
१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जेनजी समूहमा पर्ने युवासँग जोडिन नसकेकै कारण भदौ २३–२४ को विद्रोहको छनक पाउन नसकिएको भन्दै डिजी युथ कांग्रेस गठनको प्रस्ताव गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा पौडेलले आगामी दिनमा पार्टी र देशको नेतृत्व लिन अहिलेको युवामा क्रमश: राजनीतिक र देशको प्रशासनिक नेतृत्व लिन सक्ने क्षमता विकास गर्दै लैजानु पर्ने भन्दै ‘डिजी युथ कांग्रेस’ गठनको प्रस्ताव गरेका हुन् ।
के हो डिजी युथ कांग्रेस ?
भूमण्डलीकृत विश्वमा सूचना प्रविधिमा आधारित नयाँ पुस्ताको चाहना र आवश्यकता बुझेर उनीहरूको राय–सल्लाह लिने र संगठित गर्ने संयन्त्र पार्टीले निर्माण गर्न नसकेको निष्कर्ष नेता पौडेलको छ ।
त्यसैले उनले डिजी युथ कांग्रेस अर्थात् ‘डिजिटल जेनेरेसन युथ कांग्रेस’ लाई पार्टीको शुभेच्छुक संस्था वा भ्रातृ संस्थाको रूपमा गठन गरिनुपर्ने लिखित प्रस्तावमा उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसमा नयाँ प्रविधि, सोच, विश्व युवा आन्दोलन, युवाका समकालीन मुद्दा, समाज रूपान्तरणका विषयहरू पार्टीमा प्रवेश गराउने एक महत्वपूर्ण कडीको रूपमा युवाहरूलाई लिनुपर्ने हुन्छ’ उनको प्रस्तावमा भनिएको छ, ‘यसै आवश्यकतालाई आत्मसात गरी नेपाली कांग्रेसमा शुभेच्छुक संस्था वा भ्रातृ संस्थाको रूपमा डिजिटल जेनेरेसन युथ कांग्रेस गठनको अवधारणा प्रस्ताव गरेको छु ।’
डिजी युथ कांग्रेसमा ३० वर्ष मुनिका र विद्यालय तहको शिक्षा पूरा गरेका युवालाई सदस्यता दिएर प्रभावकारी रूपमा कांग्रेसले अपनत्व दिने गरी संगठनका रूमा अगाडि बढाउनुपर्ने पौडेलको प्रस्ताव छ ।
‘यस डिजिटल जेनेरसन युथ कांग्रेसले जेनजी पुस्तामात्र होइन, त्यसपछिको जेनेरेसन अल्फालाई सँगै समेट्दै अगाडि बढ्नुपर्छ,’ उनको भनाइ छ, ‘नेपाली कांग्रेसले अहिलेको जेनजी पुस्ता मात्र होइन, अब वर्षौंपछिका पुस्ताहरूलाई पनि सम्बोधन गर्न सक्ने नीतिहरू अवलम्बन गर्न थाल्नुपर्छ ।’
३० वर्ष मुनिका विद्यालय तहको शिक्षा पूरा गरेका देश तथा विदेशमा रहेका इच्छुक नेपाली युवा ‘डिजी युथ कांग्रेस’ को सदस्य हुने सक्ने र उनीहरूका लागि समान प्रकृतिको सदस्यता उपलब्ध गराइने प्रस्तावमा उल्लेख छ ।
कस्तो हुन्छ सांगठनिक स्वरूप ?
नेता पौडेलले डिजी युथ कांग्रेसको सांगठनिक स्वरूप पनि सुझाएका छन् । उनका अनुसार, डिजी युथ कांग्रेसको समिति प्रत्येक स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रमा रहने छ । यसको विधान तर्जुमा गरेर गठन तथा सञ्चालनसम्बन्धी स्पष्टताका साथ काम गर्ने प्रस्तावमा उल्लेख छ ।
पौडेलको प्रस्तावमा भनिएको छ, ‘तत्कालको लागि ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा एक–एक डिजी युथ कांग्रेस तदर्थ समिति गठन गरी कार्य आरम्भ गर्ने । केन्द्रमा १ जना संयोजक रहनेगरी १२५ सदस्यीय तदर्थ समिति, प्रदेशमा १ जना संयोजकसहित प्रत्येक जिल्लाबाट ५ जना सदस्य रहने गरी तदर्थ समिति, जिल्लामा १ जना संयोजकसहित प्रत्येक स्थानीय तहबाट ५ जना सदस्य रहने गरी तदर्थ समिति गठन हुनेछ ।’
तदर्थ समितिले विधान पारित भएको तीन महिनाभित्रमा महाधिवेशन सम्पन्न गरी निर्वाचित समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने र देशभरका सबै युवा सदस्यहरूको मतदानको आधारमा महाधिवेशन गर्ने प्रणाली विकास गरिने पौडेलको प्रस्ताव छ ।
‘एक निर्वाचित समितिले अर्को समितिलाई समयमा नै जिम्मेवारी हस्तान्तरण गर्ने परिपाटीको अभ्यास डिजिटल युथ कांग्रेसले गर्नेछ,’ उनले भनेका छन् ।
प्रस्तावमा प्रत्येक स्थानीय तहमा संयोजकसहित कम्तीमा २१ सदस्य रहने गरी स्थानीय ‘डिजी युथ कांग्रेस’ गठन गर्ने, प्रत्येक जिल्लामा संयोजकसहित प्रत्येक पालिकाबाट कम्तीमा दुई सदस्य रहने गरी जिल्ला ‘डिजी युथ कांग्रेस’ गठनको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
यस्तै प्रत्येक प्रदेशमा संयोजकसहित हरेक जिल्लाबाट पाँच जनाका दरले प्रदेश ‘डिजी युथ कांग्रेस’ तथा केन्द्रमा संयोजक र तोकिएका पदाधिकारीसहित एक सय सदस्यीय कार्यसमिति निर्वाचित गर्ने पनि प्रस्तावमा लेखिएको छ ।
‘केन्द्रीय तदर्थ समितिले अन्य तदर्थ समितिसँग समेत राय लिएर ३० दिनभित्र विधानको मस्यौदा नेपाली कांग्रेस केन्द्रीय समितिमा पेस गर्नेछ,’ प्रस्तावमा भनिएको छ, ‘पार्टीबाट अनुमोदन भएपश्चात त्यसै विधानमा भएको व्यवस्थाबमोजिम ‘डिजी युथ कांग्रेस’ ले आधिकारिक समिति गठन गर्नेछ ।’
नयाँ पुस्तासँग निरन्तर संवाद
डिजी युथ कांग्रेसले युवाका बीचमा राष्ट्रिय सवालहरूमा निरन्तर अन्तरसंवादको आयोजना गर्नेछ । यसले युवाका बीचमा अन्तर्राष्ट्रिय समसामयिक विषय, घटना तथा परिवेशका विषयमा चर्चा–परिचर्चा गर्ने, विश्वको राजनीतिक, आर्थिक, सामाजिक पक्षहरूको गहन विश्लेषण लगायतका काम गर्ने पनि प्रस्तावमा छ ।
आधुनिक प्रविधिको प्रयोगप्रति युवालाई अभ्यस्त गराउँदै लैजानेदेखि विश्वविद्यालयमा अध्ययनरत तथा विभिन्न पेशा व्यवसायमा संलग्न युवालाई लोकतान्त्रिक प्रणालीका बारेमा जानकारी गराउने काममा पनि डिजी युथ कांग्रेसले भूमिका खेल्नेछ ।
नेपालको राजनीतिक प्रणालीमा देखिएका समस्या तथा सुधारका विषयमा छलफल गर्ने, आधुनिक र ऊर्जाशील युवाहरूलाई संगठित गरी सद्मार्गमा हिंडाउन भूमिका निर्वाह गर्नेलगायतका बुँदाहरू पनि प्रस्तावमा छन् ।
डिजी युथ कांग्रेसलाई पार्टीमा कस्तो भूमिका पाउँछन् ? नेता पौडेलको प्रस्ताव अनुसार, यसले पार्टी सुधार तथा युवा सहभागिता वृद्धिका लागि नियमित सुझाव उपलब्ध गराउनेछ ।
साथै, पार्टीको केन्द्रीय कार्यसमितिमा ‘डिजी युथ कांग्रेस’ का तर्फबाट दुई जना केन्द्रीय सदस्य मनोनित हुने प्रबन्ध गरिनेछ ।
स्थानीय चुनावमा डिजी युथ कांग्रेसका प्रतिनिधिलाई टिकट दिन प्राथमिकतामा राख्ने, प्रत्येक जिल्लाबाट दुई–दुई जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गर्ने, पार्टीको नीति निर्माण तथा निर्णय निर्माणमा संलग्न गराउने पौडेलको प्रस्ताव छ ।
प्रस्तावमा डिजी युथ कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिमा रिपोर्टिङ गर्न पाउने पनि उल्लेख छ । ‘डिजी युथ कांग्रेसले पार्टी केन्द्रीय समितिमा वर्ष दिनमा आफूले सम्पादन गरेका काम र पार्टीलाई दिनुपर्ने सुझावहरू समावेश गरी वार्षिक प्रतिवेदन बुझाउनु पर्नेछ,’ नेता पौडेलको प्रस्तावमा लेखिएको छ ।
प्रतिक्रिया 4