हो,’ मिरजले भने ।
सरकारको म्यान्डेट के हो ?
जेनजी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा सरकार किन बन्यो ? मिरजका अनुसार त, यो सरकारको म्यान्डेट नै चुनाव गराउनु होइन । यो सरकार महत्त्वपूर्ण विषयमा संविधान संशोधन गराएर अघि बढ््न बनेकोले चुनाव गराउने यसको म्यान्डेट नरहेको उनको तर्क गरे ।
‘यदि अहिलेको सरकारलाई चुनावी सरकार बन्ने कुरा सोच्नुभएको छ भने त्यो भ्रम हो । यो सरकारको उद्देश्य यही अवस्थामा चुनाव गराउनु होइन,’ उनले भने ।
चुनाव जाने उद्देश्यले आफूहरूले दल नखोलेको विषय उनले बारम्बार दोहोर्याए । देश विकासको लागि र सबै छरिएर रहेका शक्तिलाई एक ठाउँमा ल्याउन यसको आवश्यकता देखेको उनले ठम्याइ थियो ।
पत्रकारहरूले चुनावमा नजाने भए दल किन खोलेको भन्ने प्रश्नमा उनको जवाफ अनौठो थियो । ‘कि त मैले एनजीओ खोल्नुपर्यो देश विकासको लागि, कि त मैले राजनीतिक दल खोल्नुपर्यो । कि त हुलुमुलमै रहनुपर्यो । हुलमुलमा रहेर देश विकास हुँदैन,’ मिरजले भने ।
उनले थपे, ‘हुलमुलमा हुँदा अहिलेको जेनजीजस्तै हुन्छ । कोही यता कोही उता । प्रधानमन्त्रीले पाँचजना बोलाउने, अर्कोले पाँचजना… यसरी छरिन्छ । सबैजना छरिँदा सरकारले कसको कुरा सुन्ने ? यस्तो हुँदा हामी दिशाहीन हुन्छौं ।’
त्यसो त, केही अघिसम्म मिरजले आफू राजनीतिमा नआउने बताइरहेका थिए । सोही विषयमा टेकेर त्यहाँ प्रश्न उठ्यो, ‘हिजोसम्म राजनीतिमा आउँदिन भन्नुभएको तपाईं आज किन पार्टी खोल्दै हुनुहुन्छ ?’
मिरजको जवाफ थियो, ‘नआएर के गर्ने ? यत्रो बलिदानी खेर जान दिने ? त्यसैले सबै एक ठाउँमा आऔँ । मेरो सबैलाई अनुरोध छ ।’
मिरजको बटमलाइन
यसरी आफ्ना कुरा राखिरहेका मिरजले आफ्ना एजेन्डा पनि सुनाए । उनका अनुसार, यो उनको नयाँ बन्ने पार्टीको बटमलाइन हुनेछ, जो पूरा नभई यो दल चुनावमा सहभागी हुनेछैन ।
जस्तो, प्रत्यक्ष कार्यकारी शासकीय स्वरूप, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि नागरिक स्तरीय छानबिन समिति गठन र आर्थिक रूपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्ने ।
‘भ्रष्ट्राचारदेखि अरू कुराको छानबिनमा नागरिक स्तरको छानबिन समिति चाहियो । यहाँ सबै पोलिटिकल नियुक्ति भयो, राजनीतिक दलका मान्छे भए । अनि यस्तोमा अब चोरले कहाँ चोर समाउँछ ?,’ मिरजको प्रतिप्रश्न थियो ।
मिरजका अनुसार, उनले खोल्ने पार्टीको अभियान नै ‘गरिखान देऊ’ हुनेछ । सोही अभियानमा केन्द्रित रहेर आफूहरू हिँड्ने उनले बताए । साथै ‘जेनजी’ प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा आफूहरू पुगेको उनको भनाइ थियो ।
‘निर्वाचनमा किन नजाने ?’
दलहरू चुनावमा एजेन्डा राख्छन्, जनताबाट अनुमोदित भएर ती एजेन्डा लागु गर्न प्रयास गर्छन् । तर मिरजले भने माग पूरा गरेर मात्र चुनावमा जाने बताए ।
यसबीचमा मिरजमाथि निर्वाचनमा किन नजाने ? भन्ने प्रश्न दोहोरियो । हातमा माइक समाएका पत्रकार ऋषि धमलाले बोलिहाले, ‘जेनजी निर्वाचनमा जान्छ ।’
तर, तत्काल मिरजले माइक लिएर भनिहाल्छन्, ‘हाम्रा बटमलाइन पूरा नभएसम्म चुनावमा जाँदैनौँ ।’
यसरी चुनावमा नजाने तर पार्टी खोल्ने मिरजको योजनालाई लिएर अधिकांश आश्चर्यचकित देखिएका थिए, जसलाई लिएर विभिन्न टिकाटिप्पणी भए र प्रश्न उठे ।
कतिपय प्रश्नकर्ता यूट्युबर त यस विषयलाई लिएर लफडा गरिरहेका थिए । ‘न पार्टीको नाम छ, न केही ? फेसबुकमै लेखेको कुरा सुनाउन किन यत्रो दु:ख दिएको ?,’ कतिपय आक्रोशित पनि सुनिए ।
तर, यसबारे पटकपटक मिरजले भनिरहे, ‘पार्टीको नामदेखि अरू विधान र संरचना कस्तो बनाउने भनेर सल्लाह लिइरहेका छौँ । सबै नेपालीलाई हामीले बोलाएका छौँ । सबैले आफ्नो सल्लाह दिनुस्् ।’
सगरमाथादेखि बुद्धसम्मको व्याख्या
यसरी आफ्ना योजना सुनाउँदै उनले देशमा रहेको विद्यमान समस्याबारे पनि बोले । उनका अनुसार, देशमा महंगी बढेको छ । कलकारखाना ठप्प छन् ।
‘युवालाई अहिले खाइरहेको २५ हजारको जागिरले पुग्दैन । त्यसैले पनि नयाँ ढंगले लाग्न नयाँ सोचसहितको पार्टी चाहिन्छ,’ उनको जोड थियो ।
उसोभए त्यो नयाँ सोच के हो त ? के नयाँ योजना उनका पार्टीले ल्याउलान् ? मिरजले अमूर्त जवाफ फर्काए, ‘यो देश सबैभन्दा राम्रो देश बनाउन सकिन्छ । किनभने यहाँ अथाह सम्भावना छ ।’
नेपालमा बन्द भएका कलकारखाना किन खुल्दैन ? जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, गोरखकाली टायर, हेटौंडाको धागो उद्योग, बाँसबारी छालाजुत्ता कारखाना किन खुलेनन् ? यस्ता विषयको दोष उनले यसअघिका सरकारलाई दिएका छन् ।
‘हामी कोहीभन्दा कोही कम भएर जन्मेको हो र ? अरू देशमा भएकामा भन्दा कम क्षमता छ र हामीमा ? अनि अर्काको देशमा दोस्रो दर्जाका नागरिक भएर किन बस्ने ?,’ मिरजले भने, ‘हामी कोहीभन्दा कम छैन ।’
त्यसबाहेक उनले देशभित्रै देखेको अर्को सम्भावना हो, नेपालमा रहेका अग्ला हिमशृंखला । यहाँ रहेका आठ हजार मिटरभन्दा उचाईका हिमाललाई पनि उनले सम्भावनाको रूपमा हेरेका छन् ।
व्यवसायिक पृष्ठभूमिबाट आएका मिरज भन्छन्, ‘त्यसैले यी हिमशृंखला नेपालको ‘युनिक सेलिङ पोइन्ट (युएसपी)’ हो ।’
त्यस्तै, अर्को प्रसंगमा उनी लागे । हिमशृंखलापछि बुद्धको कथामा उनले नेपाल विकासको सम्भावना देखे । उनले थपे, ‘बुद्ध कहाँ जन्मेका थिए ? नेपालमा । पशुपति कता छ ? नेपालमा । यो कुरा नेपालबाट चिनिन्छ कहिले ? सुनको खानीमा बसेर हामी मान्छे बाहिर पठाउने ? यो कुरा कहिले बुझ्ने हामीले ?’
भूराजनीतिको मिरज व्याख्या
अब मिरज भूराजनीतिक कुरामा आउँछन् । दुई ठूला छिमेकी चीन र भारतको जनसंख्यालाई लाभको रूपमा लिनसक्नुपर्ने उनको तर्क थियो । ‘हामी संसारकै सबैभन्दा धेरै जनसंख्या भएका दुई ठूला देशको बीचमा छौं । यता नेपालमा हामीले बेच्न मिल्ने धेरै युनिक कुरा छ, जुन अरू देशमा छैन । त्यसैले यी कुरा ती देशमा नागरिकलाई पनि बेच्नसक्छौं,’ उनले भने ।
‘तीन अर्बको खपत गर्नसक्ने जनसंख्या कम हो ?,’ एजेन्डा सुनाउँदै उनी प्रश्न गर्छन्, ‘तर, यहाँ उद्योगधन्दा, कलकारखाना खोल्ने कुरै उठाउँदैनौँ । अनि कसरी अघि बढ्छौँ ?’
यसरी आफ्ना एजेन्डा सुनाइरहेका मिरज सन्् २०२४ मा फर्कन्छन् । नेपालको चियाले विश्वस्तरमा पुरस्कार पाएको प्रसंग कोट्उँछन्् । र, थप्छन्, ‘नेपालले २०२४ मा विश्वकै उत्कृष्ट चियाको पुरस्कार जितेको थियो । यस्ता चिया निर्यातमा ध्यान दिनुपर्दैन ?’
आफ्ना कुरा राख्दा मिरजले बारबार दोहोर्याएको कुरा थियो – विदेश पलायन भएर हामी किन दोस्रो दर्जाका नागरिक हुनुपर्ने ?
प्रश्न सँगसँगै उनी डर देखाउँथे, ‘अब यसैगरी विदेश पलायन भए १० वर्षमा नेपाल रित्तिन्छ ।’
छेउमा उभिएका साफी
मिरज स्टेजमा बोलिरहँदा त्यहीँ छेउमा उभिएका थिए– इन्द्रजित साफी । उनी शहीद परिवारको माग पूरा गर्नुपर्ने भन्दै प्लेकार्ड बोकेर उभिएका थिए ।
माथि स्टेजमा बसेकाहरू भने आफैंभित्र अलमल देखिन्थे । ढुंगानाको पत्रकार सम्मेलनमा साफी कालो चस्मा र मास्क लगाएर देखिए । उनले आफ्नो छातीमा एउटा सेतो कागजमा प्लेकार्ड बोकेका थिए । जहाँ लेखिएको थियो– मेरो आत्माले कहिले शान्ति पाउने ?
नजिकै ती युवाले शहीद परिवारका माग भनेर सात वटा बुँदामा केही माग राखेका छन् । ‘जेनजी आन्दोलनमा गोली चलाउने माथि छानबिन कहिले ?’, ‘नि:शुल्क शिक्षा, उपचार, साथै रोजगारीको व्यवस्था’, ‘प्रत्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री’ लगायतका माग राखेर उनी उभिएका छन् ।
प्रतिक्रिया 4