+
+
Shares

राजविराजमा बजार अनुगमन, कुहिएको मासु भेटिएको पसलमा तालाबन्दी

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ वैशाख ३० गते ९:१४

३० वैशाख, सप्तरी । सप्तरीको राजविराजमा संयुक्त बजार अनुगमन समितिले मासु पसलहरुबाट खान अयोग्य मासु फेला पारेको छ । त्यस्ता मासु बिक्री गर्ने पसलेको सटरमा तालाबन्दी गरिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर–३ मा एक वर्षदेखि सन्चालनमा रहेको मोहम्मद  कादिर, मोहम्मद मस्तकिमको समेत ३ वटा दर्ता नरहेको मासु पसलबाट अनुगमन टोलीले खान अयोग्य मासु बरामद गरी सटरमा ताल्चा लगाएको हो ।

राजविराज नगरपालिकाको पशुपंक्षी विकास शाखाको विज्ञ पशु चिकित्सक सन्नी कुमार दासका अनुसार खान अयोग्य ६ किलो बासी मासु नष्ट गरिएको छ ।

यसैगरी राजविराज नगरपालिका पशुपंक्षी विकास शाखाद्वारा संचालित हटियास्थित सावित्री खसी मासु पसलमा १० किलो बढी कुहिएको मासु भेटिएको छ । त्यसलाई नष्ट गरिएको छ ।

संयुक्त बजार अनुगमन समितिले मंगलबार मासु पसल तथा होटलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय पसलमा कुहिएको मासु फेला परेको र कतिपयमा निर्धारितभन्दा बढी मूल्यमा बिक्री गरिरहेको पाइएको छ ।

त्यसैगरी राजबिराजमा नाम चलेका तथा ठूलो परिमाणमा मासु सप्लाई गर्ने विजय फ्रेस हाउसमा मूल्य सूची नरहेको पाइएको छ ।

अनुगमनका क्रममा राजबिराज अति व्यस्त होटल यमी स्वीट्समा ब्रेड बनाउन मुछिएर राखिएको २ किलो जति मैदा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिए ।

यसको अलाबा यमी स्वीट्सको भान्सा एवम् तयारी मिठाई, ब्रेड भण्डार कक्षमा सरसफाइमा कमी, खाने कुरा बनाउने प्रशोधन कक्ष खुल्ला ठाउँमै राखिएको अवस्थामा रहेकाले त्यसलाई पूर्णरूपमा बन्द गरेर आगामी दिनमा सुरक्षित रुपमा खाने कुरा उत्पादन गर्न सञ्चालकलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?